मैदानबाहिर पनि जम्दै रोनाल्डो : स्पेनिस क्लब अल्मेरियाको मालिक बने विश्वकै महँगा फुटबलर
सारांश
- क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब युडी अल्मेरियाको २५ प्रतिशत सेयर किनेर सह-मालिक बनेका छन्।
- रोनाल्डोले सीआर सेभेन स्पोर्ट्स इन्भेस्टमेन्टमार्फत लगानी गरेका हुन्, जसले अल्मेरियाको भविष्य उज्ज्वल देखेका छन्।
- अल्मेरिया हाल स्पेनिस सेगुन्डा डिभिजनमा तेस्रो स्थानमा छ र ला लिगामा बढुवाको लागि प्रयास गर्दैछ।
म्याड्रिड । विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले खेल जीवनको उत्तरार्द्धमा नयाँ र ठूलो व्यावसायिक फड्को मारेका छन्। ४१ वर्षीय रोनाल्डोले स्पेनको दोस्रो डिभिजनको क्लब युडी अल्मेरियाको २५ प्रतिशत सेयर खरिद गर्दै क्लबको सह-मालिक बनेका हुन्।
साउदी अरबको लगानी समूहको स्वामित्वमा रहेको यस क्लबमा रोनाल्डोले आफ्नो भर्खरै स्थापित सीआर सेभेन स्पोर्ट्स इन्भेस्टमेन्ट कम्पनीमार्फत लगानी गरेका हुन्। रोनाल्डो र साउदी लगानीकर्ता मोहम्मद अल-खेरेजीबीचको पुरानो सम्बन्धले यो सम्झौतालाई सम्भव तुल्याएको हो।
स्पेनिस फुटबललाई नजिकबाट बुझेका रोनाल्डोले अल्मेरियाको भविष्य उज्ज्वल रहेको बताएका छन्। उनले एक विज्ञप्ति जारी गर्दै मैदानबाहिर बसेर पनि फुटबलमा योगदान दिने आफ्नो पुरानो चाहना रहेको र अल्मेरियामा विकासको ठूलो सम्भावना देखेको उल्लेख गरेका छन्।
क्लबका अध्यक्ष अल-खेरेजीले पनि रोनाल्डोको आगमनले टोली र एकेडेमी दुवैलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्। हाल स्पेनिस सेगुन्डा डिभिजनको तेस्रो स्थानमा रहेको अल्मेरिया शीर्ष स्थानको रियल रेसिङभन्दा मात्र दुई अंकले पछि छ र आगामी सिजन ला लिगामा बढुवा हुने दाउमा छ।
सन् २०२२ देखि साउदी अरबको अल-नासरबाट खेलिरहेका रोनाल्डो वार्षिक १७७ मिलियन पाउण्ड तलबका साथ इतिहासकै महँगा खेलाडी हुन्। मैदानमा गोलको वर्षा गर्ने रोनाल्डो पछिल्लो समय सफल व्यवसायीका रूपमा समेत स्थापित हुँदै गएका छन्।
सन् २०१६ मा पोर्चुगलको मडेरामा होटेल व्यवसायबाट सुरु भएको उनको यात्रा अहिले अत्तर, घडी, जिम, स्वास्थ्य एप र कपाल प्रत्यारोपण क्लिनिकसम्म फैलिएको छ। सन् २०२५ को फोर्ब्स सूची अनुसार उनले खेल र व्यवसायबाट गरी वार्षिक करिब २१० मिलियन पाउण्ड आम्दानी गरिरहेका छन्।
पछिल्लो समय रोनाल्डोले युरोपका ठूला क्लबहरूको संरचनागत कमजोरी सुधार्नेबारे सार्वजनिक रूपमै बोलेका थिए। अहिले अल्मेरियामा गरेको लगानीलाई उनको त्यही योजनाको पहिलो खुड्किलोका रूपमा हेरिएको छ।
रियल मड्रिडबाट खेल्दा नौ वर्षसम्म स्पेनमा राज गरेका रोनाल्डोका लागि यो नयाँ भूमिका भावनात्मक रूपमा पनि अर्थपूर्ण छ। खेल जीवनबाट संन्यास लिएपछि हुनसक्ने खालीपनलाई उनले अहिलेदेखि नै बलियो व्यावसायिक साम्राज्य खडा गरेर व्यवस्थापन गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण