तपाईंहरुलाई छटपटी हुँदा म निदाउन सकिनँ : ओली
सारांश
- केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुवाँ प्रवेश नगरोस् भनेर चिन्ता व्यक्त गरे।
- मध्यपूर्वमा रहेका नेपालीको अवस्था र तिनका परिवारको चिन्ता व्यक्त गर्दै ओलीले फेसबुकमा लेखे।
- ओलीले युद्ध र भूराजनीतिक चपेटालाई खतरनाक भन्दै सजगता र धैर्यता अपनाउन आह्वान गरे।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुवाँ प्रवेश नगरोस् भन्ने कामना गरेका छन् । मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू निदाउन पनि नसकेको ओलीको भनाइ छ ।
मध्यपूर्वमा भएका लाखौँ नेपालीहरू आपत् र कोलाहलमा भएकोले उनीहरूका परिवार पलपल छटपटाएर बस्नु परेको प्रति चिन्ता प्रकट गर्दै ओलीले मध्यपूर्वी देशहरूमाथिको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृश्यले आफूलाई निद्रा नपरेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेखेका छन् ,‘ती देशमा लाखौँ नेपाली आपत् र कोलाहलमा छन् । तिनका परिवारले यहाँ पलपल छटपटाएर बस्नुपरेको छ ।’ अवसर छनौटका लागि खुला विश्वमा आज संसारका नागरिक संसारैभरि आउनु जानु स्वाभाविक भएको पनि ओलीले जनाएका छन् ।
‘अस्वाभाविक र खतरनाक कुरा त युद्ध र भूराजनीतिक चपेटा हो । ती देशहरू पनि पक्कै युद्ध चाहँदैन थिए । तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने’, ओलीले नेपालमा अहिलेसम्म सौभाग्यवश मिसाइलको धुवाँ भोग्नु नपरेको उल्लेख गरेका छन् ।
अध्यक्ष ओलीले प्रार्थना गर्दै भनेका छन् ‘कुनै पनि आवरणमा त्यो आउन नसकोस् । आज तपाईंहरुलाई छटपटी भइरहँदा म निदाउन सकिन । बेचैन छु ।’ अध्यक्ष ओलीले सबैलाई सजगता र धैर्यता लिन आह्वान गर्दै यसबेला सजगता, धैर्य, विवेक, र साहस लिनुपर्ने बताएका छन् ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण