शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
निर्वाचन तयारी

भरतपुर घटनाले जन्माएको मतगणनाको जाली र सिसी क्यामेरा

बुधबार, २० फागुन २०८२, ०८ : ००
बुधबार, २० फागुन २०८२

सारांश

  • मुस्ताङमा मतगणनास्थल तारजालीले घेरेर तयार गरिएको छ, सिसीक्यामेराको व्यवस्था पनि मिलाइएको छ।
  • भरतपुर महानगरपालिकाको घटनापछि मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ र तारजाली अनिवार्य गरिएको छ।
  • गण्डकी प्रदेशभरका मतगणनास्थलमा सुरक्षाकर्मी र सिसी क्यामेराको निगरानी रहनेछ र निर्वाचनलाई व्यवस्थित बनाइनेछ।

पोखरा । हिमालपारिको जिल्ला मुस्ताङमा मंगलबार मतगणनास्थल तयार पारिएको छ। सदरमुकाम जोमसोममा रहेको जिल्ला समन्वय समितिको हललाई तारजालीले घेरेर मतगणनाका लागि तम्तयार अवस्थामा राखिएको छ। यसबाहेक, सिसीक्यामेराको व्यवस्था पनि गरिएको छ।

निर्वाचन कार्यालयका प्रमुख लोकेन्द्र ज्ञवाली भन्छन्, ‘मान्छेहरू उक्लिएर गणनास्थलमा छिर्न नसक्ने गरी जाली लगाइएको छ। अब थप सिसी क्यामेरा जोड्दैनौँ। मतपेटिका आइसकेपछि गणना सम्पन्न नहुँदासम्म यसको सुरक्षा जाली, क्यामेरा र सुरक्षाकर्मीहरूले गर्नेछन्।’

२०७४ सालको स्थानीय निर्वाचनअघि नेपालमा मतगणनास्थलमै राजनीतिक दलका प्रतिनिधिहरू पुग्थे। उनीहरू गणकसँगै बसेर रेजा लगाउँथे र मतपरिणाम घोषणा हुन्थ्यो। तर, २०७४ को स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना चलिरहेका बेला प्रतिनिधिहरूले नै मतपत्र च्यातिदिएपछि अहिले गणनास्थललाई मजबुत बनाउन थालिएको हो।

सोही वर्षको जेठको दोस्रो हप्ता मेयर पदको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा  गणनामा खटिएका दलका प्रतिनिधिले मतपत्र च्यातिदिए। गणनास्थल अनधिकृत रूपमा कब्जा गरी ९० भन्दा बढी मतपत्र च्यातिएपछि निर्वाचन आयोग वडा नम्बर १९ मा पुनः मतदान गराउन बाध्य भयो।

त्यसपछि भएका मतगणनामा विशेष सावधानी अपनाइयो । मतगणनास्थल वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी लामो तारजालीले घेरियो। मतगणनामा बस्ने प्रतिनिधिले मतपत्र छुन नसक्ने गरी गरिएको यो व्यवस्थाले त्यसपछिका हरेक निर्वाचनमा निरन्तरता पाउँदै आएको छ।

यसपालिको निर्वाचनमा पनि अधिकांश ठाउँमा तारजालीले मतगणनास्थल घेरिएको छ। सबै मतदान अधिकृतहरू मतदानका लागि फिल्डमा खटिसकेको अवस्थामा, मतगणनास्थल तयारीका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले आवश्यक गृहकार्य गरिसकेका छन् ।

गण्डकीका १८ वटै निर्वाचन क्षेत्रका लागि मतगणनास्थल तयार पारिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालले जानकारी दिएका छन्। उनका अनुसार सबै गणनास्थलमा तारजाली अनिवार्य गरिएको छ। धेरैजसो ठाउँमा संवेदनशीलतालाई ध्यानमा राखेर सिसीक्यामेरा पनि जडान गरिएको उनले बताए।

‘संवेदनशील ठानिएका क्षेत्रको मतगणनालाई सिसी क्यामेराले पनि निगरानी गर्नेछ। मतगणनालाई असर पार्ने कुनै पनि गतिविधि भए कडा कारबाही हुनेछ,’ ढकालले भने, ‘तारजाली त सबैजसो गणनास्थलमा राखिएको छ।’

मतदानदेखि अन्तिम नतिजा घोषणा नभएसम्म सुरक्षा निकायले मतपेटिकाको निगरानी र सुरक्षा गर्नेछन्। यसैका लागि निर्वाचन प्रहरी खटाइएको छ। नेपाल प्रहरी मतपेटिकाको पहिलो घेरामा रहनेछ। सशस्त्र प्रहरीले दोस्रो घेराबाट सुरक्षा दिनेछ भने तेस्रो घेरामा नेपाली सेना तैनाथ हुनेछन्।

1-644487662_1503205578484021_88944437647697920_n

ढकालका अनुसार, मतपेटिका ढुवानीको क्रममा पनि सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण हुन्छ। यद्यपि, कतिपय ठाउँमा राजनीतिक दलका प्रतिनिधिहरूले मतपेटिका ढुवानी गर्दा आफूहरू पनि साथमा रहनुपर्ने अडान छोडेका छैनन्।

गण्डकी प्रदेशभर २ हजार ३ सय ९६ वटा मतदान केन्द्रबाट मतदान हुँदैछ। यो निर्वाचन सम्पन्न गराउन झन्डै २१ हजार जनशक्ति परिचालन गरिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रदेशभर कुल २१ हजार ४ सय १५ जना जनशक्ति खटाइएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। तीमध्ये १४ हजार ३ सय ५० जना कर्मचारी र ७ हजार ६५ जना स्वयंसेवक छन्।

यस निर्वाचनमा १८ लाख ७० हजारभन्दा बढी मतदाता छन् र करिब ६० प्रतिशत मत खस्ने अनुमान गरिएको छ। स्थायी मतदान केन्द्रबाहेक कर्मचारी, कारागारमा रहेका कैदीबन्दी र सुरक्षाकर्मीका लागि हरेक जिल्लामा अस्थायी मतदान केन्द्रको पनि व्यवस्था गरिएको छ। उनीहरूले समानुपातिक मत मात्रै दिन पाउनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप