बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फेसबुकमा डलर खर्च

चुनावले बढायो फेसबुकको व्यापार, विज्ञापनमा क–कसले गरे धेरै खर्च ?

मङ्गलबार, १९ फागुन २०८२, १४ : ४८
मङ्गलबार, १९ फागुन २०८२

सारांश

  • निर्वाचन प्रचारप्रसारमा सामाजिक सञ्जालको प्रयोग बढ्दा फेसबुकले नेपालबाट हजारौं डलर व्यापार गरेको छ।
  • पछिल्लो ३० दिनमा ९६० जनाले विज्ञापन गर्दा, १२२ जनाले ५६ हजार ७३९ डलर खर्च गरेको मेटाको रिपोर्टमा उल्लेख छ।
  • बागमती क्षेत्रबाट सबैभन्दा धेरै विज्ञापन खर्च भएको छ, भने कर्णाली र सुदूरपश्चिममा कम खर्च भएको देखिन्छ।

काठमाडौँ । निर्वाचन प्रचारप्रसारमा सामाजिक सञ्जाल प्रयोग गर्ने क्रम बढेसँगै फेसबुकले नेपालबाट उल्लेख्य व्यापार गरेको छ । नेपालबाट चुनाव केन्द्रित विज्ञापनस्वरुप हजारौँ डलर खर्च भएको हो ।

पछिल्लो ३० दिनमा मात्रै फेसबुकमार्फत् ९६० जनाले विज्ञापन गरेका छन् । त्यसमध्ये १०० डलरभन्दा धेरै खर्च गर्ने १२२ जनाले मात्रै ५६ हजार ७३९ डलर खर्च गरेको मेटाको एड लाइब्रेरी रिपोर्टमा उल्लेख छ ।

यो रिपोर्ट जनवरी २९ देखि फेब्रुअरी २७ सम्मको हो । बाँकीले भने १०० डलरभन्दा कम खर्च गरेको रिपोर्टमा उल्लेख छ । 

यो अवधिमा सबैभन्दा धेरै खर्च ‘माइ भ्वाइस काउन्ट’ले गरेको छ । सो संस्थाले ३,९६० डलर खर्च गरेको मेटाको विवरण छ । त्यस्तै, अजय क्रान्ति फलोअर्सको नामबाट २६०१ डलर, साझा पाटीले २४५८ डलर, रुटिन अफ झापा–५ बाट १८५० डलर, नैनसिंह महरले १७९४ डलर, क्षितिज थेवेले १७०४ डलर र कुशल गुरुङको नामबाट १६४० डलर खर्च भएको छ ।

‘देशको आशा’ नामबाट १६२९, हाम्रो आवाजले १२८६, नयाँ बाटोले ११९०, गतिशफल लोकतान्त्रिक पार्टीले ११७४, अपलिफ्ट नेपालले ११५२, क्षितिज थेवे जिताऔँ अभियानले १०८२ डलर, भरत राज ढकाल जिताऔँ अभियानले १०५४ डलर खर्च गरेको मेटाले जनाएको छ ।

दिलीप बगडिया, श्री गुरुङ, सोम प्रसाद पाण्डेय, महतोजी, नारायणकाजी फलोअर्स, राजन भट्टराई लगायत पनि सर्वाधिक खर्च गर्ने प्रयोगकर्ताको रूपमा छन् ।

यो अविधमा भूगोल अनुसार सबैभन्दा धेरै खर्च बागमती क्षेत्रबाट भएको छ । यो क्षेत्रबाट मात्रै २० हजार ४७७ डलर खर्च भएको देखिन्छ । त्यस्तै, लुम्बिनी क्षेत्रबाट ७९६९ डलर र कोशी क्षेत्रबाट ७५८० डलर खर्च भएको छ ।

सबैभन्दा कम खर्च कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रमा भएको देखिन्छ, जसले डिजिटल पहुँच र चासोको खाडललाई पनि उजागर गर्छ । गण्डकी र मेचीमा पनि ५ हजार डलरभन्दा बढी खर्च भएको मेटाले जनाएको छ ।

यस्तो छ पछिल्लो ७ दिनको अवस्था

तथ्याङ्क अनुसार पछिल्लो ७ दिनमा फेसबुक विज्ञापनमा नेपालबाट कुल १६ हजार ५४२ डलर खर्च भएको देखिन्छ । उक्त अवधिमा खर्च गर्नेमा साझा पार्टी सबैभन्दा अगाडि देखिन्छ । सो पेजबाट १२८५ डलर खर्च भएको देखिन्छ । 

त्यसैगरी, क्षितिज थेबे नामक पेजबाट १२७९ र क्षितिज थेवे जिताऔँ अभियानबाट ९९१ डलर खर्च भएको छ । विज्ञापनको संख्याका आधारमा हेर्दा डा. अजय क्रान्तिले सबैभन्दा धेरै १५६ वटा विज्ञापन प्रकाशित गर्दै ११११ डलर खर्च गरेको देखिन्छ ।

यो अविधमा कुशल गुरुङ कास्की–२ ले १०१३ डलर, माई भ्वाइस काउन्टले ९६० डलर, देशको आशा नामक पेजले ९५४ डलर खर्च गरेका छन् । स्ट्र होल्डिङ, हाम्रो आवाज, रुटिङ अफ झापा–५ र नयाँ बाटो लगायत पेजले छुट्टाछुट्टै ९०० डलरभन्दा धेरै खर्च गरेको देखिएको छ ।

सोमप्रसाद पाण्डे, नारायणकाजी श्रेष्ठ, वीरेन्द्र कानोडिया र विनोद चौधरी जस्ता राजनीतिक व्यक्तित्वसँग सम्बन्धित पेजहरूले पनि पछिल्लो एक हप्तामा विज्ञापनमा ठुलो लगानी गरेको मेटाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप