बाधा चिर्दै एसियन कपमा बङ्गलादेश
ढाका । सामाजिक कलङ्क, गरिबी, धार्मिक कट्टरता र पारिवारिक दबाबका वर्षौंको अवरोध पार गर्दै बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली पहिलो पटक महिला एसियन कपमा स्थान बनाउन सफल भएको छ ।
अस्ट्रेलियामा मार्च ३ देखि सुरु हुने प्रतियोगितामा डेब्यू गर्न लागेको टोलीका लागि यो केवल खेल उपलब्धि मात्र नभई लैङ्गिक विभेदविरुद्धको ऐतिहासिक जीत पनि बनेको छ ।
करिब १७ करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली राष्ट्रमा महिला खेलाडी बन्नु सजिलो छैन । विशेषगरी ग्रामीण क्षेत्रमा केटीहरूलाई खेलकुदबाट टाढा राख्ने सामाजिक दबाब गहिरो छ । सर्ट लगाएर फुटबल खेल्नु अभद्र ठान्ने धारणा अझै जीवित छ । कप्तान अफिदा खान्डाकरले समुदायबाट पर्याप्त साथ पाएको भए अझ धेरै केटीहरू टोलीमा जोडिन सक्ने बताइन् । उनका अनुसार धेरैले प्राथमिक तहपछि नै फुटबल छोड्नुपरेको छ, कतिपयलाई सानै उमेरमा विवाहका लागि दबाब दिइएको छ ।
बीस वर्षीया खेलाडी एन्निमा खानम रिचीले आफ्ना धेरै साथीहरूलाई खेलबाट हटाएर व्यवस्थित विवाह गराइएको स्मरण गरिन् । परिवारहरूले सामाजिक दबाब सहन नसक्दा छोरीहरूलाई मैदानबाट टाढा राख्ने गरेको उनको भनाइ छ । कप्तान खान्डाकरले पनि आफ्ना आमाबाबुले—विशेषगरी आमाले—कटु टिप्पणी सहेर आफूलाई अघि बढाउन साथ दिएको उल्लेख गरिन् । उनले पाँच वर्षको उमेरदेखि फुटबल खेल्दै आएकी हुन् ।
सन् २०११ मा पहिलो महिला लिग सुरु भएको बङ्गलादेशमा दुई वर्षयताको राजनीतिक उथलपुथलले थप चुनौती थपेको थियो । सन् २०२४ को विद्रोहपछि सक्रिय इस्लामवादी समूहहरूले महिलामाथि ‘अपर्याप्त विनय’ को आरोप लगाउँदै दबाब बढाएका थिए । हिंसाको धम्कीका कारण गत वर्ष केही खेल रद्दसमेत भएका थिए । हालै सम्पन्न आम निर्वाचनमा विजयी बिएनपीले महिला अधिकारको समर्थन गर्ने वाचा गरेको छ, तर इस्लामवादी दलहरूको बढ्दो प्रभावले लैङ्गिक नीतिबारे चिन्ता कायमै छ ।
प्रशिक्षक सैफुल बारी टिटुले महिला टोलीले धेरै विरोध झेलेर यहाँसम्म पुगेको बताए । उनका अनुसार पछिल्ला वर्षमा आधारभूत संरचना विस्तार भएको छ र देशभर ४० भन्दा बढी क्लबले नौ वर्षदेखि केटीहरूलाई प्रशिक्षण दिन थालेका छन् । सन् २००८ अघि राष्ट्रिय महिला टोली नै नभएको स्मरण गर्दै महिला शाखा प्रमुख महफुजा अख्तर किरोनले खेलाडीहरूको जीविकोपार्जन सुनिश्चित गर्नु प्राथमिकता रहेको बताइन् । पुरुष खेलाडीको तुलनामा पारिश्रमिक कम भए पनि उक्त आम्दानीले धेरै परिवारलाई स्थायित्व दिएको उनको भनाइ छ ।
अधिकांश खेलाडी सीमान्तकृत परिवारबाट आउने गरेका छन् । कप्तानका बुबा खन्डाकर आरिफ हुसेन प्रिन्सका अनुसार धेरै अभिभावक रिक्शाचालक, मजदुर वा साना व्यवसायी भएकाले आर्थिक अभावका कारण छोरीहरूले खेल छोड्ने अवस्था आउँछ । प्रायोजकहरूको चासो बढ्दै जाँदा समाजको मनोवृत्ति विस्तारै परिवर्तन भइरहेको खेल अधिकारीहरूको विश्वास छ ।
अब बङ्गलादेशले आफ्नो पहिलो खेल नौ पटकको एसियाली च्याम्पियन चीनसँग खेल्दै अभियान सुरु गर्दैछ । चीन र उत्तर कोरिया जस्ता शक्तिशाली टोलीहरूसँग प्रतिस्पर्धा कठिन हुने कप्तान खान्डाकरले स्वीकार गरिन्, तर टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दृढता व्यक्त गरिन् । एसियन कपको मैदानमा उत्रँदा बङ्गलादेशी खेलाडीहरूका लागि यो केवल खेल प्रतियोगिता नभई समानताको सङ्घर्षको निरन्तरता हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण