नेता र जनताका लागि दिव्य नवव्रत
सारांश
- लेखले निर्वाचन र नेतृत्वको आचरणबारे चर्चा गर्दै दिव्य नवव्रतको महत्त्वलाई जोड दिएको छ।
- निर्वाचनले जनमतको अपेक्षा र नेतृत्वको जिम्मेवारीबारे प्रश्न उठाउँदै, सत्यता, स्वाध्याय, र सेवाभावजस्ता पक्षलाई जोड दिएको छ।
- लेखले युवा पुस्ताको उत्साह, भ्रष्टाचार नियन्त्रण, र राष्ट्रिय समृद्धिको चाहनालाई ध्यान दिँदै नेतृत्वको भूमिकाबारे प्रकाश पारेको छ।
व्रत भन्नासाथ निराहार वा फलाहार गरेर गरिने उपासना हो कि भन्ने लाग्न सक्छ । यहाँ व्रतको अर्थ आचरणको रूपमा लिइएको छ । दिव्य नवव्रतको विषयमा चर्चा गर्नुअघि सन्दर्भ निकालौँ, बहुदलीय व्यवस्थामा आम निर्वाचनको ।
हरेक आम निर्वाचनले एक बृहत् प्रश्नको उत्तर दिन्छ । कहिलेकाहीँ धेरै जनालाई एउटै प्रश्न सोधिन्छ । कहिले धेरै प्रश्न एकै जनालाई सोधिन्छ । एउटै प्रश्न धेरैलाई सोधिने भनेको जनमत सङ्ग्रह र आम निर्वाचनमा हो । आम निर्वाचनमा बाहिर देख्दा प्रश्न एउटा भए पनि उत्तरमा धेरै आयामहरू लुकेका हुन्छन् ।
यसैगरी एक व्यक्तिलाई धेरै प्रश्न सोध्ने काम विभिन्न समयमा हुने राष्ट्रिय सर्भे वा गणनाहरूमा गरिन्छ । यसरी सोधिएका प्रश्नहरूबाट भावी दिशा तय गर्न लिइनुपर्ने कदमको बारेमा उत्तर आएको हुन्छ । जनहितको काम गर्न सरकारहरू बन्ने गर्छन् ।
- नेपालमा प्रश्न र उत्तरको शृङ्खला
वि.सं. २०३७ सालमा बहुदल वा निर्दल भन्ने प्रश्नमा नागरिकले निर्दलको पक्षमा मत दिए । त्यसमा आफ्नो आवाज मुखरित हुन नपाएकाले जनतालाई चित्त बुझेन । बिना प्रश्नको उत्तरस्वरूप आन्दोलन भयो र ०४७ मा बहुदलीय व्यवस्था आयो । यसपछि जनताको मत धेरै नेता र दलहरूले पाए । मत जाहेरको आशय थियो, देशमा चौतर्फी क्षमताको अभिवृद्धि होस् र सम्पन्नशाली देशका नागरिक बन्न सकियोस् । यस अपेक्षाको प्राप्तिमा नागरिकलाई चित्त बुझेको पाइएन ।
भर्खरै फागुन २१ मा नेपालमा आम निर्वाचन सम्पन्न भयो । त्यसमा खासगरी अबको पाँच वर्षका लागि सरकारमा रहने दल र प्रतिनिधि को हुने भन्ने उत्तर दिने काम सकिएको छ । नेपाल र नेपालीको भलो गर्ला कि भन्ने अपेक्षा रहेको दल र उम्मेदवारले नागरिकबाट भारी मत पाएका छन् ।
जनमतको अपेक्षा के हो ?
अब नयाँ दल र नेताहरूलाई निर्धक्क हिसाबले काम गर्ने अवसर मिलेको छ । यसअघि अरूले चलाए, अब तिमीहरूको पालो आयो लौ खाऊ, भनेर मत आएको पक्कै होइन । यस कुराप्रति सजग नभए नेताले प्रश्न नगरे पनि आन्दोलनको रूपमा उत्तर आउन सक्छ । गएको भाद्र २३ र २४ मा भएको जेनजीको आन्दोलनको मूल सवाल देशमा भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारीको सिर्जना र राष्ट्रिय समृद्धिको चाहना हो । त्यसैले यसपटकको चुनावमा युवा वर्गले बढी उत्साह देखाएका छन् । आफूले मत पाउनुको कारण निर्वाचित दलले बुझेको हुनुपर्छ ।
हाम्रा ऋषिहरूले व्यक्तिले गर्नुपर्ने कर्तव्य र जिम्मेवारीलाई निर्वाह गर्न आचरणको व्यवस्था गरे । त्यसमध्ये नेतृत्वले गर्नुपर्ने कामलाई राजनीतिक आचरणका रूपमा लिए । आजकल धेरै आध्यात्मिक र मनोवैज्ञानिक संस्थाहरूले विभिन्न पेसा र व्यवसायीको आचरण कस्तो हुनुपर्छ भन्ने कुरालाई उजागर गर्दै आएका छन् । जीवन विज्ञान प्रतिष्ठानले यसलाई दिव्य नवव्रतहरूका रूपमा प्रस्तुत गरेको छ । अबको नेतृत्वले यसलाई पालना गरेर जनमतको सदुपयोग र राष्ट्रिय समृद्धि हुने कुरामा दुई मत हुनेछैन ।
दिव्य नवव्रतका विषयहरू
१) सत्यता : सबैलाई ढाँटेको होइन, सत्य कुरा मन पर्छ । यद्यपि ढाँट्ने मान्छेलाई समेत असत्य बोलेकोमा मनमनै पश्चात्ताप भइरहन्छ । त्यसमाथि युवा वर्गले सोझो वा निष्कपटपन मात्र सहन सक्छन् । अहिले झन्डै दुई तिहाइ मत ल्याएको दलले आफ्नो वाचापत्रलाई सत्य साबित गर्नेछ । बोली र व्यवहारमा फरक आउन दिनुभएन । सबै नेताहरू आ–आफ्ना जिम्मेवारीलाई सत्यतापूर्वक निर्वाह गर्दै छन् भन्नेमा आम नागरिक विश्वस्त बन्ने वातावरण हुनुपर्छ ।
२) स्वाध्याय : पहिला स्वाध्याय भनेको गुरुकुलमा नगई घरैमा बसेर अध्ययन गरिने बुझिन्थ्यो । यसको अर्थ त्यति सङ्कुचित रहेनछ । यसको मूल मर्म आफ्नै भाव र विचारलगायत स्वकार्यको मूल्याङ्कन आफैँ गर्नुपर्ने रहेछ । म किन यहाँ आएँ ? मेरो काम के हो र के गरिरहेको छु, मतदाताको अपेक्षा के हो त्यसको हेक्का राख्नैपर्छ । पूर्ण यस्तै कुराको मूल्याङ्कन नै स्वाध्याय हो । पहिला आफैँले आफैँलाई नबुझे अरूलाई चिन्ने आधार बन्न सक्दैन ।
३) निरहङ्कारिता : मान्छेलाई निरङ्कुश हुनबाट बचाउने एक मात्र माध्यम निरहङ्कारिता हो । मैले जति कसैले जानेको छैन, मलाई सबैले मान्नुपर्छ भन्ने दम्भ र हुङ्कारले नेता, जनता कसैलाई पनि मान्छे बन्न दिँदैन । अबको नेतृत्व प्रत्येक भाव, विचार र कर्ममा सजग भएर सतत विचारमा रहनुपर्ने हुन्छ । बोली र व्यवहारको तालमेललाई नागरिकले कसीमा घोट्दा सही ठहरिनुपर्छ । राजनेताले भोलि बोल्न सक्ने बाटो नै निरहङ्कारिता हो ।
४) क्षमाशीलता : चुनावअघि प्रतिस्पर्धाको स्थितिमा आफू सक्षम र अरू असक्षम देखाउने प्रयासले सम्बन्ध खल्बलिएको हुन सक्छ । अब जसले बहुमत पाएर सरकार चलाए पनि सबैको सरकार त्यही हो । यसमा एकले अर्काप्रति सम्यक् भाव राखेर मात्र आफूलाई टिकाउन सकिन्छ । यतिबेला तेहोरो क्षमाशीलता आवश्यक पर्छ । एक दलले अर्को दललाई, नेताले जनता र जनताले नेतालाई क्षमा दिन सक्नुपर्छ ।
५) सर्वकल्याण भाव : आम निर्वाचनमा मताधिकारको प्रयोग गर्न सबैले पाएका हुँदैनन् । स्थान, परिवेश, अवस्था आदि धेरै कुराले तालमेल मिलेको वा नमिलेको हुन सक्छ । चुनावको पद्धतिअनुसार एक दलले सरकार चलाउने जनादेश पाएपछि सबै क्षेत्र, वर्ग र लिङ्गले मेरो सरकार हो भन्न सक्ने वातावरण हुनुपर्छ । खासगरी नेताहरूको हरेक विषय र समयमा सर्वकल्याणको सोच एवं व्यवहार हुनुपर्छ । भेदभावको गन्ध आएमा अर्को पटकको बाटो बन्दप्रायः हुन्छ ।
६) सेवा भाव : राजनीतिक नेतालाई शुक्लयजुर्वेदले मर्मवेत्ता भनेको पाइन्छ । मर्मवेत्ता भनेको आम नागरिकको मर्म बुझ्ने नै हो । नागरिकको अवस्था के छ ? कति गर्न सकिन्छ ? कस्तो अवस्थामा समानता र समताको आवश्यकता छ, जानकारी हुनुपर्छ । नागरिकले आफूलाई जिम्मा दिएको काम गरिरहँदा देशको क्षमताले भ्याएसम्म प्रयास गरेको हुनुपर्छ । जनताको सुख र खुसीमा आफ्नो सफलता देख्नुपर्छ ।
७) मधुर वाणी : नागरिकले चाहेजस्तो गर्नका लागि भौगोलिक, आर्थिक, सामाजिक, व्यावहारिक आदिले प्रभाव पारेको हुन सक्छ । तर गर्न नसकिनुको कारणलाई राम्रो वचनले भन्न र चित्त बुझाउन सक्नुपर्छ । बोलीमा मिठास, सकारात्मक र सम्मानको भाव हुनुपर्छ । सबै नागरिकलाई जगाउने सम्यक् अभिव्यक्ति दिनुपर्छ । नेतृत्वको बल मीठो र मधुर वाणीमा हुन्छ ।
८) लक्ष्यसँग एकाकार : नेतृत्वमा रहने व्यक्तिको लक्ष्य देश र जनताको हितलाई केन्द्रबिन्दुमा राख्नु हो । देश र जनताको अवस्था के छ भन्ने कुरा पटक–पटकका राष्ट्रिय गणनाहरूले देखाएका हुन्छन् । त्यसलाई आधार मानेर राष्ट्रिय योजना आयोगले लक्ष्य र उद्देश्य निर्धारण गरेको हुन्छ । अहिले नेपालमा सोह्रौँ पञ्चवर्षीय योजना चलिरहेको छ । विषयविज्ञको सल्लाह र सुझावबाट कार्यसम्पादनमा सफलता र अनुशासनलाई सँगै हिँडाउन सकिन्छ । राष्ट्रिय लक्ष्य र उद्देश्यलाई नेतृत्वले एकाकार गर्ने नीति ल्याउनुपर्छ ।
९) मुमुक्षा : एउटा आध्यात्मिक जागरणमा लागेको व्यक्तिको प्राथमिकता आफ्नै मुक्ति र मोक्षको बाटो प्राथमिकतामा रहन्छ । व्यक्तिका लागि एक जना गुरुको मार्गदर्शन प्रमुख रहला । तर राजनैतिक नेतृत्वको देश र जनता गुरु भएको हुँदा यसैमा निष्ठा, भक्ति र समर्पण हुनुपर्छ । देश र नागरिकको सुखलाई प्राथमिकतामा राखेर दुःखबाट मुक्ति दिलाउने महान् कार्यको अवसर पाउनु ईश्वरको कृपा हो ।
अन्त्यमा, पहिलाका नेता अर्थात् सरकारले केही काम गरेनन् भन्ने पटक्कै होइन । हालसम्ममा काम गर्ने धरातलीय जग खडा भएको छ । आवश्यकता र उपलब्धिको तालमेल हुन नसकेको मात्र हो । अबको नेतृत्वको बाटो सत्यपूर्ण व्यवहार र निरहङ्कारिता हो । देशको चौतर्फी विकासको लागि सबै उमेर समूहका नागरिक स्वतः जागृत हुने वातावरण बनाउन सक्नुपर्छ । आफ्नो कामको मूल्याङ्कन आफैँ गरेर सर्वकल्याणका लागि सेवाभावले काम गर्ने हो भने नागरिकलाई चित्त नबुझ्ने हुँदैन ।
बोलीवचन मीठो र मधुरो हुनु सबै मनुष्यको आन्तरिक गहना हो । त्यसमाथि सार्वजनिक पद धारण गरेका व्यक्तिलाई यो बाह्य गहना समेत बन्न जान्छ । हरेक पटकका आन्दोलनपश्चात् भएका आम निर्वाचनमा जनताले आफ्नो मत फेर्ने गरेका छन् । यसपटक पनि जनताले आफ्नो अभिमत त्यसैगरी दिएका छन् । यसका लागि सबै नेताहरूले दिव्य नवव्रतको पालना गरेर देश, नागरिक र नेतृत्वको हितमा काम गरेर मतको कदर गर्नुपर्ने देखिन्छ ।
सबैको जय होस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण