शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
सुर्खेत–१

भाइले जोगाए पूर्णबहादुरको विरासत

दाइकै प्रतिस्पर्धीलाई ८ हजार मतान्तरले हराए विष्णुले
शनिबार, २३ फागुन २०८२, १९ : ३५
शनिबार, २३ फागुन २०८२

सुर्खेत । पूर्णबहादुर खड्काले चुनावी मैदान छाड्दा यो पटक सबैले लख काटेका थिए, सुर्खेत–१ का अब कांग्रेसको विरासत भत्किन्छ । 

तर उनका साइँला भाइ विष्णुबहादुर खड्काले दाजुको विरासत भत्कन दिएनन् । शनिबार सम्पन्न मतगणना अनुसार विष्णुले ८ हजार मतान्तरले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवकुमार शाहीलाई पराजित गरे । खड्काले २६ हजार ८९५ मत पाउँदा एमालेका शाहीले १८ हजार ८९० मत पाए । 

रास्वपाका टेकबहादुर सिंहले १४ हजार ७२९ मत पाए, नेकपा चौथो स्थामा सीमित रह्यो । विष्णुले आकलन गरिए भन्दा निकै सहज तरिकाले चुनाव जिते । विष्णु यातायात व्यवसायी हुन् । वीरेन्द्रनगरको माया नर्सिङका सञ्चालक समेत रहेका उनको पेट्रोल पम्प पनि छ । 

व्यवसायमा भिजेका विष्णुलाई एक कारण पनि चुनावी मैदानमा चुनौती छ भनिएको थियो । एकातर्फ विशेष महाधिवेशनपछि आफ्ना दाइ पूर्णबहादुरले कांग्रेस आधिकारिकताको विषय लिएर अदालत गएका थिए । 
पूर्णबहादुरले यो क्षेत्रमा ०४८ सालदेखि चुनाव लड्दै आएका थिए । सानादेखि ठुला सबैजसो मन्त्रालयको नेतृत्व गरिसकेका खड्कालाई गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहकको जिम्मा दिए । साथै, कांग्रेसको भावी सभापति भनेर पनि खड्कालाई नै चर्चा गरिएको थियो । खड्कानिकट नेताहरूका अनुसार देउवाले नै खड्कालाई भावी सभापतिका रूपमा अघि बढाइरहेका थिए । 

यदि नियमित महाधिवेशन हुन्थ्यो भने खड्का सभापतिका प्रमुख दाबेदार हुन्थे । सोहीअनुसार खड्का पक्षले विशेष महाधिवेशन रोक्न हरप्रयास गर्‍यो । १० जिल्ला रहेको कर्णालीका ९ जिल्ला सभापतिहरू त विज्ञप्ति नै जारी गरेर विशेष महाधिवेशनविरुद्ध उभिए । 

कर्णालीका अधिकांश महाधिवेशन प्रतिनिधिसमेत खड्का पक्षमै उभिएर खड्काको निर्णयमा एकताबद्ध रहेको सन्देश पनि दिए । तर तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतले पुस अन्तिम साता विशेष महाधिवेशन गराए । 

उक्त विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति बने । पूर्णबहादुर खड्का आधिकारिकताको कुरा लिएर निर्वाचन आयोग पुगे, आयोगले विशेष महाधिवेशनकै पक्षमा निर्णय गरेपछि खड्का सर्वोच्च अदालत पुगे । मुद्दा विचाराधीन भएपछि खड्काले चुनाव नै नलड्ने निर्णय गरे । 

‘माघ २ गते कांग्रेस पार्टीको सम्बन्धमा निर्वाचन आयोगले गरेको संविधान, राजनीतिक दलसम्बन्धी ऐन र कांग्रेसको विधानविपरीत गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा न्यायका लागि माघ ४ गते म स्वयंसमेतले मुद्दा दर्ता गरेको र अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने मेरो दाबी हो,’ उनले सामाजिक सञ्जालमै भनेका छन्, ‘यस्तो अवस्थामा निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकटबाट उम्मेदवार हुनु मेरो जीवनभरिको राजनीतिक मूल्यमान्यता र नैतिकताको अडानको प्रतिकूल हुन्छ ।’ 

त्यसैले पार्टीका साथीहरू र आम मतदाताको माया, भरोसा र विश्वास हुँदाहुँदै पनि यसपटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नउठ्ने निर्णय गरेको उनले भनेका थिए । ०४८ सालदेखि सुर्खेत–१ मा चुनाव लड्दै आएका खड्कालाई यो पटक पनि कांग्रेस सुर्खेतले उम्मेदवारका लागि एकल रूपमा उम्मेदवार सिफारिस गरेको थियो । यो पनि भनिएको थियो, अबको पार्टी सभापति र प्रधानमन्त्रीको दाबेदार उहाँ नै हुनुहुन्छ । सोही सन्देश दिन पनि खड्कालाई एकल रूपमा सिफारिस गरिएको एक नेता बताउँछन् । 

‘सबै हिसाबले उहाँ नै पार्टीको भावी सभापति र प्रधानमन्त्री बन्ने नेता हुनुहुन्थ्यो,’ सुर्खेतका एक नेता भन्छन्, ‘तर बिचमा अर्को पक्षले जबर्जस्त विशेष महाधिवेशन गरिदियो, योजनाहरू चक्नाचुर भए ।’ खड्काले चुनावी मैदान छाडे तर उनकै भाइ विष्णुकुमार खड्का भने उनै गगन थापाको हस्ताक्षर भएको टिकट ल्याएर सुर्खेत–१ बाट उम्मेदवार बने । कतिपयले नैतिक प्रश्न पनि उठाए–दाइ गगनलाई सभापति मान्दैन भनेर अदालत जाने, भाइ उसैको हस्ताक्षरको टिकट ल्याउने । 

उम्मेदवारी दर्ताको दिन अन्तिम समयमा विष्णुले टिकट ल्याएका थिए । 

यी चुनौती एकातिर त छँदै थिए, अर्कातिर कांग्रेसकै पूर्वजिल्ला उपसभापति टेकबहादुर सिंह रास्वपाबाट चुनावी मैदानमा थिए । साथै, आफ्नै दाइसँग प्रतिस्पर्धा गर्दै आएका एमालेका अनुभवी नेता ध्रुवकुमार शाही पनि मैदानमा थिए । यसमा बाबजुद पनि विष्णुले चुनाव आफ्नो पक्षमा ल्याउन सफल बने । 

उसो त उनी हरेकजसो चुनावी अभियानका क्रममा दाइ पूर्णबहादुरको रणनीतिकार पनि हुन् । सबैतिर चिनिएका विष्णु पार्टीको सुर्खेत जिल्ला उपसभापति हुन् । कांग्रेसका नेताहरूका अनुसार पूर्णबहादुर केन्द्रीय राजनीतिमा व्यस्त रहँदा तलको ग्राउन्ड सबै विष्णुले नै सम्हाल्दै आएका थिए । 

उक्त क्षेत्रमा कोही मान्छेको मृत्यु हुँदा होस् वा ठुलो दुर्घटनाका घटनामा विष्णुको उपस्थिति हुन्थ्यो । वीरेन्द्रनगरमा आफ्नै निजी अस्पताल भएकाले कतिपय आर्थिक अवस्था कमजोर भएकाहरुका लागि विष्णुले नै सहज रुपमा उपचार गरिदिने जस्ता सेवामूलक कार्यमा संलग्न थिए । त्यसैको परिणाम चुनाव उनको पक्षमा आएको उनलाई नजिकबाट बुझ्नेहरू बताउँछन् । अर्को रोचक भनेको विष्णुले आफ्नै दाइका प्रतिस्पर्धीलाई पराजित गरे । पराजित भएका एमालेका ध्रुवकुमार शाही अघिल्लो पटक (०७९) मा पूर्णसँगै पराजित भएका थिए । ०७४ मा ध्रुवले पूर्णलाई हराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप