शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन तयारी

गृहमन्त्रीलाई प्रश्न : मतपेटिका सेनाले ओसार्ने हो ?

बुधबार, २० फागुन २०८२, १० : ४८
बुधबार, २० फागुन २०८२

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ को निर्वाचनमा मतपेटिका एकीकृत सुरक्षा योजनाअन्तर्गत मतगणना गरिने बताए ।
  • उनले नेपाली सेनाले मतपेटिका ओसार्ने भन्ने प्रचार गलत भएको दाबी गरे, र सुरक्षाको पूर्ण व्यवस्था मिलाइएको बताए ।
  • मन्त्री अर्यालले मतदानका लागि आवश्यक सबै सामग्री निर्वाचन क्षेत्रमा पुगिसकेको जानकारी दिए, र निर्वाचनलाई धाँधलीरहित बनाइने प्रतिबद्धता व्यक्त गरे।

काठमाडौँ । गृह मन्त्री ओमप्रकाश अर्यालले फागुन २१ को निर्वाचनमा मतदानपछि मतपेटिका एकीकृत सुरक्षा योजना अन्तर्गत नै मतदान अधिकृतको कार्यालयमा लगेर मतगणना गरिने बताएका छन् । गृहमन्त्री अर्यालले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली सेनाले मतपेटिका ओसार्ने भनेर गरिएको प्रचारबाजीमा सत्यता नभएको दाबी गरेका छन् । 

मन्त्री अर्यालले निर्वाचनको सुरक्षासम्बन्धी तयारी एकीकृत सुरक्षा योजना पारित गरेर त्यसैको आधारमा सुरक्षा सयंन्त्रहरु परिचालित गरिएको भन्दै पूर्ण रूपमा सुरक्षाको प्रबन्ध मिलाइएको बताए । ‘सबै संयन्त्रहरू मतदानस्थल पुगिसकेका छन् । जतिखेर जे आवश्यक पर्छ परिआएको अवस्थामा सुरक्षा अवस्थालाई काबुमा राख्ने, सहजीकरण गर्नेगरी देशभरि पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति दिइएको छ’, मन्त्री अर्यालको भनाइ छ । 

साथै उनले मतदानका लागि आवश्यक सबै सामाग्री सम्बन्धित निर्वाचन क्षेत्रमा पुगिसकेको पनि जानकारी गराए । 

मतदानपछि मतपत्र नेपाली सेनाले मतदान अधिकृतको कार्यालयमा पुर्‍याउने हो भनेर सोधिएको प्रश्नमा मन्त्री अर्यालले त्यस्तो नभएको बताए । ‘जनक शिक्षामा छापिएका मतपत्र निर्वाचन क्षेत्रमा रहेको अधिकृतको कार्यालयसम्म पुर्‍याएको हो’, उनले भने, ‘त्यहाँबाट मतदानस्थलमा लाने काम मतदान अधिकृतको हो । यसमा जुन खालको भाष्य बनाइयो यो गलत भयो ।’ 

उनले मतदानपछि मतपत्र रहेको बाकस गाडीमा राखेर फेरि निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने प्रस्ट पार्दै भने, ‘त्यतिखेर पनि मतदान अधिकृतले नै ल्याउने हो । त्यो गाडीमा सबभन्दा अगाडी ड्राइभर र मतदान अधिकृत बस्नुहुन्छ । त्यसपछि मतपेटिका हुन्छ । त्यसपछि प्रहरी हुन्छ । प्रहरीभन्दा पछाडि उम्मेदवारका प्रतिनिधि हुन्छन् । त्यो मतपेटिका बोकेको गाडीलाई अरु सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गाडीहरूले  र असुरक्षा भयो भने नेपाली सेनाको गाडीले समेत स्कर्टिङ गर्न सक्छ ।’ 

मन्त्री अर्यालले यो निर्वाचन पहिलाको भन्दा सुदृढ र धाँधलीरहित हुने दाबी समेत गरे । ‘यसले लोकतन्त्रको गुणस्तर पनि सुरक्षित हुन्छ र सुशासनका लागि ठुलो फड्को मार्न सहयोग गर्छ’, मन्त्री अर्यालको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप