सडक पहुँचसँगै लसुन खेतीमा आकर्षित
सारांश
- टेम्केमैयुङ गाउँपालिकाका किसान व्यावसायिक लसुनखेतीमा आकर्षित भएका छन्।
- सडक सञ्जाल विस्तारले बजार पहुँच बढाएपछि किसानले व्यावसायिक खेतीलाई जोड दिएका छन्।
- लसुनखेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसान आत्मनिर्भरतातर्फ उन्मुख भएका छन्।
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान यति बेला व्यावसायिक लसुन खेतीतर्फ आकर्षित हुँदै गएका छन् । विगतमा घरायसी प्रयोजनका लागि मात्र सीमित रहेको लसुन खेती अहिले आम्दानीको स्रोतका रूपमा विकास हुँदै गएको हो ।
ग्रामीण सडक सञ्जाल विस्तार भएसँगै उत्पादन गरिएको लसुन सहज रूपमा बजारसम्म पुग्न थालेपछि किसानले व्यावसायिक खेतीलाई प्राथमिकता दिन थालेका हुन् । मझौलेकी किसान विजया लुइँटेलले हाल करिब दुई रोपनी क्षेत्रफलमा लसुन खेती गरिरहेकी छिन् । सडक पहुँच सहज भएसँगै व्यापारी गाउँमै पुगेर लसुन सङ्कलन गर्न थालेपछि बजारको चिन्ता हटेको उनको भनाइ छ ।
“पहिले उत्पादन बिक्री गर्न बजारसम्म लैजान कठिन हुन्थ्यो, अहिले सडक पुगेपछि व्यापारी घरमै आउँछन्, मूल्य पनि राम्रो पाइन्छ”, लुइँटेलले भनिन् । उनका अनुसार गत वर्ष लसुन प्रति किलो रु २०० सम्ममा घरबाटै बिक्री भएको थियो । उत्पादन लागत तुलनात्मक रूपमा कम र बजार मूल्य आकर्षक भएकाले राम्रो आम्दानी लिन सकिएको थियो ।
“गाउँमा धेरै किसान व्यावसायिक रूपमा लसुन खेतीमा जुटेका छन्”, उनले भनिन्, “मैले पनि बिस्तारै क्षेत्रफल बढाउँदै लगेकी छु ।”
स्थानीय किसानका अनुसार मझौलेको माटो र हावापानी लसुन खेतीका लागि उपयुक्त छ । राम्रो उत्पादन हुने र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले पनि लसुन खेती सुरक्षित बालीका रूपमा स्थापित हुँदै गएको छ । पछिल्लो समय छिमेकी बजार तथा जिल्ला बाहिरबाट पनि माग आउन थालेको किसानको भनाइ छ ।
मनग्य आम्दानी लिन सकिने भएकाले साना किसानका लागि पनि लसुन खेती लाभदायक बन्दै गएको छ । परम्परागत अन्नबालीको तुलनामा नगदे बालीतर्फ आकर्षण बढ्दै जाँदा गाउँको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको देखिन्छ । स्थानीय तहले कृषि क्षेत्रको आधुनिकीकरण, सिँचाइ व्यवस्थापन तथा प्राविधिक सहयोगलाई प्राथमिकता दिँदै आएको जनाएको छ । सडक पूर्वाधार विस्तार र बजार पहुँच सुनिश्चितताले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाएको जनाइएको छ ।
यसरी पूर्वाधार विकाससँगै कृषिमा व्यावसायिक सोच विस्तार हुँदै जाँदा मझौलेका किसान आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् । लसुनखेतीबाट प्राप्त आम्दानीले घरपरिवारको दैनिकी सुधार्नुका साथै ग्रामीण क्षेत्रमा बसाइँसराइ रोक्न पनि सहयोग पुग्ने उनीहरूको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण