गोप्य भुक्तानी प्रकरण: चेल्सीले के गल्ती गर्यो ? ठूलो सजायबाट किन बच्यो ?
सारांश
- चेल्सीलाई खेलाडी किनबेचमा प्रतिबन्ध र १०.७५ मिलियन पाउन्ड जरिवाना लगाइएको छ, तर क्लबले गल्ती स्वीकारेकाले ठुलो सजायबाट जोगिएको छ।
- क्लबले सन् २०११ देखि २०१८ सम्म गोप्य रूपमा खेलाडी अनुबन्धका लागि रकम भुक्तानी गरेको र पूर्व मालिक अब्रामोभिचको संलग्नता रहेको पाइएको छ।
- चेल्सीले छानबिनमा सहयोग गरेकाले जरिवाना कम भएको हो, तर आगामी दिनमा यस्तै गल्ती दोहोरिएमा प्रतिबन्ध लाग्न सक्नेछ।
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीलाई लिग इतिहासकै सबैभन्दा ठुलो, अर्थात् १०.७५ मिलियन पाउन्ड जरिवाना र हाललाई स्थगित गरिएको खेलाडी किनबेच प्रतिबन्धको सजाय सुनाइएको छ । सन् २०११ देखि २०१८ को बीचमा क्लबले दर्ता नभएका एजेन्ट र अन्य पक्षलाई गोप्य रूपमा पैसा दिएकाले यो सजाय पाएको हो ।
तर, यो सजाय अझै कडा हुन सक्थ्यो । क्लबले आफ्नो गल्ती स्वीकार्दै छानबिनमा पूर्ण सहयोग गरेकाले ठुलो जरिवाना र सम्भावित अंक कटौतीबाट जोगिन सफल भयो । प्रिमियर लिगले २८ पृष्ठको प्रतिवेदन सार्वजनिक गर्दै सबै अनियमितताहरू—कति रकम, कसले र कुन खेलाडी अनुबन्धका लागि भुक्तानी गरियो—भन्नेबारे विस्तृत जानकारी दिएको छ ।
चेल्सीले के गल्ती गरेको थियो ?
चेल्सीले १२ व्यक्ति तथा संस्थाहरूलाई ३६ पटक गरेर कुल ४७.५ मिलियन पाउन्ड भुक्तानी गरेको थियो । यी भुक्तानीहरू प्राय ब्रिटिश भर्जिन आइल्यान्ड्सजस्ता ठाउँमा दर्ता भएका तेस्रो पक्षमार्फत गरिएको थियो, ताकि क्लबको आधिकारिक खातामा नदेखियोस् । यी रकम खेलाडी अनुबन्ध गर्न वा स्थानान्तरण विकल्प लिन प्रयोग गरिएको थियो ।
यसलाई स्पष्ट र जानाजानी गरिएको नियम उल्लङ्घन भन्दै आर्थिक मामिलामा छलकपट र लुकाउने कार्य भएको मानिएको छ ।
यो भुक्तानीमा क्लबका पूर्व मालिक रोमन अब्रामोभिच पनि संलग्न देखिएका छन् । भुक्तानीहरू केही वरिष्ठ पूर्व अधिकारी वा निर्देशकहरूको जानकारी र स्वीकृतिमा तथा पूर्व मालिकसँग सम्बन्धित वा उनको नियन्त्रणमा रहेको कोषमार्फत भएको थियो ।
कुन खेलाडीको अनुबन्ध छानबिनमा गर्यो ?
प्रतिवेदनमा धेरैजसो खेलाडीहरूको नाम उल्लेख छ, तर उनीहरूलाई दोषी भनिएको छैन। सबैभन्दा ठुलो २३ मिलियन पाउन्डको भुक्तानी कुल रकमको झन्डै आधा हो ।
यो रकम इडेन हाजार्ड (लिलबाट), रामिरेस (बेन्फिकाबाट), डेभिड लुइज (बेन्फिकाबाट), आन्द्रे शुर्ले (बायर लेभरकुसेनबाट) र नेमान्या माटिच (बेन्फिकाबाट) जस्ता खेलाडी अनुबन्ध गर्न दर्ता नभएका सात एजेन्टलाई दिइएको थियो ।
सामुएल एटो र विलियनलाई आन्जी माखाचकालाबाट अनुबन्ध गर्दा लागेको १९.३ मिलियन पाउन्ड स्थानान्तरण शुल्क पनि खातामा नदेखाई तिरिएको थियो ।
फुटबल निर्देशक फ्र्याङ्क आर्नेसन, स्काउट तथा सल्लाहकार पिट डे भिसर र अर्का एक कर्मचारीलाई १.३७ मिलियन पाउन्ड भुक्तानी गरिएको थियो, जसलाई उनीहरूको तलब मानिएको छ ।
अन्तिम ३.८ मिलियन पाउन्ड भुक्तानी एक खेलाडीको अनुबन्धसँग सम्बन्धित थियो, जसको नाम गोप्य राखिएको छ।
किन केही नाम र विवरण लुकाइयो ?
आधिकारिक कागजपत्रहरूमा नाम हटाउनु सामान्य अभ्यास हो । यो प्रायः फुटबलसँग प्रत्यक्ष सरोकार नभएका व्यक्ति, नाबालिग वा डाटा सुरक्षाका कारणले गरिन्छ । तर, यस प्रतिवेदनमा तीन खेलाडी र एक कर्मचारीको नाम किन लुकाइयो भन्ने कारण खुलाइएको छैन ।
के चेल्सीले अनुचित फाइदा लियो ?
चेल्सीले गरेका अधिकांश अनियमितताहरू २०१३ देखि २०१७ को बीचमा भएका थिए । तर, क्लबमाथि आठ वर्षको अवधिका लागि मुद्दा चलाइएको थियो ।
त्यो समयमा जोसे मौरिन्हो क्लबमा फर्किएका थिए र टोलीले ६ वटा ठूला उपाधि जितेको थियो, जसमा दुई प्रिमियर लिग (२०१४–१५, २०१६–१७), दुई एफए कप (२०११–१२, २०१७–१८), एक ईएफएल कप (२०१४–१५) र एक युरोपा लिग (२०१८–१९) समावेश छन् ।
३२ मिलियन पाउन्डमा अनुबन्ध भएका हाजार्डले ३५२ खेलमा ११० गोल गरे । विलियनले ३३९, माटिचले १२१, डेभिड लुइजले २४८ र रामिरेसले २५१ खेल खेले । तर, शुर्ले र एटो भने त्यति सफल भएनन् ।
आर्सेनलका पूर्व प्रशिक्षक आर्सेन वेंगरले यी खेलाडीहरूलाई राम्ररी सम्झनेछन् । २२ मार्च २०१४ मा आर्सेनलविरुद्ध चेल्सीको ६–० को जितमा यीमध्ये पाँच खेलाडीले सुरुवात गरेका थिए—यो वेंगरको प्रशिक्षकको रूपमा एक हजार खेल थियो । उक्त खेलमा एटो, शुर्ले र हाजार्डले गोल गरेका थिए ।
किन चेल्सी ठुलो सजायबाट बच्यो ?
गोप्य भुक्तानीमार्फत स्टार खेलाडी ल्याएर सफलता पाएपछि पनि चेल्सीले हल्का सजाय पायो भन्ने प्रश्न उठ्छ । यदि क्लबले छानबिनमा सहयोग नगरेको भए ठुलो जरिवाना र अंक कटौतीसमेत हुन सक्थ्यो ।
सुरुमा प्रिमियर लिग बोर्डले २० मिलियन पाउन्ड जरिवाना र दुई सिजनको खेलाडी किनबेचमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको थियो । तर, सजाय कम हुने केही आधार पनि थिए ।
अब्रामोभिचबाट क्लब किनेको नयाँ स्वामित्व ‘ब्लूको’ ले आफैँले यी अनियमितताहरू सार्वजनिक गरेको थियो । साथै, उनीहरूले स्वेच्छिक जानकारी दिँदै ‘असाधारण सहयोग’ गरेका थिए ।
यसले गर्दा जरिवाना घटेर १० मिलियन पाउन्ड भयो र दुई सिजनको स्थानान्तरण प्रतिबन्ध पनि स्थगित गरियो । यदि आगामी दुई वर्षभित्र यस्तै गल्ती दोहोरिएमा यो प्रतिबन्ध लागू हुनेछ ।
महत्त्वपूर्ण कुरा, यी लुकाइएका भुक्तानीहरूलाई खातामा जोड्दा पनि क्लबले तीन सिजनमा १०५ मिलियन पाउन्डभन्दा बढी खर्च गरेको थिएन, जुन प्रिमियर लिगको नियमभित्रै थियो । यदि खर्च सीमा नाघेको भए अंक कटौतीको सम्भावना हुन्थ्यो ।
यद्यपि, २०१९ देखि २०२२ को बीचमा एकेडेमी खेलाडी भर्ना गर्दा नियम उल्लङ्घन गरेको भन्दै क्लबलाई ९ महिनाको प्रतिबन्ध लगाइएको थियो । साथै, चेल्सीलाई विलियन र एटोको अनुबन्धसँग सम्बन्धित ७७१, २८८ पाउन्ड कर तिर्न पनि आदेश दिइएको छ ।
के यो प्रकरण सकियो ?
अवश्य पनि छैन । यसअघि नै २०११–२०१८ बिचको यही भुक्तानी प्रकरणमा युरोपेली फुटबल महासङ्घ (युइएफए) ले १० मिलियन युरो (८.६ मिलियन पाउन्ड) जरिवाना गरिसकेको थियो ।
अझै पनि इंग्ल्यान्डको फुटबल एसोसिएसन (एफए) ले लगाएका ७४ आरोपहरूको सुनुवाइ हुन बाँकी छ, जसले गर्दा थप ठुलो जरिवाना हुन सक्छ । त्यसैले, यो प्रकरण अझै समाप्त भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण