‘यो क्षेत्र फलानोको गढ हो भन्ने हिजोको मान्यता पूर्ण रूपमा ध्वस्त हुँदैछ’
सारांश
- रातोपाटीको टोलीले निर्वाचन केन्द्रित राजनीतिक विश्लेषक कृष्ण पोखरेलसँग कुराकानी गरेको छ।
- पोखरेलले निर्वाचनमा दलहरूको वाचा र मतदाताको परिवर्तनबारे चर्चा गरेका छन्।
- उनले बालेन शाहको झापाको चुनाव र हर्क साम्पाङको प्रभावबारे पनि आफ्नो विचार राखेका छन्।
निर्वाचन विशेष ‘ग्राउन्ड जिरो’ शृङ्खला अन्तर्गत रातोपाटीको टोली विराटनगर पुगेको थियो। टोलीले निर्वाचनकै विषयमा केन्द्रित रहेर विभिन्न व्यक्तित्वहरूसँग छलफल र संवाद गरेको थियो।
यसै क्रममा हामीसँग सुपरिचित राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण पोखरेल हुनुहुन्छ। प्रस्तुत छ, पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश :
- यो आकस्मिक रूपमा आइलागेको निर्वाचन भन्ने कतिपयको भनाइ छ। यसअघिको र अहिलेको निर्वाचनमा एजेन्डाको हिसाबमा केही फरक पाउनुभएको छ?
जेठको जेनजी विद्रोह ले हाम्रो राज्य संयन्त्र कति निरीह रहेछ भन्ने कुरा देखायो। दुई दिनमै राज्य संयन्त्र कोल्याप्स भएको अवस्थासम्म पुग्यो। तर, राष्ट्रपतिले बडो जुक्तिसाथ यसलाई फेरि ट्रयाकमा ल्याउनुभयो। यो आम निर्वाचन नै मुलुकलाई ट्रयाकमा ल्याउने महत्त्वपूर्ण माध्यम बन्यो। त्यसैले यसलाई मैले अनपेक्षित रूपमा आएको आम निर्वाचन नै भन्छु।
साँच्चै भन्ने हो भने, यो निर्वाचनका लागि न राजनीतिक दलहरू तयार थिए, न आमजनता। सुरु-सुरुमा कसैले राम्रोसँग ग्रहण नगर्लान् कि भन्ने लागेको थियो, तर अहिले मुलुक पूर्ण रूपमा निर्वाचनमय भएको छ। निर्वाचनमा भाग लिन्नँ भन्ने दल पनि अहिलेकै समयमा निर्वाचन हुनुपर्छ भन्ने ठाउँमा आइपुग्यो। यसलाई मैले सकारात्मक परिदृश्यका रूपमा लिएको छु।
जहाँसम्म विगत र अहिलेको निर्वाचनमा फरक छ, हामीकहाँ दलहरूले निकाल्ने वाचापत्र वा घोषणापत्र ‘श्राद्धमा बिरालो बाँधेजस्तो’ एउटा कर्मकाण्ड मात्र थियो। विगतका अनुभव हेर्दा न जित्ने दल वा सरकार बनाउनेले यसलाई गम्भीरतापूर्वक लिएका छन्, न मतदाताले नै यसको खोजीनीति गरेका थिए।
तर, यसपटकको निर्वाचनले त्यो स्थिति तोड्छ जस्तो मलाई लाग्छ। दलहरूले अलि व्यावहारिक कार्यक्रम घोषणापत्रमा राख्न खोजेका छन्। विकसित लोकतान्त्रिक मुलुकमा यसलाई चुनावी वाचा भनिन्छ। सरकारमा जाने दलले वाचा कसरी पूरा गरेँ, कुन गर्दैछु र कुन कारणले सकिनँ भनेर मतदातासामु रिपोर्ट कार्ड नै पेस गर्नुपर्छ। त्यसो गर्न चुकेमा अर्को निर्वाचनमा पराजित हुनुपर्छ।
विगतका निर्वाचनमा फलानो क्षेत्र, फलानो प्रदेश वा फलानो जाति/वर्ग यो पार्टीको गढ हो भन्ने मान्यता थियो। तर, यसपटकको निर्वाचनमा त्यो मान्यता पूर्ण रूपमा ध्वस्त भएको छ। अब कुनै निर्वाचन क्षेत्र वा समुदाय विशेष फलानो दलको गढ हो वा उनीहरूकै पोल्टामा भोट जान्छ भन्ने भाष्य भत्किएको छ। अहिले मतदाताहरू तरल अवस्थामा छन्। उनीहरू जता पनि जान सक्छन्। रोल्पा र रुकुमको अवस्था के छ, म भन्न सक्दिनँ, तर अन्य सबै ठाउँमा मतदाता तरल छन्। त्यसैले मतदातालाई चित्त बुझाएर वा विश्वस्त पारेर मात्रै मत तान्न सक्ने अवस्था छ। यो क्षेत्र त हाम्रै हो, भोट कतै जाँदैन भन्ने अवस्था म कतै देख्दिनँ।
- यसपटकको निर्वाचनमा मतदाताहरूले उम्मेदवारहरूसँग अलि बढी प्रश्न गर्न थालेका हुन् भन्ने सुनिन्छ। तपाईंलाई त्यस्तो लाग्छ?
हो, त्यो स्पष्ट देखिएको छ। विगतका अनुभव, सामाजिक सञ्जालको पहुँच र विदेश गएका युवाले आफ्ना अभिभावकलाई सचेत गराएका कारण यस्तो भएको हुन सक्छ। अहिले हिजोको तुलनामा मतदाताले उम्मेदवारको आँखामा आँखा जुधाएर प्रश्न गर्न थालेका छन्।
- तपाईं यही प्रदेशको विश्लेषक हुनुभएको नाताले सोध्न चाहन्छु, अलि अनपेक्षित ढंगले बालेनजी झापा-५ मा चुनाव लड्न आउनुभयो। धनुषा, महोत्तरी वा काठमाडौं जस्ता सुविधायुक्त क्षेत्र छोडेर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँगै भिड्न उहाँ किन जोखिम मोलेर आउनुभयो होला? कतै उहाँलाई नजित्ने ठाउँमा त ल्याइएन?
यस विषयमा मेरो मान्यता अलि फरक छ। भदाै २३–२४ गते नेपालमा जुन विस्फोट भयो, त्यसको सम्पूर्ण दोष तत्कालीन प्रधानमन्त्रीमाथि जान्छ। बालेन शाह त्यतिबेलै प्रधानमन्त्री अफर गरिएका व्यक्ति हुन्। उनले त्यो स्वीकार नगरी सीधै झापा गएर चुनाव लड्नुको अर्थ हो, हिजोको आन्दोलनलाई दमन गर्ने प्रमुख राजनीतिक नेतृत्वसँगै भिडेर मात्र युवाहरूको रगत र भावनाप्रति न्याय गर्न सक्छु भन्ने उनलाई लाग्यो होला।
धेरैले रवि लामिछानेले बालेनलाई त्यहाँ लगेर हार्ने ठाउँमा फसाए भन्ने गर्छन्। तर, मेरो जानकारी अनुसार पार्टी एकीकरण हुनुभन्दा अगाडिदेखि नै बालेनको त्यहाँबाट चुनाव लड्ने योजना थियो। काठमाडौँमा चुनाव लड्दा जसरी उनले सुक्ष्म अध्ययन गरेका थिए, झापामा पनि आफ्नो टिमबाट त्यहाँको सकारात्मक/नकारात्मक पक्ष र जित्ने आधारबारे पहिले नै अनुसन्धान गराइसकेका थिए। टक्कर नै लिने हो भने बाघसँगै लिऔँ भन्ने उनको सोच हुन सक्छ। यसले एउटा राष्ट्रिय तरङ्ग उत्पन्न गराउँछ र ठूला नेतालाई उनकै थलोमा हराउन सके मुलुकको राजनीतिमै नयाँ उभार ल्याउन सकिन्छ भन्ने सोचेरै उनी त्यहाँ गएको हुनुपर्छ।
- विपक्षीलाई पराजित गर्न आफू पनि सुरक्षित हुनुपर्ने होइन र? उनी त आफूलाई नै असुरक्षित राखेर आए भन्ने कुरा छ नि!
बाहिर बसेर हेर्दा हामीलाई त्यस्तो लाग्न सक्छ। तर, जसले त्यहाँ गएर लड्ने निर्णय गर्यो, उसले राम्रोसँग सोचविचार गरेरै गरेको हुनुपर्छ। अहिलेको घटनाक्रम हेर्नुस् त, पूर्वप्रधानमन्त्री केपी ओली आफ्नै निर्वाचन क्षेत्रमा कति प्रतिरक्षात्मक अवस्थामा पुग्नुभएको छ! हिजोका दिनमा ओलीजीले आफ्ना कार्यकर्तालाई भोट माग्न लगाएर आफू चुनाव चिह्नका रूपमा मात्र देखा पर्ने गर्नुहुन्थ्यो। तर, अहिले उहाँ आफ्नै क्षेत्रमा केन्द्रित भएर बस्नुपरेको छ। यसबाट बालेनले गरेको निर्णय गलत हो जस्तो मलाई लाग्दैन। यद्यपि, निर्वाचन हो, मतदाताले के निर्णय गर्छन् भनेर अहिले नै ठोकुवा गर्न भने मिल्दैन।
- त्यसो भए बालेन जित्ने हिसाबले नै त्यहाँ आएका हुन् भन्ने तपाईंको बुझाइ हो?
हो, उनी त्यहाँ राम्रोसँग अध्ययन गरेर, म जित्न सक्छु भन्ने कुरामा विश्वस्त भएरै चुनाव लड्न आएका हुन्। सुरुमा मलाई लागेको थियो, बालेन सबैभन्दा कठिन ठाउँमा चुनाव लड्न गएपछि त्यहीँ मात्र व्यस्त हुन्छन् र देशका अन्य भागमा पार्टीको प्रचारमा समय दिन सक्दैनन्। तर, अहिले हेर्दा देशभरिका निर्वाचन क्षेत्रमा सबैभन्दा बढी समय दिन सक्ने उम्मेदवार नै बालेन देखिएका छन्। अरू कुनै नेता त्यसरी देशव्यापी रूपमा प्रचारप्रसार गर्दै हिँडेको देखिएको छैन।
- जेनजी आन्दोलनलाई कतिपयले तीन भागमा बाँडेका छन्, पहिलो भागमा सरकार हट्यो, दोस्रो भागमा कांग्रेसभित्र परिवर्तन आयो र तेस्रो भाग निर्वाचन । सायद बालेनजीले यो तेस्रो भाग पूरा गर्दै हुनुहुन्छ होला। यसमा अर्को फ्याक्टर छ हर्क साम्पाङ, कोशी प्रदेशमा उहाँको प्रभाव कस्तो छ?
मैले हर्क साम्पाङलाई कसरी हेरेको छु भने, उनी नेपालको एउटा अर्गानिक राजनीतिक व्यक्तित्व हुन्। उनको बोल्ने शैली र प्रस्तुति हेर्दा, कतिपय कुरा अरूलाई पटक्कै मन नपर्ने छुचो हुन्छ भने कतिपय कुरा आफ्ना मतदातालाई एकदमै प्रिय लाग्ने खालको हुन्छ।
यसपटकको निर्वाचनमा एउटा महत्त्वपूर्ण फ्याक्टर छ, देश बाहिर रहेका युवाहरूको देशभित्रको निर्वाचनमा प्रभाव। यो फ्याक्टर हर्क साम्पाङको हकमा पनि लागु हुन्छ। हिजो काठमाडौं महानगरको निर्वाचनमा बालेनले यसको सबैभन्दा बढी उपयोग गरे। कोर एरिया भनिने नेवार समुदायको बाहुल्य भएको ठाउँमा बालेनले जित्नुमा देशभित्रका मात्र नभई विदेशमा रहेका युवाहरूको पनि ठुलो प्रभाव थियो।
यसपटक नेपालीहरूको मतदान आचरणमा देशबाहिरका युवाको प्रभाव स्पष्ट देखिनेवाला छ। यसको सबैभन्दा ठुलो हिस्सा रास्वपाले लिने म देख्छु। त्यसैगरी केही अंश कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र श्रम संस्कृति पार्टीले पनि लिने सम्भावना छ।
पूर्वी पहाडमा चुनावी माहोल बनाउन हर्क साम्पाङको ठुलो योगदान छ। चुनावअघि नै आक्रामक प्रचारमा उनी निस्किएका थिए। अहिले हेर्दा उनी उठेको निर्वाचन क्षेत्रमै उनलाई अलि बढी चुनौती देखिन्छ, तर पूर्वी पहाडका अन्य क्षेत्रमा उनको पार्टीले राम्रै प्रभाव पार्ने देखिन्छ।
झापाको सन्दर्भमा कुरा गर्दा, हिजो त्यहाँको जनजातिको मत तान्न केपी ओलीले राप्रपासँग तालमेल गर्नुहुन्थ्यो। यसपटक राप्रपाको आफ्नै उम्मेदवार छ। हिजो ओलीलाई जाने त्यो मत यदि हर्क साम्पाङको पार्टीले लग्यो भने त्यसको सबैभन्दा ठुलो नोक्सान बालेनलाई भन्दा पनि केपी ओलीलाई हुने देख्छु।
- तपाईंको भनाइको अर्थ हर्क साम्पाङ, कुलमान घिसिङ र बालेनजीको प्रवेशले परम्परागत राजनीतिक गढहरू भत्किँदैछन्? कोशी प्रदेशको चुनावी नतिजामा उलटफेर हुन्छ?
निश्चित रूपमा भत्किन्छन्। मैले अघि पनि भनेँ, यसपटक यो क्षेत्र फलानोको गढ हो भन्ने हिजोको मान्यता पूर्ण रूपमा ध्वस्त हुँदैछ। नतिजामा ठुलो उलटफेर हुन्छ।
- त्यसो भए यसले सबैभन्दा कमजोर कसलाई बनाउँछ त?
यसले हिजो जो सबैभन्दा बलियो थियो, उसैलाई सबैभन्दा बढी कमजोर बनाउँछ। म त्यही अवस्था देखिरहेको छु।
- अर्कोतर्फ कांग्रेसभित्र नेतृत्व परिवर्तन भयो, गगनजीहरू आउनुभयो। मधेसको सन्दर्भमा एउटा रोचक विषय के छ भने, मधेसी समुदायबाटै बालेन शाह भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारिएका छन् तर उनी मधेसबाट चुनाव लडेका छैनन्। यसले त्यहाँ केही अन्योल पनि छ। तर, कांग्रेस सभापति गगन थापा भने भावी प्रधानमन्त्रीकै रूपमा मधेस झरेर प्रतिस्पर्धा गर्दैछन्। यसलाई कसरी हेर्नुहुन्छ?
यसका दुईवटा पक्ष छन्। पहिलो कुरा, मैले यसपटकको निर्वाचनमा अचम्मको दृश्य देखेको छु। म सडकमा हिँड्दा सिटी रिक्सा चलाउनेलाई, तरकारी बेच्नेलाई वा खेतबारीमा काम गर्नेलाई सोध्छु, उनीहरूलाई उम्मेदवार को हो भन्ने कुरासँग मतलब नै छैन। उनीहरूलाई बालेन र घण्टी वा निर्वाचन चिह्नसँग मात्र मतलब छ। विगतका निर्वाचनमा यस्तो अवस्था थिएन।
बालेनलाई प्रधानमन्त्री बनाउने चर्चा चल्नेबित्तिकै मधेसका दुईवटा दल (जसपा र लोसपा) एक ठाउँमा आए। उनीहरूले ‘यो त मधेसी नै होइन’ भनेर मनोविज्ञान भड्काउन पनि खोजे। तर, सत्य के हो भने मधेसको छोरो नेपालको इतिहासमा पहिलोपटक प्रधानमन्त्रीका लागि प्रस्तावित हुनुले मधेसी समुदायमा ठुलो उत्साह थपेको छ।
जहाँसम्म नेपाली कांग्रेसको कुरा छ, गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर पार्टीलाई रिफ्रेस गरे। अर्कोतर्फ एमालेको महाधिवेशनले पार्टीलाई रिफ्रेस गर्नुको साटो विभाजन र विवाद मात्रै ल्यायो। कांग्रेस रिफ्रेस हुनु र गगन थापा मधेसमै गएर चुनाव लड्नुले रास्वपातिर जान लागेको मधेसको भोट स्विङलाई केही हदसम्म ब्रेक लगाउन सक्छ जस्तो मलाई लाग्छ।
- २३ र २४ गतेको आन्दोलनमा जुन जनधनको क्षति भयो र आधा मुलुक जल्यो, त्यसको ओनरसिप लिन्छौँ भन्ने रास्वपाले के प्राप्त गर्यो त? खरानीबाहेक हातमा केही लागेन भन्ने प्रतिपक्षको आरोप छ नि !
त्यो घटना घट्दा मुलुक कसैको नियन्त्रणमा थिएन। जो सत्तामा थियो, उसैको हातमा मुलुक नरहेपछि बाँकी कसको हातमा हुने कुरा भयो र? मुलुकमा अनिश्चयको ठुलो बादल मडारिएको थियो। अहिले हेर्दा त्यो आन्दोलनको स्वामित्व तीनवटा पार्टी नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र रास्वपाले लिएको म देख्छु। त्यसको स्वामित्व लिनै नमिल्ने अवस्थामा एमाले छ, किनकि उसकै नेतृत्व भएको बेला त्यो घटना घटेको थियो। त्यसैले एमालेले आफूलाई बचाउन भूराजनीतिक हस्तक्षेपको भाष्य निर्माण गर्न खोज्यो, जुन आम मतदाताले पत्याइरहेका छैनन्।
सुरुमा रास्वपा पनि यो आन्दोलनमा केही पछाडि परेको थियो। जब २४ गते जेलबाट रवि लामिछानेले एउटा कागज बनाएर बाहिर ल्याए, त्यसपछि देशभरिका जेलबाट कैदीबन्दी र अपराधीहरू बाहिर निस्किए। त्यसको सम्पूर्ण दोष रविको टाउकोमा आयो। तर, पछि रास्वपाले बालेनलाई आफ्नो पार्टीमा ल्याएर ‘मास्टर स्ट्रोक’ खेल्यो। यसले रास्वपाको मात्रात्मक मात्र होइन, गुणात्मक हैसियत नै बढाइदियो।
- धेरैले निर्वाचनपछि झन् अन्योल हुन्छ भनिरहेका छन्। चुनावपछि पनि बालेन, रवि र गगन थापाहरू मिलेर जाँदा राम्रो हुन्छ भन्ने कतिपयको सल्लाह छ नि?
चुनावपछि राजनीतिक दलहरूले कस्तो बुद्धिमत्ता देखाउँछन् भन्ने कुरा मुख्य हो। स्थिर सरकार बनाउन चुनावअघि नै न्यूनतम साझा कार्यक्रम बनाएर जान सकिन्छ। कसैको बहुमत आएन भने सबैभन्दा ठुलो दलको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने कांग्रेसको भनाइ छ। अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि कि त पहिलो दलको नेतृत्वमा गठबन्धन बन्छ, कि दोस्रो दलको। पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने अभ्यास राष्ट्रिय संकटका बेला मात्रै हुन्छ।
अबका दिन नेपालका लागि निकै चुनौतीपूर्ण छन्। अब सामूहिक बुद्धिमत्ताको आवश्यकता छ। किनकि, एउटाको मात्रै बुद्धिले मुलुक चल्ने अवस्था अब छैन। सरकार बनाउने दलहरूले आ–आफ्ना घोषणापत्र मिलाएर एउटा साझा कार्यक्रम तय गर्नुपर्छ। भोलि मतदातासामु गएर हामीले यो-यो वाचा गरेका थियौं, पूर्ण बहुमत नभएका कारण यति काम मात्रै गर्न सक्यौँ भनेर स्पष्ट जवाफ दिन सक्ने अवस्था हुनुपर्छ। त्यसैले चुनावभन्दा पनि चुनावपछिको राजनीतिक परिदृश्यमा सुझबुझको ठुलो आवश्यकता छ।
- अन्त्यमा, बालेनजीप्रति एउटा गम्भीर प्रश्न उठ्ने गरेको छ, उहाँ सार्वजनिक बहसमा तयार नहुने, मतदाताको प्रश्नको जवाफ नदिने र प्रश्न नै नसुन्ने गर्नुहुन्छ। भावी प्रधानमन्त्रीले त आफ्नो कार्यक्रम र योजनाबारे बहसमा भाग लिनुपर्ने होइन र?
यसमा दुईवटा कुरा छन्। पहिलो, आयोजकहरूले केपी ओलीसहित राखेर बहस गर्ने प्रस्ताव गर्दा उहाँले त्यसलाई सीधै अस्वीकार गर्नुभयो। दोस्रो, लामो समयदेखि राजनीतिमा लागेकाहरूको बहस गर्ने आफ्नै विज्ञता र शैली होला। तर, बालेन त मेयरको चुनावदेखि मात्रै राजनीतिमा आएका हुन्। त्यसैले उनी भाषण र बहसमा भन्दा पनि डेलिभरीमा विश्वास गर्छन्। उहाँले आफ्नो निर्वाचन क्षेत्रका आम मतदातासँग भने राम्रैसँग कुराकानी गरेको मैले देखेको छु।
अर्को कुरा, उहाँप्रति अहिले यति ठुलो क्रेज छ कि आम मतदातासँग सार्वजनिक रूपमा बोल्न थाल्ने हो भने उहाँ एक इन्च पनि अगाडि बढ्न सक्ने अवस्था छैन। फिल्मी हिरोहरूको जस्तो जनसागर उर्लिने हुनाले घेरिएर हरेकसँग बोल्दै अगाडि बढ्न सम्भव हुँदैन। एक ठाउँमा मात्रै यसरी कुरा गर्न थालेँ भने सबै ठाउँमा समय दिनुपर्छ, जुन मेरो चुनावी दौडाहामा सम्भव छैन भन्ने उहाँलाई लागेको हुन सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण