मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु

मङ्गलबार, ३० असार २०८३, २२ : ३९
मङ्गलबार, ३० असार २०८३

काठमाडाैँ । उत्तरी गाजास्थित एक सुरक्षा चौकीमा भएको इजरायली हवाई आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु भएको स्थानीय स्रोत र प्रत्यक्षदर्शीले बताएका छन्। मृतकमध्ये हमासद्वारा सञ्चालित आन्तरिक मामिला निकायसँग आबद्ध प्रहरी अधिकारीहरू रहेको जनाइएको छ।

प्रत्यक्षदर्शीका अनुसार, जबालिया शरणार्थी शिविरको पश्चिममा पर्ने अल–फालुजा क्षेत्रमा रहेको सुरक्षा चौकीमा इजरायली ड्रोनले तीनवटा क्षेप्यास्त्र प्रहार गरेको थियो । आक्रमणबाट चौकीमा ठुलो क्षति पुगेको र आसपासका क्षेत्रमा पनि असर परेको बताइएको छ।

उक्त सुरक्षा चौकी बाक्लो भीडभाड हुने बजार क्षेत्र र विस्थापितले आश्रय लिइरहेका पाल नजिकै रहेको जनाइएको छ। चिकित्सा स्रोतले आक्रमणमा एक महिलासहित कम्तीमा सात जनाको मृत्यु भएको र अन्य केही घाइते भएको पुष्टि गरेका छन् 

हमासद्वारा सञ्चालित आन्तरिक मामिला निकायले जारी गरेको विज्ञप्तिमा मृतकमध्ये जबालिया शिविर प्रहरी चौकीका प्रमुख मोहम्मद मारवान सालेम पनि रहेको उल्लेख गर्दै आक्रमणको निन्दा गरेको छ । निकायले घटनालाई ‘नरसंहार’ को सङ्ज्ञा दिएको छ।

आक्रमणबारे इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। गाजाका स्वास्थ्य अधिकारीले मङ्गलबार पछिल्लो २४ घण्टामा अस्पतालमा दुई शव र २१ जना घाइते ल्याइएको बताएका छन् । उनीहरूका अनुसार अक्टोबर २०२५ मा युद्धविराम लागू भएयता गाजामा मृत्यु हुनेको सङ्ख्या एक हजार ११० पुगेको छ भने तीन हजार ५९९ जना घाइते भएका छन्।

स्वास्थ्य अधिकारीले सन् २०२३ अक्टोबर ७ देखि हालसम्म गाजामा मृत्यु हुनेको कुल सङ्ख्या ७३ हजार २३३ र घाइते हुनेको सङ्ख्या एक लाख ७३ हजार ७०७ पुगेको दाबी गरेका छन्। यसैबिच, प्यालेस्टाइनका अर्थ तथा योजनामन्त्री एस्टेफान एन्टोन सालामेहले गाजामा राहत तथा पुनःस्थापना कार्यका लागि अन्तरराष्ट्रिय सहयोगको प्रतिबद्धता एक अर्ब अमेरिकी डलर पुगेको बताए।

सरकारी ‘भ्वाइस अफ प्यालेस्टाइन’ रेडियोसँग कुरा गर्दै सालामेहले उक्त सहयोग रकम निकट भविष्यमा गाजाका बासिन्दाको राहत तथा पुनःस्थापनाकार्यमा प्रयोग गरिने जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप