राजनीतिक दलद्वारा मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह
सारांश
- राजनीतिक दलहरूले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाको लागि सरकारसँग आग्रह गरे।
- कांग्रेस, एमाले, नेकपा, र रास्वपाले मध्यपूर्वको तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गरे।
- विभिन्न नेताहरूले नेपाली नागरिकको सुरक्षा र हितलाई प्राथमिकता दिन आग्रह गरे।
काठमाडौँ । विभिन्न राजनीतिक दल र दलका नेताहरूले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत राजनीतिक दलले मध्यपूर्वमा उत्पन्न भएको तनावपूर्ण स्थितिप्रति चिन्ता व्यक्त गर्दै नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका हुन् ।
कांग्रेस सभापति गगन थापाले सामाजिक सञ्जालमा भनेका छन्, “मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिले हामीलाई चिन्तित बनाएको छ । रोजगारीलगायत सिलसिलामा विभिन्न देशमा रहनुभएका सम्पूर्ण हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुरक्षा संवेदनशील बनेको छ । यो परिस्थितिबारे सुसूचित रही सुरक्षा सतर्कता अपनाउनुहुन सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा अनुरोध गर्दछु । सुरक्षा नियमहरूको पूर्ण पालना गर्नुहोला र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमा रहनुहोला ।”
उनले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासलाई त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिई, उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न पनि आग्रह गरेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका छन् । उनले भने, “युएई, इजरायल, इरानलगायत मध्यपूर्वी देशहरूमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु ।”
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण र त्यसपछिको घटनाक्रमबाट नेपालीलाई हुनसक्ने सम्भावित जोखिमबाट सुरक्षित राख्न उच्च पहलकदमी लिन सरकारसँग अनुरोध गरेका छन् । उनले त्यस परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस स्थितिमा मध्यपूर्वमा कार्यरत लाखौँ नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता भएको उल्लेख गरे ।
रास्वपाका सभापति रवि लामिछानेले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमका बिच खाडी मुलुकमा कार्यरत नेपाली नागरिकको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले संयुक्त अरब इमिरेट्स, कतार र बहराइनलगायत खाडी मुलुकहरूमा सुरक्षा अवस्था जटिल बन्ने जोखिम औँल्याउँदै त्यहाँ कार्यरत लाखौँ नेपालीको जीवन, रोजगारी र सुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सम्बन्धित देशमा नेपालीको अवस्थाबारे नियमित र तथ्यगत जानकारी सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन् ।
साथै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, निवर्तमान सभामुख देवराज घिमिरेलगायतले पनि उक्त घटनाबारे चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपालीलाई पर्न सक्ने जोखिमप्रति सचेत रहन र सुरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेका छन् । अमेरिका र इजरायले इरानमाथि सैन्य आक्रमण गरेका छन् । त्यसको जवाफमा इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण