सेतो मच्छेन्द्रनाथको रथ धमाधम बनाइँदै
सारांश
- चैते दशैँमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु हुँदैछ, जसका लागि रथ निर्माण भइरहेको छ।
- रथयात्रा चैत्र १२ गते तीनधारा पाठशालाबाट सुरु भई असन, वसन्तपुर, लगन हुँदै मच्छेन्द्रबहालमा समापन हुनेछ।
- राष्ट्रपति रामचन्द्र पौडेलले चैत १२ गते राति असनमा रथको दर्शन गर्ने कार्यक्रम रहेको छ।
काठमाडौँ । दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दशैँका दिन सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राका लागि रथ निर्माण भइरहेको छ । चैत्र शुक्ल प्रतिपदादेखि रथ बनाउन सुरु गरिएको गुठी संस्थानले जनाएको छ । चैत्र शुक्ल सप्तमी अर्थात् चैत्र ११ गते रथ बनाइसकिने संस्थानका प्रवक्ता जनक पोखरेलले जानकारी दिए ।
यही चैत्र १२ गते दिउँसो ४ बजेदेखि तीनधारा पाठशालाबाट सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु हुनेछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दशमीसम्म राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा गरिन्छ ।
यस वर्ष पहिलो दिन चैत १२ गते रथ असन पुर्याइने छ । रथ असन पुगेपछि पूजा, आराधना गरिनेछ । सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने हुनेछ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर समापन हुनेछ । रथ निर्माणका लागि काठलगायत व्यवस्था संस्थानले गर्ने चलन छ ।
चैत्र शुक्ल अष्टमीका दिन चैत १२ गते कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गर्ने परम्परा रहेको सेतो मच्छेन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका वडा नंं २५ का पूर्वअध्यक्षसमेत रहनुभएका नीलकाजी शाक्यले जानकारी दिए ।
चैत १२ गते राति राष्ट्रपतिले दर्शन गर्ने
असनमा यही चैत १२ गते राति करिब १० बजे राष्ट्रपति रामचन्द्र पौडेलले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम छ । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन लगेको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ ।
तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको हो । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन अर्थात् चैत १३ गते असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ ।
तेस्रो दिन चैत १४ गते वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकेपछि रातो मच्छेन्द्रनाथको रथयात्रा हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण