बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी भिडन्त

बागलुङमा ४० वर्ष मुनिका यी पाँच उम्मेदवारको कस्तो छ अवस्था ?

सोमबार, १८ फागुन २०८२, १७ : १५
सोमबार, १८ फागुन २०८२

सारांश

  • बागलुङमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न क्षेत्रमा उम्मेदवारहरू छन्।
  • राप्रपा, रास्वपा र अन्य दलका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्।
  • युवा उम्मेदवारहरूले जितको लागि मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन्।

बागलुङ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बागलुङका दुई वटा क्षेत्रमा २३ जना उम्मेदवार छन् । क्षेत्र नम्बर १ मा ११ जना र २ मा १२ जना छन् । उनीहरूमध्ये ४० वर्षमुनिका पाँच जना छन् । 

क्षेत्र नम्बर १ बाट ३१ वर्षीया कल्याण आचार्य, ३५ वर्षीया गुमा कुमारी बुढा राना मगर र ३९ वर्षीय सुशील खड्का छन् । आचार्य बागलुङमा सबैभन्दा कान्छा उम्मेदवार हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट उम्मेदवार बनेका छन् । राना मगर मंगोल नेशनल अर्गनाइजेशन र खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार छन् । 

क्षेत्र नम्बर २ बाट ३३ वर्षीय अञ्चल शाही र ३४ वर्षीय सोम शर्मा चुनावी मैदानमा छन् । शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन् । पाँचै जना युवा उम्मेदवार पहिलो पटक चुनावी मैदानमा छन् । चुनावी अनुवभ नलिएका उम्मेदवार आज अन्तिम दिन पनि मतदाता रिझाउनमै व्यस्त छन् । 

आचार्यलाई छैन जित निकाल्न सहज

बागलुङ क्षेत्र नम्बर १ बाट राप्रपाले उम्मेदवार बनाएको आचार्यलाई यसपटक जित निकाल्न त्यति सहज छैन । नेपाली कांग्रेस र नेकपा एमालेको बलियो संगठन रहेको बागलुङमा राप्रपाको संगठन निकै कमजोर छ । जैमिनी नगरपाकिला–१ कुश्मिसेरा घर भएका आचार्य लामो समयदेखि काठमाडौँमा व्यवसाय गर्दै आएका छन् । मतदातासँग निर्वाचनका बेलामा मात्रै भेटघाटमा पुगेका उनलाई पार्टीको मत जोगाउनसमेत गाह्रो पर्ने अवस्था छ । २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा राप्रपाका उम्मेदवार लक्ष्मीप्रसाद सापकोटाले यहाँबाट ९०४ मत पाएका थिए । यद्यपि जिल्लामै कान्छा उम्मेदवार बनेका आचार्य युवापुस्ताबाट केही मत तान्ने कसरतमा छन् । उनी पूर्वसञ्चारकर्मीसमेत हुन् । हाल उनी पार्टीको युवा संगठनको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा छन् । राजसंस्था पुनःस्थापना हुनुपर्ने एजेन्डा लिएर चुनावमा होमिएका उनी सनतान हिन्दु धर्मको संरक्षण गर्ने, राष्ट्रिय एकता र स्थिरताका लागि अभिभावकीय भूमिकामा राजसंस्थाको पुनर्स्थापना गर्नुपर्ने बताउँछन् । 

आचार्य भन्छन्, ‘बागलुङलाई धार्मिक पर्यटनको केन्द्र बनाउन मौलिक सम्पदाको संरक्षण र सम्बर्धन गर्ने योजना छ, शिक्षा, स्वास्थ्य, रोजगार मेरो पहिलो प्राथमिकता हो ।’ 

संगठनबिना चुनावी मैदानमा गुमा

युवा उम्मेदवारमध्ये गुमा बागलुङवासी होइनन् । तनहुँको व्यास नगरपालिका–१३ की गुमा मंगोल नेशनल अर्गनाइजेशन पार्टीको तर्फबाट उम्मेदवार बनेकी छन् । बागलुङमा उनको पार्टीको संगठननै निकै कमजोर छ । कमजोर संगठन, त्यसमाथि बाहिरी जिल्लाबाट आएका चुनाव लड्न थालेकी उनलाई मतदाताको विश्वास जित्न त्यति सहज भने छैन । 

आफ्ना मुद्दा स्थापित गर्न अन्तरजिल्ला चुनाव लड्न थालेको उनको भनाइ छ । अहिले पनि समाजले महिलाप्रति हेर्ने दृष्टिकोण फरक रहेको भन्दै त्यसलाई चिर्न आफू चुनावमा होमिएको उनले बताइन् । महिलासँगै पिछडिएका आदिवासी जनजातिको मुद्दालाई उठाउन आफू उम्मेदवार बनेको उनको तर्क छ । 

‘अन्तर जिल्लामा आएर चुनाव लड्दा केही समस्याहरू त हुन्छन्, तर आफ्नो एजेन्डा राखेर मतदाता रिझाउने हो । मतदाताले मनपराएपछि कमजोर संगठन र बाहिरी जिल्लाबाट आएको भनेर केही फरक पर्दैन, मेरो मुख्य एजेन्डा चुनावबाट हामीले पिछडिएको वर्गको मुद्दा स्थापित गर्नु हो,’ उनले भनिन्, 'महिला र आदिवासी जनजातिको मुद्दालाई उठाउनु हो ।’ 

रास्वपाप्रतिको लहर नै सुशीलको जित्ने आधार

पछिल्लो समय रास्वपाको बढ्दो ‘क्रेज’ सुशीलको जित्ने आधार बनेको छ । यद्यपि उनले पुराना दलसँग भने कडा प्रतिस्पर्धा गर्नुपर्ने छ । अघिल्लो निर्वाचनमै पुराना दलसँग प्रतिस्पर्धा गरेको रास्वपा यसपालि नजिता आफ्नो पोल्टामा पर्ने दाउमा छ । ०७९ सालको चुनावमा रास्वपा उम्मेदवारले यहाँ पाएको मत बढ्ने धेरैको आकलन छ । 

अघिल्लो पटक रास्वपाका खिमानन्द कँडेलले यहाँबाट ९ हजार १९१ मत पाएका थिए । यसपटक बढाएर जित निकाल्ने दाउमा खड्का छन् । उनी बागलुङ बजारवासी हुन् । बजार क्षेत्रमा रास्वपाको राम्रो मत छ । संगठनसमेत बजबुत बन्दै गएको हुँदा यसपालि जित निकाल्न त्यत्ति गाह्रो नभएको खड्काले बताए । 

उनले भने, ‘यसपालि हाम्रो जित पक्का छ । धेरै नागरिकले हामीलाई हौसला दिनुभएको छ । संगठन पनि राम्रो भएको छ । गाउँ गाउँमा गएर मतदाता भेट्दा थप प्रेरणा मिल्यो । मैले यहाँका नागरिकको सामान्यदेखि ठुला मुद्दा उठाउने कोसिस गर्नेछु ।’ 

शर्मालाई ‘टुरिस्ट’को ट्याग 

बागलुङ क्षेत्र नम्बर १ बाट २ मा गएर निर्वाचनमा होमिएका सोम शर्मा सामाजिक अभियन्ताका रूपमा चिनिन्छन् । जेनजी आन्दोलनदेखि विभिन्न आन्दोलनहरूमा सहभागी हुँदै आएका शर्मालाई रास्वपाले बागलुङ क्षेत्र नम्बर २ मा उम्मेदवार बनाएको छ । उनलाई यस क्षेत्रमा जित निकाल्न गाह्रो पर्ने देखिएको छ । यद्यपि उनले मत भने राम्रो ल्याउने धेरैको आकलन छ । 

पटक–पटक क्षेत्र बाहिरबाट नेताहरू आएर उम्मेदवार बन्दा यहाँका मतदाता आजित छन् । मतदान गरेर जिताएका नेता निर्वाचनपछि गाउँ नफर्कदा उनीहरूमा निरासा पैदा भएको छ । यसपालि शर्मालाई यस क्षेत्रका केही मतदाताले ‘टुरिस्ट’ उम्मेदवार भन्ने गरेका छन् । तर जेनजी आन्दोलनपछि भएको निर्वाचनले देशमा परिवर्तन ल्याउने उनी बताउँछन् । 

शर्माले भने, ‘मलाई यस क्षेत्रका जनताले अथाह माया दिनुभएको छ । पुराना दलबाट आजित भएका मतदाताले यसपटक हामीलाई अवसर दिने पक्का छ । हामीले अवसर पाए विकट भनेर परिभाषित २ नम्बर क्षेत्रमा केही परिवर्तन ल्याउँछौँ ।’ 

जित निकाल्न सक्लान् त शाहीले ?

राप्रपाबाट उम्मेदवार बनेका शाही निसीखोलावासी हुन् । यसअघि निसीखोला गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनेका शाही चौथो स्थानमा थिए । नेपाली कांग्रेसका सूर्यबहादुर घर्ती मगरले पाँच हजार ५५१ मत ल्याउँदा शाहीले १७६ मत मात्रै पाएका थिए । 

हलो नै काँधमा बोकेर मतदाता रिझाउन हिँडिरहेका शाही लामो समय नेपाली कांग्रेसमा सक्रिय थिए । पुरानाबाट परिवर्तन सम्भव नभएको भन्दै युवा आउनपरेको उनले बताए । विकास र परिवर्तनका लागि आफ्नो जित अपरिहार्य रहेको उनी ठान्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डम्मर बुढामगर
डम्मर बुढामगर
लेखकबाट थप