शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अडियो प्रकरणमा थपलियाले भने- यस्ता कुराको कल्पनासम्म पनि गर्न सक्दिनँ

शुक्रबार, १५ फागुन २०८२, १४ : १९
शुक्रबार, १५ फागुन २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले सार्वजनिक अडियो प्रकरणमा आफ्नो नाम जोडिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै आफूमाथिका सम्पूर्ण आरोपहरू तथ्यहीन र भ्रामक भएको जिकिर छन्।
'शेखरले कांग्रेस सभापति गगनलाई हराउन मान्छे परिचालन गरेको अडियो बाहिरियो' शीर्षकको समाचार प्रकाशित भएसँगै शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरेर थपलियाले सभापित गगन थापालाई निर्वाचनमा हराउन षड्यन्त्र गरेको भन्ने आरोपलाई पूर्णतः कपोलकल्पित भनेका छन्। 

विज्ञप्तिमा उनले भनेका छन्, 'म एक जिम्मेवार नेताको स्वकीय सचिवको रूपमा कार्यरत व्यक्तिले यस्ता कुराको कल्पनासम्म पनि गर्न सक्दिनँ। मेरो भूमिका सधैं संगठनको मूल्य, मान्यता, अनुशासन र नेतृत्वप्रतिको निष्ठामा आधारित छ।'

उनले समाचारमा उल्लेख गरिएका व्यक्तिहरू तथा उपेन्द्र कुशवाहा र अमरेश कुमार सिंहसँग आफ्नो कुनै प्रकारको भेट र संवाद नभएको जिकिर समेत छन्। 

आफ्नो प्रतिष्ठा र सत्यको रक्षाका लागि आफू कानुनी उपचार खोज्न बाध्य हुने चेतावनीसमेत थपलियाले दिएका छन्। आवश्यक परेमा प्रकाशित अडियोको स्वतन्त्र फोरेन्सिक परीक्षण गराउन आफू तयार रहेको समेत उनले उल्लेख गरेका छन् । 

प्रेस विज्ञप्ति
हालै रातोपाटी अनलाइनमा प्रकाशित समाचारमा मेरो नाम जोडेर गरिएको आरोप प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त समाचारमा मलाई डा. शेखर कोईराला ज्यूको स्वकीय सचिवको हैसियतमा विभिन्न राजनीतिक गतिविधिमा संलग्न भएको, विशेष गरी पार्टी सभापति श्री गगनकुमार थापा ज्युलाई निर्वाचनमा हराउन षड्यन्त्रमा भूमिका खेलेको भन्ने आरोप लगाइएको छ। यस सम्बन्धमा म स्पष्ट रूपमा भन्न चाहन्छु कि उक्त समाचारमा उल्लेख गरिएका सम्पूर्ण आरोपहरू पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित हुन्।
म एक जिम्मेवार नेताको स्वकीय सचिवको रूपमा कार्यरत व्यक्तिले यस्ता कुराको कल्पना सम्म पनि गर्न सक्दिन । मेरो भूमिका सधैं संगठनको मूल्य, मान्यता, अनुशासन र नेतृत्व प्रतिको निष्ठामा आधारित रहेको छ। आफ्नो नेता, संगठन र पार्टीको प्रतिष्ठामा आँच आउने कुनै पनि गतिविधिमा संलग्न हुनु त परको कुरा, त्यस्तो सोच समेत राख्नु मेरो नैतिकता, पेशागत धर्म र व्यक्तिगत चरित्र विपरीत छ।
समाचारमा उल्लेख गरिएको तथाकथित नाम गरेका व्यक्ति को हुन् भन्नेबारे मलाई कुनै जानकारी छैन। त्यस्तै उपेन्द्र कुशवाहाज्यू सँग कुनै संवाद भएको छैन। साथै, यसै समाचारमा नाम जोडिएको अमरेश सिंह ज्यूसँग पनि यस प्रकारको कुनै भेट, संवाद भएको छैन भन्ने कुरा म दृढतापूर्वक स्पष्ट गर्न चाहन्छु।
यस प्रकारका निराधार, अपुष्ट र भ्रामक समाचारले व्यक्तिगत प्रतिष्ठामा मात्र नभई समग्र संगठन, पार्टी र लोकतान्त्रिक अभ्यास माथि नै आघात पुर्‍याउने कार्य गर्दछ। राष्ट्र र लोकतन्त्र संवेदनशील चरणमा रहेको वर्तमान अवस्थामा यस्ता भ्रमपूर्ण प्रचारले जनविश्वास कमजोर बनाउने र संगठनलाई अनावश्यक रूपमा बदनाम गर्ने काम मात्र गर्दछ।
अत: यस विषयलाई लिएर म सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक परामर्श गरिरहेको छु। आवश्यक परेमा प्रकाशित अडियोको स्वतन्त्र फोरेन्सिक परीक्षण गराउने, साथै आफ्नो व्यक्तिगत प्रतिष्ठा र सत्यको रक्षा गर्न कानुनी उपचार खोज्न पनि म बाध्य हुने जानकारी गराउन चाहन्छु।
अन्त्यमा, सम्पूर्ण पार्टीका सबै तहका नेताहरु, शुभेच्छुक तथा आम जनसमुदायलाई यस्ता अपुष्ट र भ्रमपूर्ण समाचारप्रति सचेत रहन, सत्य र तथ्यमा आधारित सूचनामात्र विश्वास गर्न तथा अफवाहबाट प्रभावित नहुन हार्दिक अनुरोध गर्दछु। सत्य सधैं स्पष्ट हुन्छ, र सत्यको पक्षमा उभिनु नै हाम्रो साझा दायित्व हो।
दिनेशचन्द्र थपलिया
स्वकीय सचिव
डा. शेखर कोइरालाको सचिवालय
फागुन १५ २०८२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप