संसदीय राजनीति त्याग्ने सीके राउतको निर्णयले पार्टीमा तरङ्ग
सारांश
- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीति त्यागेको घोषणा गरेपछि पार्टीका नेताहरू चिन्तित बनेका छन्।
- राउतले आफू संसदीय राजनीतिमा संलग्न नहुने तर पार्टीको सांगठनिक तथा संघर्षको राजनीतिमा केन्द्रित हुने बताएका छन्।
- पार्टीका महासचिव चन्दन सिंहले राउतको निर्णय व्यक्तिगत भए पनि पार्टीलाई क्षति पुर्याउन सक्ने बताएका छन्।
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीति त्यागेको घोषणा गरेपछि पार्टीका नेताहरू चिन्तित देखिएका छन् । अध्यक्ष राउतले आफू संसदीय राजनीतिमा संलग्न नहुने तर पार्टीको सांगठनिक तथा संघर्षको राजनीतिमा केन्द्रित हुने घोषणा गरेका हुन् ।
उनको यो निर्णय फिर्ता लिनसमेत केही नेताहरूले आग्रह गरेका छन् । पार्टीका महासचिव चन्दन सिंहले अध्यक्ष राउतको निर्णय व्यक्तिगत भए पनि पार्टी अध्यक्षको रूपमा यसले पार्टीलाई क्षति पुर्याउन सक्ने बताएका छन् ।
महासचिव सिंहले भने, ‘हामीले उहाँको निर्णयमा पुनर्विचार गर्न भनेका छौँ । मधेस अहिले २०४६ सालतिरको अवस्थामा पुगिसकेको छ, मधेसको विचार, मुद्दा र एजेन्डा संसद्मा उठाउने नेता पार्टीका तर्फबाट चाहिन्छ । त्यस्तो व्यक्तित्व पनि चाहिन्छ भनेर आग्रह गरेका छौँ, तर उहाँले केही जवाफ दिनुभएको छैन ।’ यद्यपि राउतको निर्णय व्यक्तिगत भएकाले यसबारे धेरै बोल्न नमिल्ने उनको भनाइ थियो । यी विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष राउतलाई नै दिइएको उनले स्पष्ट पारे ।
स्वतन्त्र मधेसका लागि आन्दोलन सुरु गरेका राउत २०७५ सालमा जनमत पार्टी गठन गरी मूलधारको राजनीतिमा आएका थिए । २०७९ को आमनिर्वाचनमा उनी प्रत्यक्षतर्फ चुनाव लड्ने एक्ला उम्मेदवार थिए । उनले सप्तरी–२ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै ठुलो चर्चा बटुलेका थिए ।
अध्यक्ष राउतले आफूले दुई पटक व्यक्तिगत इच्छाविपरीत निर्वाचन लडेको दाबी गरेका छन् । २०७९ को आमनिर्वाचनमा पार्टीलाई स्थापित गर्नुपर्ने आवश्यकता र साथीहरूको दबाबका कारण उम्मेदवारी दिएको उनको भनाइ छ । उक्त निर्णयकै कारण पार्टी संसद्मा प्रवेश गर्न सफल भएको र राष्ट्रिय पार्टी बन्ने आधार तयार भएको उनले दाबी गरे ।
उनका अनुसार यसअघिको निर्वाचन २०७९ मा पनि उनी चुनाव नलड्ने पक्षमा थिए र सप्तरी–१ र २ मा अन्य उम्मेदवार खडा गर्ने तयारी भए पनि अन्तिम समयमा कार्यकर्ता तथा नेताहरूको आग्रहपछि पुनः उम्मेदवारी दिन बाध्य भएका थिए । उनले भनेका छन्, 'म नउठेको भए पार्टीको मनोबल गिर्थ्यो र हारको सम्पूर्ण दोष ममाथि आउने थियो ।' निर्वाचन परिणामपछि आफूले उठेको निर्णय सही भएको महसुस गरेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
अब भविष्यमा पद र संसदीय राजनीतिप्रति कुनै लोभ नराख्ने स्पष्ट पार्दै उनले यसबाट विश्राम लिने घोषणा गरेका छन् । उनले राजनीति छाडेको नभई संघर्षको बाटोमार्फत जनताको सेवा गर्ने बताएका छन् । आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनका लागि पार्टीलाई तयारी अवस्थामा रहन पनि उनले निर्देशन दिएका छन् ।
जनमत पार्टीका अध्यक्ष राउतले संसदीय राजनीतिबाट लिएको सन्न्यासलाई कतिपय नेताले सकारात्मक रूपमा पनि लिएका छन् । जनमत पार्टीका सचिव एवं मधेस प्रदेशका प्रदेश सभा सदस्य संजय यादवले भने, ‘हाम्रा अध्यक्षले मधेसमा नमुना काम गर्नुभएको छ, अरू दलका अध्यक्षलाई सोच्न बाध्य बनाउनुभएको छ । सबै सांसद, सबै मन्त्री भए पार्टी कसले चलाउने ? पार्टी चलाउने व्यक्ति पनि चाहियो भनेर नै अध्यक्षले संसदीय राजनीति त्याग्नुभएको हो ।’
अब उनले संगठन निर्माण, विभिन्न रणनीति बनाउनुको साथै विचार, सिद्धान्त र संघर्षका कामलाई अगाडि बढाउने सचिव यादवले बताए । उनले थपे, ‘अब उहाँले आफूजस्तै नेता पार्टीमा तयार गरेर संसद्मा पठाउनुहुन्छ, संसद्मा एक जना सीके होइन, अब धेरै सीके हुन्छन् ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण