प्रत्यक्ष निर्वाचित ३० वर्ष मुनिका यी ८ सांसद
सारांश
- प्रतिनिधि सभा निर्वाचनमा युवा पुस्ताको उल्लेख्य सहभागिता रह्यो, जसमा ३० वर्ष मुनिका ८ जना युवा प्रत्यक्ष निर्वाचित भए।
- निर्वाचित युवाहरूमा रास्वपाका ७ जना र श्रम संस्कृति पार्टीका १ जना रहेका छन्, जसले विभिन्न क्षेत्रबाट जित हासिल गरे।
- प्रशान्त उप्रेती, केपी खनाल, सस्मित पोखरेल, निशा डाँगी, सुलभ खरेल, मनिष खनाल, बब्लु गुप्ता र आरेन राई निर्वाचित भए।
काठमाडौँ । जेनजी आन्दोलनकै जगमा बनेको अन्तरिम सरकारले प्रतिनिधि सभा निर्वाचन लगभग सम्पन्न गरेको छ । केही स्थानबाहेक अधिकांशको प्रत्यक्षतर्फको नतिजा आइसकेको छ । समानुपातिक मतगणना पनि धमाधम भइरहेको छ ।
यो निर्वाचनले युवा पुस्तालाई ख्यामा संसदमा प्रत्यक्ष निर्वाचित गरेर पठाएको छ । फागुन २१ गते भएको निर्वाचनमा ३० वर्ष मुनिका ८ जना युवाहरु प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । निर्वाचित हुने ८ जनामध्ये ७ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रहेका छन् भने एक जना हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका तर्फबाट निर्वाचित भएका हुन् ।
निर्वाचित हुनेहरुमा रास्वपाका २५ वर्षिय प्रशान्त उप्रेती, २६ वर्षिय केपी खनाल र मनिष खनाल, २८ वर्षीय बब्लु गुप्ता, सुलभ पोखरेल, सस्मित पोखरेल रहेका छन् । यस्तै २९ वर्षिया निशा डाँगी पनि निर्वाचित भएका छन् ।
त्यस्तै श्रम संस्कृति पार्टीका २९ वर्षिय आरेन राई खोटाङ–१ बाट निर्वाचित भएका छन् । चुनावी परिणाम अनुसार झापा–१ बाट निशा डाँगीले ४५ हजार ६८० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत मात्र प्राप्त गरे । नवलपुर–२ बाट निर्वाचित मनिष खनालले ४१ हजार ३४७ मत ल्याउँदा एमालेका तीलबहादुर महत क्षेत्री १५ हजार ७५५ मतमा खुम्चिए ।
त्यसैगरी बब्लु गुप्ता सिराहा–१ बाट ४१ हजार ३२२ मतसहित विजयी भए भने सस्मित पोखरेलले काठमाडौं–५ बाट ३० हजार ७३७ मत प्राप्त गरे । मकवानपुर–२ मा ३० हजार ५० मतसहित प्रशान्त उप्रेती र कैलाली–२ मा २० हजार ५७ मतसहित केपी खनाल निर्वाचित भए । रूपन्देही–२ मा रास्वपाका सुलभ खरेलले एमालेका प्रभावशाली नेता विष्णु पौडेललाई ४३ हजार ६८९ को भारी मतान्तरले पराजित गरे । खरेलले ५६ हजार ५५० मत पाउँदा पौडेलले १२ हजार ८६१ मत मात्रै पाए । खोटाङबाट श्रम संस्कृतिका आरेन राई १६ हजार ६१२ मतसहित विजयी भए
प्रशान्त उप्रेती
२०५७ जेठ १० मा मकवानपुरमा जन्मिएका प्रशान्त उप्रेती पेसाले पर्यटन उद्यमी हुन् । उनी यो निर्वाचनमा प्रत्यक्ष तर्फ जित्ने सबैभन्दा कान्छो सांसद हुन् । पर्यटन व्यवस्थापनमा स्नातक गरेका उप्रेती हाल काठमाडौं विश्वविद्यालयमा नेतृत्व तथा व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका छन् । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको सचिवालय सदस्य भूपदेव शाह निकट मानिन्छन् । छोरा राजनीतिमा होमिएपछि उनका पिता रामचन्द्र उप्रेतीले समेत एमाले परित्याग गरी उनलाई सघाएका थिए ।
केपी खनाल
केपी खनाल सामाजिक अभियन्ताका रूपमा देशव्यापी परिचित नाम हो । २०५६ सालमा अछामको रामारोशन गाउँपालिकामा जन्मिएका खनाललाई विशेष गरी सरसफाइ अभियन्ताका रूपमा चिनिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कैलाली–२ बाट निर्वाचित भएका खनाललाई सो पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको निकट पात्र मानिन्छ । ’म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नारासहित ’क्लिन काष्ठमण्डप’ अभियानमार्फत उनले काठमाडौँमा सरसफाइको लहर चलाएका थिए । ७ कक्षामा पढ्दै गर्दा स्थानीय रेडियोमा काम सुरु गरेका खनाल १७ वर्षको उमेरदेखि नै सामाजिक कार्यमा सक्रिय उनकै अगुवाइमा बाजुरामा अनाथ बालबालिकाका लागि बालगृह निर्माण गरिएको छ ।
सस्मित पोखरेल
काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित २९ वर्षीय सस्मित पोखरेल कानुनमा स्नातक र वैकल्पिक राजनीतिका प्रखर अभियन्ता हुन् । २०५२ सालमा जन्मेका पोखरेलले प्लस टू सम्मको अध्ययन अमेरिकामा गरेका थिए भने नेपाल फर्किएर काठमाडौं विश्वविद्यालयबाट बीएएलएलबी पूरा गरे । २०७२ को भूकम्पमा राहत संकलनमा सक्रिय उनी विवेकशील अभियानमार्फत राजनीतिमा जोडिएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको टिममा रहेर उनले शिक्षा सहायक विज्ञको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरे । सामुदायिक विद्यालयमा छात्रवृत्ति वितरण, ’बुक फ्री फ्राइडे’ र स्मार्ट बोर्ड जस्ता कार्यक्रमको कार्यान्वयनमा उनको नेतृत्वदायी भूमिका रहेको थियो । स्थानीय तहको अनुभवलाई राष्ट्रिय नीति निर्माणमा लैजाने उद्देश्यका साथ उनी संसदमा प्रवेश गरेका हुन् ।
निशा डाँगी
झापा क्षेत्र नम्बर १ बाट भारी मतका साथ निर्वाचित २९ वर्षीया निशा डाँगी यसअघि २०७९ को संसदमा समानुपातिक सांसदका रूपमा रहेकी थिइन् । २०५३ सालमा झापाको भद्रपुरमा जन्मिएकी उनले सामाजिक कार्यमा स्नातक र पत्रकारितामा स्नातकोत्तर गरेकी छन् । राजनीतिमा आउनुअघि करिब पाँच वर्ष पत्रकारितामा सक्रिय रहेकी डाँगीले अघिल्लो संसदमा ’जेनजी’ पुस्ताका माग र मुद्दाहरूलाई जोडदार रूपमा उठाएर चर्चा कमाएकी थिइन् । रास्वपाको सचेतकको जिम्मेवारी समेत सम्हालिसकेकी उनी यसपटक प्रत्यक्ष निर्वाचित भएर आएकी हुन् । उनलाई झापामा युवा पुस्ताको सशक्त आवाज र नयाँ राजनीतिक संस्कारको संवाहकका रूपमा हेरिएको छ ।
सुलभ खरेल
रूपन्देही–२ मा प्रभावशाली नेता विष्णु पौडेललाई पराजित गरेर चर्चामा आएका २६ वर्षीय सुलभ खरेल पेसाले अधिवक्ता हुन् । बुटवल–१६ का स्थायी बासिन्दा उनले नेपाल ल क्याम्पसबाट बीएएलएलबी गरी संवैधानिक कानुनमा अमेरिकाबाट स्नातकोत्तर गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध रिट दायर गर्ने सबैभन्दा कान्छो निवेदकका रूपमा उनी चिनिएका थिए । रास्वपा सभापति रवि लामिछानेलाई कानुनी परामर्श दिँदै आएका खरेल कतिपय विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आए पनि उनले आफूमाथिका आरोपलाई झुटो दाबी गर्दै आएका छन् । भ्रष्टाचार विरुद्धको कडा अभियान र कानुनी राज्यको वकालत गर्ने उनले पहिलो प्रयासमै संसदको यात्रा तय गरेका हुन् ।
मनिष खनाल
नवलपुर क्षेत्र नम्बर–२ बाट निर्वाचित २६ वर्षीय मनिष खनाल विवेकशील नेपाली दलबाट राजनीतिक यात्रा सुरु गरेका युवा हुन् । २०५६ असारमा जन्मिएका खनालले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन् । सामाजिक र राजनीतिक न्यायका लागि सडक आन्दोलनमा सक्रिय रहँदै आएका उनी रास्वपा सांसद असिम शाहको स्वकीय सचिवका रूपमा समेत काम गरिसकेका छन् । २०७६ सालमा विवेकशीलको कान्छो केन्द्रीय सदस्य बनेका उनले कानुनको विद्यार्थी भएकाले सदनमा कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने योजना बनाएका छन् । जेनजी विद्रोहको भावना, पारदर्शिता र जवाफदेहितालाई उनले आफ्नो मुख्य राजनीतिक मुद्दा बनाएका छन् ।
बब्लु गुप्ता
सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित २८ वर्षीय बब्लु गुप्ता लहानका स्थायी बासिन्दा हुन् । स्नातक तहसम्मको अध्ययन पूरा गरेका गुप्ता विद्यार्थी जीवनदेखि नै सामाजिक सेवामा समर्पित छन् । द हन्ड्रेड अभियान चलाएका उनले विशेष गरी वैदेशिक रोजगारीमा ठगिएकाहरूलाई सहयोग गर्ने र कोभिड–१९ को समयमा निःशुल्क खाना अभियान चलाएर चर्चामा आएका थिए । जेनजी आन्दोलनको क्रममा उनी युवा तथा खेलकुद मन्त्री समेत बनेका थिए । छोटो कार्यकालमै उनले लहानको अस्पतालको जग्गा नामसारी र कमला पुल पुनर्निर्माणका लागि पहल गरेका थिए ।
आरेन राई
खोटाङ–१ बाट निर्वाचित २९ वर्षीय आरेन राई श्रम संस्कृति पार्टीका प्रभावशाली युवा नेता हुन् । २०५३ सालमा जन्मिएका राईले स्नातक तहसम्मको अध्ययन गरेका छन् । २०६८ सालमा माओवादीबाट राजनीतिक यात्रा सुरु गरेका उनी मंगोल नेसनल अर्गनाइजेसन हुँदै हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा जोडिएका हुन् । उनी कुनै समय यो देश मुलबासी मंगोलहरुको मात्रै हो भन्दै बाहुन क्षेत्री लखेट्नुपर्ने अभिव्यक्ति दिँदा विवादमा आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण