मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

धादिङ बस दुर्घटनाः र्‍याफ्टिङबाट २४ जनाको ज्यान जोगाउने अरुण थपलिया सम्मानित

बुधबार, १३ फागुन २०८२, २० : २९
बुधबार, १३ फागुन २०८२

काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडामा भएको बस दुर्घटनाका घाइतेहरूको ज्यान जोगाउन साहसिक भूमिका खेल्ने स्थानीय युवा अरुण थपलिया सम्मानित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार एक विशेष कार्यक्रम आयोजना गरी थपलियाको योगदानको उच्च कदर गरेको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले उनलाई खादा ओढाएर सम्मान गर्दै विपद्का बेला नागरिकले देखाउने यस्तो तत्परता प्रशंसनीय रहेको बताए । बेनीघाट रोराङ–५ चरौंदीका स्थानीय बासिन्दा एवं र्‍याफ्टिङ व्यवसायी थपलियाले दुर्घटनाका बेला आफ्नो व्यक्तिगत र्‍याफ्ट प्रयोग गरेर उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरूलाई ठुलो सहयोग पुर्‍याएका थिए ।

फागुन ११ गते राति पोखराबाट काठमाडौंतर्फ आइरहेको यात्रुबाहक बस त्रिशूली नदी किनारको अप्ठ्यारो खोँचमा खसेको थियो । मध्यरातको समय र भौगोलिक विकटताका कारण उद्धारमा कठिनाइ भइरहेका बेला थपलियाले आफ्नो र्‍याफ्ट परिचालन गरी २४ जना घाइतेलाई सुरक्षित स्थानसम्म पुर्‍याउन मद्दत गरेका थिए ।

सोमबार बिहान करिब १ः३० बजे भएको उक्त दुर्घटनामा १९ जनाले ज्यान गुमाएका थिए । दुर्घटनालगत्तै घटनास्थल पुगेका थपलियाले सुरक्षा निकायसँग समन्वय गर्दै घाइतेहरूको खोजी र उद्धारमा रातभर सक्रियता देखाएका थिए । 

प्राधिकरणले विपद् व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता र थपलियाजस्ता साहसी युवाहरूको भूमिकाले धेरैको ज्यान जोगाउन सम्भव भएको उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप