इम्प्याक्ट नियमले बदल्यो मार्करमको ब्याटिङ शैली
सारांश
- एडन मार्करम २०२६ को टी२० विश्वकपमा प्रभावशाली खेलाडी बनेका छन्, उनको स्ट्राइक रेट उच्च छ।
- फाफ डु प्लेसिसका अनुसार, आईपीएल २०२५ मा लखनउ सुपर जायन्ट्सबाट राम्रो प्रदर्शनले उनलाई सफल ओपनर बनायो।
- मार्करमको कप्तानी र उत्कृष्ट ब्याटिङ प्रदर्शनका कारण दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको छ।
काठमाडौँ । दक्षिण अफ्रिकाका कप्तान एडन मार्करम २०२६ को टी–२० विश्वकपमा सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक बनेका छन् । प्रतियोगितामा कम्तीमा १०० बल सामना गरेका ११ जना ओपनरमध्ये उनको १७५.१६ को स्ट्राइक रेट सबैभन्दा उच्च छ ।
आईपीएल २०२५ मा लखनउ सुपर जायन्ट्सबाट सफल प्रदर्शनले उनलाई सफल टी–२० अन्तर्राष्ट्रिय ओपनर बन्न मद्दत गरेको पूर्व दक्षिण अफ्रिकी कप्तान फाफ डु प्लेसिसले बताएका छन् ।
ईएसपीएन क्रिकइन्फोको ‘टाइमआउट’ कार्यक्रममा बोल्दै फाफ डू ले भने– ‘आईपीएल २०२५ सिजनमा उनले एलएसजीका लागि ओपन गर्दा आफ्नो खेलमा धेरै सुधार गरे । त्यसबेला इम्प्याक्ट सब नियम र खेलको गतिले ओपनरलाई पुरानो शैलीमा खेल्ने अनुमति दिँदैनथ्यो । यदि पावर प्लेमा बलमाथि आक्रमण गर्न सकेन भने तुरुन्तै अर्को खेलाडी ल्याइन्थ्यो ।’
आईपीएल २०२५ मा मार्करमको पावरप्ले स्ट्राइक रेट १५१.१३ थियो, जुन उनका हालका दक्षिण अफ्रिकी ओपनिङ साझेदार क्विन्टन डी कक, रोहित शर्मा र विल ज्याक्सभन्दा राम्रो थियो । मिचेल मार्शसँगै उनले शीर्षक्रममा आक्रामक ब्याटिङ गरे । यसअघि आईपीएल २०२४ मा सनराइजर्स हैदराबादलाई फाइनलसम्म पुर्याउने क्रममा उनी प्रायः नम्बर ४ मा खेल्थे ।
आईपीएलअघि दक्षिण अफ्रिकाका लागि टी–२० अन्तर्राष्ट्रियमा प्राय मिडल अर्डरमा ब्याटिङ गर्ने मार्करमलाई त्यसपछि स्थायी ओपनरको जिम्मेवारी दिइएको हो । टोली व्यवस्थापनले उनलाई एसए–२० का सर्वाधिक रनकर्ता रायन रिकेल्टनभन्दा अघि ओपन गराएको छ ।
डु प्लेसिसले भने– ‘एडनले आफ्नो स्ट्राइक रेट बढाउनै पर्ने अवस्था आयो । राम्रो सिजन र केही प्रभावशाली इनिङ्सपछि उनले नम्बर ३ वा ४ बाट ओपनिङमा रूपान्तरण गरे । आजको टी–२० क्रिकेटमा बहुपयोगी खेलाडी हुनुपर्छ । टोली व्यवस्थापनले पनि ओपन गर्न सक्छ कि नम्बर ४ मा खेल्न सक्छ भन्ने हेर्छ ।’
अहमदाबादमा हालसम्म खेलेका सातमध्ये पाँच खेलमा दक्षिण अफ्रिकाले रातो, कालो र मिश्रित माटोका पिचमा ब्याटिङ गर्नुपरेको छ । तर मार्करमले सुरुआतमा दिएको तीव्र गतिका कारण टोलीले त्यसलाई राम्रोसँग सम्हालेको छ ।
उनको यस विश्वकपको स्ट्राइक रेट १७५.१६ छ, जुन उनको समग्र टी–२० करिअर स्ट्राइक रेट १३६. ३७ भन्दा झन्डै ४० अङ्कले बढी हो । डु प्लेसिसका अनुसार आईपीएलमा इम्प्याक्ट प्लेयर नियमले ब्याटरलाई अझ स्वतन्त्र बनाएको छ ।
‘खेलको मागअनुसार परिवर्तन नगरे पछि खेलाडी पछाडि पर्छ । एडनले समयसँगै आफूलाई परिवर्तन गरे,’ उनले भने । मार्करम तीनै फम्र्याटका सफल खेलाडी हुन् । उनको खातामा विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा चौथो इनिङ्स शतकसमेत छ ।
डु प्लेसिसले उनलाई प्राविधिक रूपमा बलियो ब्याटर बताउँदै भने, ‘उनको खेलमा धेरै कमजोरी छैन । कहिलेकाहीँ अगाडि ड्राइभ गर्दा आउट हुनु स्वाभाविक हो । विराट कोहलीजस्ता महान् खेलाडी पनि अगाडि ड्राइभ गर्छन् । एडनले समयसँगै सबै कुरा बुझ्दै गएका छन् ।’
मार्करमको कप्तानी र उत्कृष्ट ब्याटिङ प्रदर्शनकै कारण दक्षिण अफ्रिका २०२६ टी–२० विश्वकपमा अहिलेसम्म एक खेल पनि नहारिकन सेमिफाइनल पुग्ने एक मात्र टोली बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्नुपर्छ : निश्कल राई
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
-
राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण