शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विश्व समुदायलाई अधिकतम संयमता अपनाउन रवि लामिछानेको आग्रह

शनिबार, १६ फागुन २०८२, २१ : १४
शनिबार, १६ फागुन २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका पछिल्ला घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले अन्तर्राष्ट्रिय सम्बन्ध र भू-राजनीतिक सन्तुलनका दृष्टिले परिस्थितिलाई अत्यन्तै संवेदनशील भन्दै विश्व समुदायलाई अधिकतम संयमता अपनाउन र नेपाली नागरिकको सुरक्षाका लागि सरकारलाई विशेष तयारीमा रहन आग्रह गरेका हुन् । 

सभापति लामिछानेले मध्यपूर्वमा विकसित भइरहेका पछिल्ला घटनाक्रमले विश्व समुदायलाई गम्भीर चिन्तामा पारेको उल्लेख गरेका छन् । उनले अन्तर्राष्ट्रिय सम्बन्ध र भू–राजनीतिक सन्तुलनका दृष्टिले यो परिस्थिति अत्यन्तै संवेदनशील रहेको ठहर गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन र समस्याको समाधान संवाद एवं कूटनीतिक माध्यमबाट खोज्न अपिल गरेका छन् । 

उनका अनुसार त्यस क्षेत्रमा विकसित घटनाक्रमले विशेषगरी यूएई, कतार, बहराइनलगायत खाडी मुलुकहरूमा सुरक्षा अवस्था थप संवेदनशील बन्ने जोखिम देखिएको छ । ती देशहरूमा लाखौं नेपाली कार्यरत रहेकाले उनीहरूको जीवन, रोजगारी र सुरक्षालाई लिएर गम्भीर चासो उत्पन्न भएको उनको भनाइ छ । 

लामिछानेले सरकारसँग सम्बन्धित देशस्थित नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा राख्न आग्रह गरेका छन् । साथै आवश्यक परे तत्काल उद्धार तथा सुरक्षित आवागमनको तयारी गर्न, आपतकालीन सम्पर्क संयन्त्र प्रभावकारी बनाउन र नेपालीको अवस्थाबारे नियमित तथ्यगत जानकारी सार्वजनिक गर्नसमेत उनले जोड दिएका छन् । 

नेपाली नागरिकको सुरक्षा सर्वोपरि दायित्व भएकाले कूटनीतिक पहल, समन्वय र पूर्वतयारीमार्फत कुनै पनि आकस्मिक अवस्थासँग जुध्न सरकार पूर्ण रूपमा तयार रहोस् भन्नेमा उनले ध्यानाकर्षण गराएका छन् । इन्धनको आपूर्ति प्रणालीमा आउन सक्ने अवरोधले जनजीवन र अर्थतन्त्रमा पार्ने प्रभावबारे समेत बेलैमा सचेत रहन पनि उनले सरकारलाई आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप