चिनियाँ राष्ट्रपतिको किताब जलाएको भिडियोबारे चीनको चासो
सारांश
- विराटनगरस्थित मनमोहन टेक्निकल कलेजमा चिनियाँ राष्ट्रपतिको पुस्तक जलाइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
- भिडियोबारे चीनले चासो व्यक्त गर्दै नेपाल सरकारसँग सोधखोज गरेको छ र कारबाहीको माग गरेको छ।
- कलेजका अनुसार, फोहोर जलाउने क्रममा केही पुराना कागजपत्र र धमिरा लागेका पुस्तक जलेका थिए।
काठमाडौँ । मोरङको विराटनगरस्थित मनमोहन टेक्निकल कलेज परिसरमा चिनियाँ राष्ट्रपति सी जीनपिङले लेखेको पुस्तक जलाइएको भनेर केही दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ ।
पुस्तक जलाएको भनेर प्रचार गरिएको उक्त भिडियोलाई लिएर चीनले समेत चासो देखाएको छ । भिडियो भाइरल भएपछि नेपालस्थित चिनियाँ दूतावासले त्यसबारे परराष्ट्र मन्त्रालयमार्फत सोधखोज गरेर चासो देखाएको हो ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीनले दूतावासमार्फत उक्त भिडियोबारे सोधिखोजी गर्दै उक्त भिडियो सत्य भए कारबाही गर्न माग गरेको छ । ‘पुस्तक किन जलाइयो र कसले जलायो भनेर दूतावासले अनौपचारिक रूपमा सोधखोज गरेको छ’,परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने,‘त्यसबारे छानबिन गर्नुपर्ने भनेर चीनले चासो देखाएको हो ।’
एमाले नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नाममा खोलिएको उक्त कलेजमा चिनियाँ राष्ट्रपति सीले लेखेका पुस्तक एक हजार भन्दा बढी रहेका छन् ।
यद्यपि कोशी प्रदेशका एमाले नेता विनोद ढकाल चिनियाँ राष्ट्रपति सीद्वारा लिखित पुस्तक नियतवश जलाएको भनेर गरिएको प्रचारमा सत्य नभएको बताउँछन् ।
‘भिडियो भाइरल भएपछि मैले क्याम्पस प्रशासनसँग पनि बुझेँ, तर वास्तविकता अर्कै रहेको पाएँ’, ढकालले रातोपाटीसँग भने, ‘त्यहाँ बुझ्दा क्याम्पस परिसरभित्र रहेको फोहोर र झाँडी सफा गर्ने क्रममा क्याम्पसका काम नलाग्ने कागजपत्र र पुराना पत्रिकाहरू जलाएको रहेछ ।’
नेता ढकालले त्यही क्रममा धमिराले खाएर पढ्न नमिल्ने केही पुस्तकहरू पनि जलेका रहेको आफूले सोधखोज गर्दा जानकारी पाएको बताए ।
‘फोहोर डढाउने क्रममा धमिराले खाएर पढ्न नमिल्ने केही किताबहरू जलेका रहेछन् । यद्यपि किताब नजलाएको भए हुने थियो । त्यसमा असावधानी भए पनि नियतवश सीका पुस्तक जलाइएको होइन ।’
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालले शुक्रबार उक्त कलेजमा भिडभाड बढेपछि प्रहरीले सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा दिएको बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले उक्त घटना र भिडियोबारे कलेज प्रशासनसँग लिखित जानकारी मागिएको बताए ।
‘घटनाबारे के हो भनेर हामीले कलेजसँग लिखित जवाफ मागेका छौ’, प्रमुख जिल्ला अधिकारी कट्टेलले भने, ‘जवाफ आएपछि के हो ? घटनाबारे थाहा हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण