विश्वकपबाट बाहिरिएपछि कप्तान परिवर्तनबारे सोच्दै अफगानिस्तान
सारांश
- आईसीसी टी२० विश्वकपबाट बाहिरिएपछि अफगानिस्तान क्रिकेटमा नेतृत्व परिवर्तनको चर्चा सुरु भएको छ।
- कप्तान राशिद खानमाथि प्रश्न उठिरहेका बेला बोर्डले टोली व्यवस्थापनमा फेरबदल गरिसकेको छ।
- नयाँ मुख्य प्रशिक्षक रिचर्ड पाइबस श्रीलंकाविरुद्धको शृंखलापछि टोलीसँग जोडिनेछन्।
काठमाडौँ । आईसीसी टी–२० विश्वकपबाट बाहिरिएपछि अफगानिस्तान क्रिकेटमा नेतृत्व परिवर्तन हुने चर्चा चुलिएको छ ।
लगातार दुई ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा टोलीलाई गहिरो चरणसम्म लैजान नसकेपछि कप्तान राशिद खानमाथि प्रश्न उठ्न थालेका छन् । दुबईमा भएको टी–२० एसिया कपमा पनि अफगानिस्तान दोस्रो चरणमा पुग्न असफल भएको थियो ।
विश्वकै उत्कृष्ट टी–२० बलरमध्ये एक मानिने राशिद खानलाई सन् २०१९ मा पहिलोपटक अफगानिस्तानको टी–२० अन्तर्राष्ट्रिय कप्तान नियुक्त गरिएको थियो । तर टोली छनोटसम्बन्धी विवादका कारण उनले सन् २०२१ को टी–२० विश्वकपअघि पद त्यागेका थिए । पछि सन् २०२२ मा अस्ट्रेलियामा भएको टी–२० विश्वकपपछि मोहम्मद नबीले कप्तानी छाडेपछि राशिद पुनः कप्तान बनेका थिए ।
अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले ठुलो अपेक्षासहित राशिदलाई कप्तान बनाएको थियो । विश्वस्तरका प्रतियोगितामा टोलीलाई नयाँ उचाइमा पुर्याउने विश्वास बोर्डको थियो । तर विज्ञहरूको नजरमा अफगानिस्तान विश्वका उत्कृष्ट टी–२० टोलीमध्ये एक मानिए पनि एसीसी र आईसीसी प्रतियोगितामा प्रदर्शनले त्यो छवि पुष्टि गर्न सकेको छैन ।
यसअघि नै बोर्डले टोली व्यवस्थापनमा ठुलो फेरबदल गरिसकेको छ । विश्वकपअघि टोबी र्याडफोर्डलाई ब्याटिङ प्रशिक्षक नियुक्त गरिएको थियो भने टी–२० विश्वकपबाट बाहिरिएपछि लामो समयदेखि मुख्य प्रशिक्षक रहेका जोनाथन ट्रटको स्थानमा रिचर्ड पाइबसलाई ल्याइएको छ ।
ट्रटको बहिर्गमन अप्रत्याशित थिएन, किनकि उनको बोर्डसँग केही समयदेखि असन्तुष्टि रहेको बताइएको थियो । उनी चाँडै नै टोली छाड्ने संकेत पहिले नै देखिएको थियो । अब नेतृत्वमा पनि परिवर्तन हुन्छ वा हुँदैन भन्ने विषयमा भने अन्तिम निर्णय भइसकेको छैन । एसीबीका प्रमुख कार्यकारी अधिकृत नसीब खानका अनुसार परिवर्तनको सम्भावना भने खुला छ ।
नसीबले भने, ‘हामी अहिले टोलीभित्र सुधारका विषयमा विचार गरिरहेका छौँ । भविष्यका लागि टोली निर्माण गर्दैछौँ भने परिवर्तन अपरिहार्य हुन्छ । हामीले मुख्य प्रशिक्षक, ब्याटिङ प्रशिक्षक र ट्रेनर परिवर्तन गरिसकेका छौँ र टोलीभित्र पनि आवश्यक समायोजन गरिनेछ ।’
उनले थपे, ‘तर कप्तानबारे अन्तिम निर्णय भएको छैन, त्यसैले अहिले नै परिवर्तन हुन्छ वा यथावत् रहन्छ भन्न सकिँदैन ।’
नयाँ मुख्य प्रशिक्षक रिचर्ड पाइबसले पनि अफगानिस्तानमा काम गर्न कुनै समस्या नभएको बताएका छन् । उनको नियुक्तिले नयाँ दृष्टिकोणको संकेत दिएको छ, किनकि यसअघि विदेशी प्रशिक्षकहरू प्रायः अन्तर्राष्ट्रिय प्रतियोगिताअघि मात्रै संलग्न हुने गरेका थिए ।
नसीबका अनुसार श्रीलंका विरुद्धको सेतो बल (एकदिवसीय र टी–२०) शृंखलापछि पाइबस टोलीसँग जोडिनेछन् । दुबई र शारजाहमा मार्च १३ देखि २५ सम्म हुने शृंखलापछि उनी अफगानिस्तान जानेछन् ।
नसीबले भने, ‘श्रीलंका शृंखलापछि पाइबस अफगानिस्तान आउनेछन् । हामी उच्च प्रदर्शन केन्द्र (एचपीसी) का लागि पनि नयाँ व्यवस्थापन टोली ल्याउने तयारीमा छौं । हामी सन् २०२७ र २०२८ का विश्वकपलाई लक्षित गर्दै अहिलेबाटै तयारी सुरु गर्न चाहन्छौं र घरेलु प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा ल्याउन चाहन्छौं ।’
यद्यपि, वर्तमान भू–राजनीतिक अवस्थाका कारण संयुक्त अरब इमिरेट्सको परिस्थितिलाई लिएर उनी सतर्क देखिएका छन् । शृंखला हुने वा नहुने विषय अझै अनिश्चित छ । नसीबले भने, ‘म यही प्रयोजनका लागि दुबईमा छु, शृंखलाको व्यवस्थापन र तयारी अन्तिम रूप दिन । यदि अवस्था सामान्य भयो भने हामी शृंखला अघि बढाउनेछौँ ।’
पहिलोपटक अफगानिस्तानले श्रीलंकाविरुद्ध सेतो बल शृंखला आयोजना गर्न लागेको हो । शारजाहमा मार्च १३, १५ र १७ मा टी–२० खेलिनेछन् भने दुबईमा मार्च २०, २२ र २५ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण