शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीले दिइन् नेकपा एमालेलाई धन्यवाद

मङ्गलबार, ०३ चैत २०८२, १९ : ३९
मङ्गलबार, ०३ चैत २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेकोमा एमालेलाई धन्यवाद दिइन्।
  • प्रधानमन्त्री कार्कीले एमाले नेतृत्वलाई बालुवाटारमा बोलाएर धन्यवाद ज्ञापन गरिन्।
  • एमाले नेताहरूले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की र सरकारलाई बधाई दिए।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिएकी छन् । 

प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई मंगलबार बालुवाटार आमन्त्रण गरेकी थिइन् । जसअनुसार एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार आएका थिए । 

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै धन्यवाद दिइन् । उनले भनिन्, ’यो कठिन अवस्थालाई शान्तिपूर्ण रुपमा निकास दिने एक मात्र विकल्प निर्वाचन नै थियो। राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरुले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, यसका लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु।’

उनले निर्वाचनमा जित–हार भइरहने भएकाले एकपल्टको जनादेशबाट विचलित नहुन भन्दै एमाले नेतृत्वलाई शान्त्वना पनि दिइन् । उनले भनिन्,‘ एकैपटकको जनमतले सधैँका लागि पार्टीहरुको हैसियत निर्धारण गर्दैन। भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरुका पार्टीले बेहोरेको उतारचढाव पनि देखेकै छौँ। राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस्।’

एमाले नेताहरुले पनि सबै पक्षको चित्त बुझाउँदै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की र उहाँ नेतृत्वको सरकारलाई बधाई दिए ।

मुलुकलाई कठिन घडीमा नेतृत्व प्रदान गरी सर्वस्वीकार्य, शान्तिपूर्ण र लोकतान्त्रिक निकास दिएकामा धन्यवाद पनि दिए ।
उनीहरुले यसपालिको निर्वाचनमा प्रशासनको निष्पक्षता रहेको भन्दै सरकारको प्रशंसा पनि गरे। साथै यसपालिका चुनावी अभियानहरु विगतभन्दा बढी स्वस्थ, शान्तिपूर्ण र कम खर्चिलो भएको अनुभव पनि सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप