बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चुनावी GROUND ZERO : रुपन्देही

चुनावमा छैन ‘मासुभात’को चहलपहल

बिहीबार, १४ फागुन २०८२, १४ : ००

सारांश

  • निर्वाचन नजिकिँदै गर्दा बुटवलका होटल व्यवसायीहरूमा निराशा छाएको छ किनकि व्यापार घटेको छ।
  • होटल व्यवसायीका अनुसार, विगतका चुनावमा हुने चहलपहल यसपटक देखिएको छैन, जसले गर्दा कारोबार ठप्पजस्तै छ।
  • दलहरूले अहिले घरदैलो अभियानलाई प्राथमिकता दिएकाले होटलमा खर्च कम भएको व्यवसायीको बुझाइ छ।
00:00 / NaN:NaN
Audio By AI

बुटवल । प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिँदै गर्दा होटल व्यवसायीमा निराशा छाएको छ । चुनावको समयमा होटलको व्यापार बढ्ने अपेक्षा गरेका उनीहरू कारोबार झन् कम भएको भन्दै निराशा प्रकट गर्छन् ।

सामान्यतया निर्वाचनको समयमा देशको अर्थतन्त्र चलायमान हुने गर्दछ । खासगरी होटल व्यवसायीहरू निर्वाचनका समयमा व्यापार बढ्ने अपेक्षा गर्दछन् । यद्यपि व्यापारका दृष्टिकोणबाट आसन्न निर्वाचनको रौनकले आफूहरूलाई नछोएको उनीहरूको तर्क छ ।

अघिल्ला निर्वाचनका क्रममा ‘मासुभात’ तथा चिया–खाजाका लागि ग्राहकले खचाखच हुने होटल अहिले सुनसान बनेको रुपन्देहीका होटल व्यवसायी बताउँछन् ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले विगतका निर्वाचनको तुलनामा अहिले व्यापारमा मन्दी देखिएको बताए ।

‘अघिल्ला निर्वाचनमा होटल भरिभराउजस्तै हुन्थे,’ उनले भने, ‘अहिले त चुनावको मुखमा कारोबार झन् घटेको छ ।’

अघिल्ला चुनावमा निर्वाचन प्रचारमा खटिने विभिन्न दलका नेता–कार्यकर्ताहरू खाना, खाजाका लागि होटलमा झुम्मिने गरेको बताउने उनले अहिले त्यस्तो चहलपहल नै नदेखिएको जिकिर गरे ।

चुनावमा मासुभात खुवाएर भोट किनेको भन्ने खालको भाष्य प्रचलनमा आइरहेका कारण पनि अहिले दल तथा उम्मेदवारहरूले होटलमा हुने खर्च नियन्त्रण गरेको हुन सक्ने थापाको आकलन छ । यद्यपि पेसागत रूपमा आफूहरूका लागि यो चिन्ताजनक अवस्था रहेको उनले बताए ।

बुटवलकै होटल व्यवसायी पिताम्बर रानाले पनि चुनावको समयमा होटलतिर हुने चहलपहल घटेको अनुभव सुनाए । ‘चुनाव प्रचारमा खटिएका कार्यकर्ताहरू मासुभात खानका लागि पहिला–पहिला आउने गर्दथे, चहलपहल पनि बढ्थ्यो,’ उनले भने, ‘अहिले त कारोबार ठप्पजस्तै छ ।’

विगतका निर्वाचनमा होटल व्यवसायीको कारोबार राम्रै हुने गरेको अनुभव सुनाएका उनले अहिले निराशाजनक अवस्था रहेको बताए ।

बुटवलकै अर्का होटल व्यवसायी कृष्ण घिमिरेले पनि होटलमा ग्राहक घटेको अनुभव सुनाए । ‘कारोबारका दृष्टिले भन्ने हो भने अहिले त हामीलाई चुनाव आएजस्तो लागेकै छैन,’ उनले भने ।

विगतका निर्वाचनमा होटल व्यवसाय चलायमान हुने गरेको घिमिरे बताउँछन् । यद्यपि अहिले व्यापार–व्यवसायमा झन् गिरावट देखिएको उनको भनाइ छ ।

सिद्धार्थनगर नगरपालिका–८ मा होटल व्यवसाय गर्दै आएकी लक्ष्मी केसी पनि होटलमा चहलपहल नभएको बताउँछिन् । ‘पहिला त चुनावको समयमा खाना तथा खाजाका लागि धेरै मान्छे आउने गर्दथे । हामीलाई भ्याई–नभ्याई हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले त चुनाव आएको जस्तो नै छैन ।’

सिद्धार्थनगर नगरपालिका–९ मा पान तथा खुद्रा पसल सञ्चालन गर्दै आएका पुण्यप्रसाद उपाध्याय पनि व्यापार–व्यवसायको हिसाबले अहिलेको चुनावमा कुनै चहलपहल नदेखिएको बताउँछन् । ‘चुनावमा व्यापार बढ्थ्यो तर अहिले त चुनावको मुखमा पनि व्यापार–व्यवसाय ठप्पजस्तै छ,’ उनले भने ।

collage (3)

त्यसो त नेपाली कांग्रेस, नेकपा एमाले लगायतका पुराना दलहरूले विगतका निर्वाचनमा र्‍याली, आमसभा आयोजना गर्ने गरेका कारण पनि चोक–चोकमा ठुलो जमघट हुने गरेको होटल व्यवसायीहरूको भनाइ छ । त्यसरी कार्यकर्तालाई एकठाउँमा भेला गर्दा स्वाभाविक रूपमा खाजा–खानाको व्यापार बढ्ने गरेको उनीहरू बताउँछन् ।

अहिले भने सबैजसो दलका उम्मेदवार सीमित कार्यकर्ताका साथ मतदाताको घर–घरमा पुगेर भोट मागिरहेका छन् । रुपन्देही–२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्मा र नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेल बुधबार बुटवल उपमहानगरपालिका क्षेत्रमा सीमित कार्यकर्ताका साथ चुनाव प्रचारमा देखिए । दुवै उम्मेदवार स्थानीय कार्यकर्ताका साथ पैदल मतदाताको घर–घरमा पुगेर मत मागिरहेका देखिन्थे ।

उता, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शुभाष पाण्डे पनि सैनामैना नगरपालिका अन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा पर्ने वडामा सीमित कार्यकर्ताका साथ चुनाव प्रचारमा खटिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलका साथमा पनि सीमित समर्थक थिए ।

चुनाव प्रचारको शैली फेरिएसँगै उम्मेदवारहरूलाई होटल खर्चबाट ठुलो राहत पुगेको आकलन गर्न सकिन्छ । यद्यपि, यसले होटल व्यवसायीलाई भने चिन्तित तुल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप
सुदर्शन आचार्य
सुदर्शन आचार्य

आचार्य रातोपाटीका वरिष्ठ उपसम्पादक हुन् ।

लेखकबाट थप