बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

२८औँ सांस्कृतिक प्रतिरोध दिवस : एक संक्षिप्त टिप्पणी

बिहीबार, ०५ चैत २०८२, ११ : ५३
बिहीबार, ०५ चैत २०८२

चैत्र ५ सांस्कृतिक प्रतिरोध दिवस ! राजधानी काठमाडौँ उपत्यकासँग सटेको काभ्रे जिल्लाको अनेकोटमा निहत्था कलिला जनकलाकार प्रतिभाहरू च्याङ्बा लामा, मञ्जु कुँवर, चिनीमाया तामाङ, गुम्बासिं तामाङ, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठ र निर्मला देवकोटाले २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा उच्च शहादत प्राप्त गरेको २८ वर्ष पुगेको दिन ।

२०५२ फागुन १ देखि नेपाल र नेपाली जनताको मुक्ति र प्रगतिको लागि हाम्रो गौरवशाली पार्टी तत्कालीन नेकपा (माओवादी) ले भीषण जनयुद्ध थालनी गरी निरन्तरता, विकास र विस्तार गरिरहेकै अवधि थियो । त्यही अवधिमा २०५५ सालमा आजकै दिनमा काभ्रे अनेकोटको एउटा पहाडी गाउँको फुसले छाएको एउटा घरमा बसेर उपरोक्त सांस्कृतिक प्रतिरोधीहरूले सांस्कृतिक कार्यक्रमको तयारी गर्दै गरिरहेका थिए । त्यसैबेला संसद्वादी प्रतिक्रियावादीहरूका भाट र भरौटेहरूले घरमै आगो लगाई ती होनहार प्रतिभाहरूको बीभत्स र क्रूर हत्या गरेको दिन हो २०५५ को चैत्र ५ । 

यसै महान् र ऐतिहासिक दिनको सम्झना र सम्मान गर्दै जनयुद्धको वैचारिक–राजनीतिक र फौजी प्रतिरोधको संकेन्द्रित रूप सांस्कृतिक प्रतिरोध भएकाले सांस्कृतिक प्रतिरोधको क्षेत्रबाट समेत समग्र प्रतिरोध संघर्ष र संस्कृतिलाई माथि उठाएर जनयुद्धलाई घनीभूत रूपमा अघि बढाउने गम्भीर जिम्मेवारीबोधका साथ २०५७ सालमा तत्कालीन नेकपा (माओवादी) को पार्टी केन्द्रबाट हामीले चैत्र ५ लाई सांस्कृतिक प्रतिरोध दिवसको रूपमा मनाउने निर्णय गरी चौतर्फी प्रतिरोध बढाउने निर्णय गरेका थियौं ।

 तत्पश्चात् चैत्र ५ लाई हाम्रै जनवर्गीय मोर्चा अखिल नेपाल जनसांस्कृतिक संघले पनि यसको मर्म र महत्त्व आत्मसात् गर्दै प्रतिरोध दिवसलाई सशक्त र व्यापक रूपमा मनाउने निर्णय गर्‍यो । आज पनि सच्चा माओवादी क्रान्तिकारीहरूले जहाँ भए पनि, जति भए पनि र जसरी भए पनि सांस्कृतिक प्रतिरोध दिवस मान्दै–मनाउँदै गरेर आएको दिन हो चैत्र ५ को सांस्कृतिक प्रतिरोध दिवस ।

बरु बडो दुःखद विडम्बना त यो भएको छ कि आज न त्यो सच्चा माओवादी पार्टी छ, न त्यो सच्चा सर्वहारावादी प्रतिरोधी संस्कृति र सांस्कृतिक संघ नै छ न त वैचारिक, राजनीतिक, फौजी वा सांस्कृतिक आदि कुनै प्रभावकारी प्रतिरोध नै । छ त केवल हामीले आ–आफ्नो डम्फू बजाउने र जनयुद्धको योगदान र बलिदानलाई भजाउने शतरङ्गी माओवादी बन्ने र सय चिरामा विभक्त नामधारी क्रान्तिकारी कम्युनिस्ट बन्ने संस्कार र संस्कृति मात्र । त्यसैले होला एउटा सच्चा क्रान्तिकारी भनिने शक्ति, व्यक्ति, समूह, संघसंस्था, मञ्चमोर्चा वा आन्दोलन–अभियान कसैले पनि आज आफ्नो घोषित, निर्देशित र पारम्परिक ऐतिहासिक दिवस, व्यक्तित्व वा नेतृत्वभन्दा अरू कसैको पनि सम्झना र सम्मान गरेको त्यति पाइन्न ।

 अपवादको रूपमा आज चाहेर–नचाहेर पुष्पलाललाई मान्ने गरेको त पाइन्छ अन्यथा त्यो भन्दा बाहेक समग्रमा मान्नेभन्दा पनि जातीय, क्षेत्रीय, पारिवारिक जस्ता विभिन्न खण्डित–विखण्डित रूपमा मान्ने–मनाउने गरेको भने पाइएला । त्यो काम वा नाम जुन पार्टीको भए पनि आफ्नो जातिको छ वा क्षेत्रको छ वा परिवारको छ अथवा आफू सम्बन्धित विषय, विभाग वा भावनात्मक सम्बन्धको छ भने त्यसको मात्र मानसम्मान र गुणगान गर्ने गरेको पनि पाइएला । यस्ता ऐतिहासिक कुराहरूलाई न मान्नु वा निषेध–उपेक्षा गर्नुभन्दा त यो तुलनात्मक रूपले सही काम वा संस्कृति भए पनि समग्रमा भन्नुपर्दा यो स्वार्थी सोच र संस्कृतिको उपज हो ।

उपरोक्त कारणहरूले गर्दा आज यी सांस्कृतिक योद्धाहरूको मात्र होइन कोही पनि योद्धाहरूको बलिदान र योगदानको सच्चा सम्मान हुन सकेको छैन । त्यसैले हामीले आ–आफ्ना समूहमा रहेका यस्ता पूर्ववर्ती संकीर्ण सोच, शैली, संस्कार र संस्कृतिबाट माथि उठेर विशाल छाती बनाएर अर्थात् क्रान्ति सम्पन्न गर्ने अहं जिम्मेवारी बोध गरेर तत्कालीन माओवादीले पुष्पलाल र झापा विद्रोहका योगदानहरूलाई उच्च मूल्याङ्कन गरेझैं हामी आजका सच्चा कम्युनिस्ट क्रान्तिकारी भन्ने शक्ति वा व्यक्तिहरूले समग्र विषयहरूमा यसरी नै सोच्न र गर्न सक्नुपर्छ ।

यो टिप्पणीकार पारिजातको नेतृत्वमा २०३७ चैत्रमा स्थापित अखिल नेपाल जनसांस्कृतिक संघको संस्थापक हुनुको नाताले वा माओवादी पार्टी र जनयुद्धको सुरुवातकर्ता एक नेता हुनुको नाताले अथवा २०५७ सालमा चैत्र ५ लाई सांस्कृतिक प्रतिरोध दिवसको रूपमा मनाउने निर्णयकर्ता माओवादीको केन्द्रीय नेतामध्येको एक भएका नाताले भन्दा एक जिम्मेवार र सत्यवादी क्रान्तिकारी अभियन्ता हुनुको नाताले कुरा भनिरहेको छ । तर यस सन्दर्भमा यही टिप्पणी लेख्नेभन्दा बढी केही गर्न नसकेको आफ्नो बाध्यात्मक अवस्थाप्रति इमान्दारीपूर्वक आत्मालोचित छ । 

यो भन्दा र गर्दाखेरि कतिपय महानुभावहरूलाई पत्यार नलागे पनि अहिले र अझ पछिसम्मका यो टिप्पणीकारका समग्र सोचविचार र आचारलाई हेर्ने–बुझ्ने गरेमा यो कुरा तथ्यको आधारमा सत्य पत्ता लगाउने जो कोही सच्चा मन–मस्तिष्कले पत्याउनु हुनेछ भन्नेमा यो टिप्पणीकार विश्वस्त हुँदै आफूले नगरे वा कम गरे पनि सही र राम्रो काम अरूले गरून् भन्ने सदाशयता अन्तर्निहित छ भन्ने स्पष्ट नै होला भन्ने अपेक्षा छ ।

जे होस्, आज सच्चा कम्युनिस्ट क्रान्तिकारी विचार र राजनीति, सर्वहारावादी पार्टी र संगठन अनि प्रतिरोधात्मक संघर्ष र संस्कृति रक्षात्मक भएको बहानामा संशोधनवादीहरू साम्राज्यवादी र प्रतिक्रियावादीहरू समक्ष आत्मसमर्पण गर्न र क्रान्तिकारी मार्क्सवादी भनिनेहरू पनि सुधारका नाममा संसदीय र शान्तिपूर्ण संघर्षको भासमा भासिन थालिरहेको भयावह स्थिति छ । यो स्थितिमा वैदेशिक साम्राज्यवाद र घरेलु प्रतिक्रियावादका विरुद्ध वैचारिक–राजनीतिक क्षेत्रका अतिरिक्त क्रान्तिकारी संघर्ष र संस्कृतिको क्षेत्रबाट सशक्त प्रतिरोध बढाउनुको आवश्यकता र औचित्य कैयौं गुणा बढेर गएको छ ।

यसै आवश्यकतालाई पूरा गर्नु नै सही अर्थमा क्रान्तिकारी राजनीतिक धर्म हो भने यो सांस्कृतिक प्रतिरोध दिवस मनाउनु र सम्पूर्ण सहिदहरूलाई सम्झनु र सम्मान गर्नु चैत्र ५ को मर्म हो ।

हार्दिक श्रद्धाञ्जली, अमिट सम्झना र क्रान्तिकारी सलामी सम्पूर्ण वीर सहिदहरूलाई !

सांस्कृतिक प्रतिरोध दिवस – अमर रहोस् !!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नारायण शर्मा
नारायण शर्मा
लेखकबाट थप