वीरगञ्जमा सुरक्षा निकायसँग गृहमन्त्रीकाे आकस्मिक बैठक
सारांश
- आसन्न निर्वाचनलाई मध्यनजर गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले वीरगञ्जमा सुरक्षा निकायसँग आकस्मिक बैठक गरे।
- बैठकमा मधेस र छिमेकी जिल्लाहरूमा निर्वाचन सुरक्षा, चुनौती र समाधानबारे छलफल भयो।
- सुरक्षा चुनौतीहरूमा राजनीतिक प्रतिस्पर्धा, खुला सीमा र आपराधिक गतिविधिहरू समावेश छन्।
वीरगञ्ज । आसन्न प्रतिनिधिसभाको चुनाव नजिकिँदै जाँदा मधेसमा सुरक्षा सतर्कता चुस्त बनाइएको छ । शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले वीरगञ्जमा सुरक्षा निकायसँग आकस्मिक बैठक बसेका छन् ।
बारा, पर्सा र रौतहट जिल्लाको सुरक्षा अवस्थाबारे अनुगमन गरेका गृहमन्त्री अर्यालले आज साँझ जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा चार वटै सुरक्षा निकायसँग बैठक बसेका हुन् ।
निर्वाचन सुरक्षाको वर्तमान अवस्था, चुनौती र समाधान विषयक छलफलमा मधेससँगै बारा र पर्सामा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीबारे गृहमन्त्री अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएको बैठकमा सहभागी एक पदाधिकारीले बताए ।
बैठकमा बारा र पर्साका सुरक्षा निकायका प्रमुखले जिल्लागत रूपमा रहेको सुरक्षा चुनौतीबारे गृहमन्त्री अर्याललाई जानकारी गराएका थिए ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार मधेसमा राजनीतिक दलहरूबिच अस्वस्थ प्रतिस्पर्धा, असहिष्णुता, प्रचारप्रसार सामग्री च्यात्ने, डर धम्की त्रास दिने, पार्टी छोड्ने र प्रवेश गर्ने तथा धार्मिक द्वन्द्व मुख्य चुनौतीको रूपमा देखा परेको औँल्याएका थिए ।
यसैगरी खुला सीमा, आपराधिक समूहको चलखेल, अवैध हतियारको सम्भावित प्रयोग तथा चुनावी प्रतिस्पर्धालाई लिएर बढ्न सक्ने तनावलाई पनि सुरक्षा चुनौतीको बुँदामा राखिएको स्रोतले जानकारी दिएको छ ।
सुरक्षा फौजको निर्वाचन सुरक्षाका चुनौतीबारे गरिएको ब्रिफिङपछि गृहमन्त्री अर्यालले चुनावलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउनका लागि कुनै पनि कसर बाँकी नराख्न सुरक्षा निकायलाई निर्देशन दिएको जनाइएको छ ।
निर्वाचनमा सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा व्यवस्था मिलाउन सुरक्षा फौजलाई गृहमन्त्री अर्यालले कडा निर्देशन दिएको बताइएको छ ।
बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री अर्यालले यो पटकको निर्वाचन सुरक्षासँग सम्बन्धित विषयवस्तुहरूमा छलफलका लागि वीरगन्जमा बैठक हाइ कमान्डको बैठक डाकिएको बताए । त्यसैको लागि केन्द्रीय सुरक्षा समितिको पदाधिकारीहरूको टोली विभिन्न जिल्लाहरूको अनुगमन गर्दै यहाँ आइपुगेको उनको भनाइ छ ।
उनका अनुसार बारा र पर्सामा देखिएका सुरक्षा चुनौतीबारे हामी सबै जानकार छौँ, तर अहिले खुलाउन मिल्दैन । यद्यपि, निर्वाचनका बखत कानुन उल्लङ्घन गर्ने जोसुकैलाई कानुनको दायरामा ल्याएर कडा कारबाही गर्न निर्देशन दिइएको उनको प्रष्टोक्ति छ । उनका अनुसार राजनीतिक सुशासन दिने गरी अहिले काम भइरहेको छ ।
हेलिकप्टरमार्फत वीरगन्ज आइपुगेका गृहमन्त्रीसँगै निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारी, सशस्त्र प्रहरीका आइजिपी राजु अर्यालसहित मधेसका नेपाल प्रहरीका डिआइजी गोविन्द थपलिया, सशस्त्र प्रहरीका डिआइजी कृष्ण ढकाल, बाराका सिडिओ धर्मेन्द मिश्र, पर्साका सिडिओ भोला दाहालसहित पर्साका एसपी नरेश सुवेदी र बाराका एसपी नरेन्द्र कुँवरसमेतको सहभागिता रहेको थियो ।
निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन मधेसका सुरक्षा फौज पूर्णरुपमा सक्षम रहेको अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण