‘एक मुठी बादल’ मेरो लागि विशेष छ : आँचल शर्मा
सारांश
- अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र 'एक मुठी बादल'को टिजर सार्वजनिक गरिएको छ।
- टिजर आँचलले वाचन गरेको कविता 'पोम्पोईको फूल'को सेरोफेरोमा घुमेको छ, र जन्मदिनको अवसरमा सार्वजनिक गरिएको छ।
- चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘एक मुठी बादल: माई सेयर अफ स्काई’को टिजर सार्वजनिक गरिएको छ । टिजर आँचलले नै वाचन गरेको कविता ‘पोम्पोईको फूल’को सेरोफेरो घुमेको छ । कवितासँगै टिजरले चलचित्रका मुख्य कलाकारलाई परिचित गराएको छ । टिजरलाई निर्माण टिमले आँचलको जन्मदिनको उपहारको रुपमा सार्वजनिक गरेको जनाएको छ ।
अभिनेत्री आँचल शर्माले चलचित्र ‘एक मुठ्ठी बादल’ आफ्ना लागि विशेष रहेको बताउँदै यसको पहिलो झलक जन्मदिनकै सन्दर्भ पारेर आउनु मीठो संयोग रहेको बताइन् । ‘अरू चलचित्रमा म अरू कोही भूमिका निर्वाह गरिरहेको हुन्छ तर यो चलचित्रको माइली मै हो । आफ्नै जीवनलाई पर्दामा उतार्न पाउनुको सन्तुष्टि शब्दमा भन्न सकिँदैन । यो चलचित्र मेरा लागि एकदमै स्पेसल छ,’ उनको भनाइ छ ।
कविता चलचित्रकी लेखक तथा निर्देशक सहारा शर्माको छिपछिपे सम्झनामा आधारित छ । सहाराका अनुसार उनले यस्तै भावको कविता हजुरआमाको मुखबाट सुन्ने गरेकी थिइन् जुन उनले लगभग बिर्सिसकेकी थिइन् । तर चलचित्रको सम्पादनका क्रममा यो कविता फेरि उनको स्मृतिमा फर्कियो ।
चलचित्रमा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन्। फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण