शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
टी-२० विश्वकप

गेलको कीर्तिमान ध्वस्त, अन्य के-के बने रेकर्ड ?

बिहीबार, २१ फागुन २०८२, १० : ०५
बिहीबार, २१ फागुन २०८२

सारांश

  • न्यूजील्याण्ड टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ, दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै।
  • फिन एलनले ३३ बलमा अविजित १०० रन बनाउँदै टी-२० विश्वकपको इतिहासकै सबैभन्दा छिटो शतकको कीर्तिमान बनाए।
  • न्यूजील्याण्डले दक्षिण अफ्रिकालाई हराएर टी-२० विश्वकपमा पहिलो जित हासिल गर्‍यो र विभिन्न कीर्तिमानहरू कायम गर्यो।

कोलकाता । न्युजिल्यान्ड दोस्रो पटक टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै न्युजिल्यान्डले फाइनल यात्रा तय गरेको हो। यसअघि किवी टोली सन् २०२१ मा पहिलो पटक फाइनल पुगेको थियो।

कोलकाताको इडेन गार्डेन्स स्टेडियममा न्युजिल्यान्डका कप्तान मिचेल सान्टनरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनायो। जवाफमा न्युजिल्यान्डले १७० रनको लक्ष्य १२.५ ओभरमै मात्र १ विकेट गुमाएर सहजै पूरा गर्‍यो।

न्युजिल्यान्डका ओपनर फिन एलनले ३३ बलमै अविजित १०० रनको ऐतिहासिक पारी खेले। यो टी-२० विश्वकप इतिहासकै सबैभन्दा छिटो शतक हो। एलनले वेस्ट इन्डिजका दिग्गज ब्याटर क्रिस गेलको रेकर्ड तोडेका हुन्। गेलले सन् २०१६ मा इंग्ल्यान्डविरुद्ध ४७ बलमा शतक प्रहार गरेका थिए।

यस सेमिफाइनलमा बनेका प्रमुख रेकर्ड तथा रोचक तथ्याङ्कहरू:

  • ३३ बल: फिन एलनले शतक पूरा गर्न खेलेको बल संख्या। यो पुरुष टी-२० विश्वकपमा कीर्तिमानी सबैभन्दा छिटो शतक हो। उनले क्रिस गेलको अघिल्लो रेकर्डलाई १४ बलले पछि पारे। यो शतक समग्र टी-२० विश्वकप (पुरुष र महिला दुवै) कै सबैभन्दा छिटो शतक पनि हो। यसअघि महिलातर्फ सन् २०१० मा डियान्ड्रा डटिनले ३८ बलमा शतक बनाएकी थिइन्। न्युजिल्यान्डका लागि पनि यो सबैभन्दा छिटो टी-२० अन्तर्राष्ट्रिय शतक हो (यसअघि ग्लेन फिलिप्सले ४६ बलमा बनाएका थिए)।
  • २: टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एलनको ३३ बलको शतकभन्दा छिटो बनेका शतकहरूको संख्या। एस्टोनियाका साहिल चौहानले (२०२४ मा २७ बलमा) र टर्कीका मुहम्मद फहदले (२०२५ मा २९ बलमा) शतक प्रहार गरेका थिए।
  • पूर्ण सदस्य राष्ट्रको कीर्तिमान: पूर्ण सदस्य राष्ट्रका खेलाडीले बनाएको यो संयुक्त रूपमा सबैभन्दा छिटो शतक हो  । एलनले सिकन्दर राजाको ३३ बलकै बराबरी गरेका हुन् । साथै, पूर्ण सदस्य राष्ट्रविरुद्ध बनेको यो हालसम्मकै सबैभन्दा छिटो शतक हो । यसअघि डेभिड मिलर र रोहित शर्माले ३५ बलमा बनाएका थिए । एलनको यो इनिङ्स ३०० भन्दा बढीको स्ट्राइक रेटमा बनेका चार टी-२० अन्तर्राष्ट्रिय शतकहरूमध्ये एक हो।
  • ३: फिन एलनले टी-२० अन्तर्राष्ट्रियमा प्रहार गरेको शतक संख्या। यो कोलिन मुनरोसँगै न्युजिल्यान्डका लागि संयुक्त रूपमा सर्वाधिक हो।
  • १: पुरुष टी-२० विश्वकपको नकआउट चरणमा शतक प्रहार गर्ने एलन पहिलो ब्याटर बनेका छन्। यसअघि सन् २००९ को सेमिफाइनलमा तिलकरत्ने दिलसानले बनाएको अविजित ९६ रन नै नकआउटको उच्च स्कोर थियो।
  • १९ बल: एलनले अर्धशतक पूरा गर्न खेलेको बल संख्या। यो पुरुष टी-२० विश्वकपको नकआउट खेलमा सबैभन्दा छिटो अर्धशतक हो । यसअघि युवराज सिंहले २० बलमा अर्धशतक बनाएका थिए ।
  • १८ बाउन्ड्री र ८८ रन: एलनले आफ्नो इनिङ्समा प्रहार गरेका बाउन्ड्री (चौका/छक्का) को संख्या। पुरुष टी-२० विश्वकपको एउटै इनिङ्समा यो संयुक्त रूपमा सर्वाधिक बाउन्ड्री हो उनले ब्रेन्डन म्याकुलमको रेकर्ड बराबरी गरे । बाउन्ड्रीबाट मात्रै उनले ८८ रन जोडे, जुन क्रिस गेलसँग संयुक्त रूपमा सर्वाधिक हो।
  • २० छक्का: यस विश्वकपमा एलनले प्रहार गरेका कुल छक्का। बुधबारको ८ छक्कासहित उनले एउटै टी-२० विश्वकप संस्करणमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान बनाएका छन्  । यसअघि यसै संस्करणमा शिमरोन हेटमायरको १९ छक्काको रेकर्ड थियो।
  • ४६३ रन: यस विश्वकपमा फिन एलन र टिम साइफर्टबिचको साझेदारी रन। कुनै पनि पुरुष टी-२० सिरिज वा प्रतियोगितामा कुनै पनि जोडीले बनाएको यो सर्वाधिक रन हो। यो जोडीले बुधबार टी-२० अन्तर्राष्ट्रियमा १००० साझेदारी रन पनि पूरा गरेको छ।
  • १: पुरुष टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्डको यो पहिलो जित हो। यसअघिका ५ वटै भेटमा न्युजिल्यान्ड पराजित भएको थियो। यद्यपि, आईसीसीका नकआउट खेलहरूमा भने न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई लगातार चौथोपटक हराएको छ।
  • १३.४८: लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डको रन रेट। पुरुष टी-२० विश्वकपमा १५० भन्दा बढीको लक्ष्य पछ्याउँदा यो दोस्रो उच्च रन रेट हो।
  • ८४/०: पावरप्लेमा न्युजिल्यान्डको स्कोर। यो टी-२० विश्वकपमा न्युजिल्यान्डको उच्च र नकआउट इतिहासकै सबैभन्दा ठूलो पावरप्ले स्कोर हो।
  • ५५ रन: मार्को यानसेनले ७ औं वा त्यसभन्दा तलको क्रममा ब्याटिङ गर्दै बनाएको रन। टी-२० अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिकाका लागि यो संयुक्त रूपमा सर्वाधिक हो। उनले ट्रिस्टन स्टब्ससँग छैटौं विकेटका लागि ७३ रनको कीर्तिमानी साझेदारी गरे।
  • २: सन् २०२४ र २०२६ को टी-२० विश्वकप संस्करणमा दक्षिण अफ्रिकाले हारेका खेल संख्या। २०२४ मा लगातार ८ खेल जितेर फाइनलमा हारेको दक्षिण अफ्रिका २०२६ मा लगातार ७ खेल जितेर सेमिफाइनलमा पराजित भयो। सन् २०२१ पछि पहिले ब्याटिङ गर्दा दक्षिण अफ्रिकाको यो पहिलो हार हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप