बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

टी–२० विश्वकपबाट पाकिस्तान बाहिरिनु आश्चर्य होइन : तयारी र रणनीतिमै चुक्यो टोली

सोमबार, १८ फागुन २०८२, १३ : ३४
सोमबार, १८ फागुन २०८२

सारांश

  • श्रीलंकाविरुद्धको खेलमा फिल्डिङको गल्तीले पाकिस्तान टी२० विश्वकपको सेमिफाइनलबाट बाहिरियो।
  • टोलीको कमजोर रणनीति, खेलाडी छनोट र खराब प्रदर्शनका कारण पाकिस्तान लगातार चौथो पटक सेमिफाइनलमा पुग्न असफल भयो।
  • कप्तान सलमान आघाको कमजोर प्रदर्शन र व्यवस्थापनको कमजोरीले टोलीको प्रदर्शन खस्कियो।

काठमाडौँ । श्रीलङ्का विरुद्धको खेलमा बलर उस्मान तारिकको एक सामान्य फिल्डिङ गल्तीसँगै पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको छ । यो लगातार चौथो आईसीसी प्रतियोगिता हो जहाँ पाकिस्तानले सेमिफाइनलमा स्थान बनाउन सकेन ।

पछिल्ला प्रतियोगिताहरूमा सामान्य बन्दै गएको यो बहिर्गमनलाई आश्चर्य मानिएको छैन, किनकि यसको पछाडि टोलीको कमजोर रणनीति, खेलाडी चयनमा अलमल र मैदानमा खराब प्रदर्शनजस्ता कारणहरू छन् ।

विश्वकपका लागि पाकिस्तानले सायद अन्य कुनै पनि टोलीभन्दा बढी तयारी गरेको थियो । घरेलु लिग पीएसएलपछि विश्वकप सुरु हुनु अघिसम्म पाकिस्तानले ३४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल्यो, जुन प्रमुख टोलीमध्ये सबैभन्दा बढी हो । नयाँ कप्तान सलमान आघाले टोली ‘लापरबाही नगरी निर्भीक’ हुने बताएका थिए । यस अवधिमा टोलीले २४ खेल जित्यो, दुई त्रिकोणात्मक शृङ्खला जित्यो र एसिया कपको फाइनलसम्मको यात्रा पनि तय गर्‍यो ।

टी–२० लाई प्राथमिकता दिन ९ महिनामा केवल दुई टेस्ट र छ एक दिवसीय खेलियो र दर्जनौँ खेलाडीलाई विदेशी लिग खेल्न अनुमति दिइयो । तर, यी जितहरू धेरैजसो कमजोर वा मुख्य खेलाडी विना मैदान उत्रेका टोलीहरू विरुद्ध थिए । दक्षिण अफ्रिका र अस्ट्रेलिया विरुद्धका जित पनि यस्तै परिस्थितिमा आएका थिए भने बलियो प्रतिद्वन्द्वी भारतसँग खेलेका तीन वटै खेलमा टोली पराजित भयो, जसले टिमको तयारी माथि प्रश्न उठाएको थियो ।

टोली व्यवस्थापनले खेलाडीहरूको सही प्रयोग गर्न नसक्दा पनि प्रदर्शन खस्कियो । बाबर आजमलाई कसरी प्रयोग गर्ने भन्नेमा टोली अल्मलियो । युवा ब्याटर हसन नवाज र मोहम्मद हारिसलाई एक वर्ष नपुग्दै बाहिर राखियो ।

बिग ब्यास लिग (बीबीएल) मा सर्वाधिक विकेट लिएका हारिस रउफलाई एसिया कप फाइनलपछि खेलाइनु र ३४ तयारी खेलमध्ये तीन मात्र खेलेका नसीम शाहलाई विश्वकप टोलीमा समावेश गरिनुले चयन प्रक्रियामा अस्थिरता देखायो ।

कप्तान सलमान आघा आफैँ पनि चल्न सकेनन् । कप्तान नियुक्त भएपछि उनको स्ट्राइक रेट शीर्ष खेलाडीमध्ये सबैभन्दा कम थियो र विश्वकपमा ६ इनिङ्समा जम्मा ६० रन मात्र बनाउन सके, जसमा ३८ रन नामिबियाविरुद्ध थियो । उनको कप्तानीमा लिइएका रणनीतिक निर्णयहरू पनि विवादास्पद बने ।

बाबर आजमलाई उनको नियमित स्थानबाट हटाएर मध्यक्रममा खेलाउनु, लयमा रहेका फखर जमानलाई बेन्चमा राखेर सङ्घर्षरत साइम अयुबलाई लगातार मौका दिनुजस्ता निर्णयको आलोचना भयो । फखरले मौका पाउँदा श्रीलंकाविरुद्ध ओपनरका रूपमा ४२ बलमा ८४ रन बनाएका थिए ।

टोलीको मध्यक्रम फर्मबाहिरका खेलाडीले भरिएको थियो र साहिबजादा फरहानबाहेक अन्य ब्याटर चल्न सकेनन् । फरहानले एक्लै टोलीको कुल रनको ३८ प्रतिशत योगदान दिए । बलिङ व्यवस्थापन पनि कमजोर रह्यो ।

गत वर्षका उत्कृष्ट टी–२० स्पिनर अबरार अहमदलाई भारतविरुद्धको एक खराब ओभरपछि बेन्चमा राखियो, जबकि उनले श्रीलंकाविरुद्ध पुनरागमन गर्दै ३ विकेट लिएर आफ्नो क्षमता प्रमाणित गरेका थिए । भारतविरुद्ध इशान किशनले विस्फोटक ब्याटिङ गरिरहँदा स्पिनर उस्मान तारिकलाई ढिलो गरी मात्र बलिङमा ल्याइयो भने इङ्ल्यान्डविरुद्ध पहिलो बलमै विकेट लिएपछि उनलाई हटाइयो ।

कुनै समय अप्रत्याशित नतिजाका लागि चिनिने पाकिस्तान अब अनुमान गर्न सकिने औसत टोलीमा परिणत भएको छ । पछिल्लो समय प्रशासनिक अस्थिरता घटे पनि मैदानमा अस्थिरता कायमै छ । बारम्बार प्रशिक्षक र चयन समिति परिवर्तन हुनु, दीर्घकालीन योजनाको अभाव देखिनु र ठुला टोलीविरुद्ध लगातार हार्नुले यसलाई पुष्टि गर्छ ।

प्रतिभाशाली खेलाडी भए पनि कमजोर व्यवस्थापन र स्पष्ट योजनाको अभावमा पाकिस्तानले लगातार निराशाजनक प्रदर्शन गरिरहेको छ । 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप