बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा सरकारलाई बाबुरामको सुझाव: हेलो सरकार र लगानी बोर्ड जस्ता कार्यक्रमको निरन्तरता होस्

सोमबार, ०९ चैत २०८२, २२ : ५७
सोमबार, ०९ चैत २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रास्वपा नेतृत्वको सरकारलाई सफल नीति तथा कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए।
  • उनले हेलो सरकार र जनतासँग प्रधानमन्त्री जस्ता कार्यक्रमहरू नयाँ सरकारका लागि उपयोगी हुने बताए।
  • भट्टराईले लगानी बोर्ड स्थापना, बिप्पा सम्झौता र राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिनुपर्ने धारणा राखे।

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा बन्ने सरकारलाई आफ्नो कार्यकालमा थालनी गरिएका सफल नीति तथा कार्यक्रमहरूलाई निरन्तरता दिन सुझाव दिएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नयाँ सरकारले शून्यबाट काम थाल्नुको सट्टा विगतका राम्रा अभ्यासलाई सन्दर्भ सामग्रीका रूपमा उपयोग गर्न सक्ने बताए ।

डा. भट्टराईले नयाँ बन्ने सरकारले आफ्ना कामको प्राथमिकता निर्धारण गरिरहेको अवस्थामा विगतका सफल अभ्यासहरू उपयोगी हुन सक्ने उनको तर्क छ ।

सुशासनको क्षेत्रमा आफ्नो १८ महिने कार्यकालमा थालेका पहलहरूको स्मरण गर्दै उनले हेलो सरकार र जनतासँग प्रधानमन्त्री जस्ता नागरिक–केन्द्रित कार्यक्रम, संवैधानिक निकायमा नियुक्ति प्रक्रियामा सुधार र सार्वजनिक संस्थानलाई प्रभावकारी बनाउन गठित संस्थान निर्देशन बोर्ड जस्ता अभ्यास नयाँ सरकारका लागि उपयोगी हुन सक्ने बताए । यी कार्यक्रमहरूले पारदर्शिता र सरकारको जबाफदेहिता बढाउन मद्दत पुर्‍याएको उनको आशय थियो ।

त्यसै गरी, तीव्र आर्थिक रूपान्तरणका निम्ति आफ्नो सरकारले अघि बढाएका महत्त्वपूर्ण कदमहरूबारे चर्चा गर्दै उनले लगानी बोर्डको स्थापना, विदेशी लगानी आकर्षित गर्न गरिएको बिप्पा सम्झौता, र देश विकासका मेरुदण्ड मानिएका राष्ट्रिय गौरवका आयोजनाको अवधारणालाई परिमार्जनसहित निरन्तरता दिन सकिने धारणा राखे ।

आर्थिक विकासकै सन्दर्भमा उनले रुग्ण उद्योगको पुनरुत्थान, विशेष आर्थिक क्षेत्रको स्थापना, काठमाडौँ उपत्यकाको व्यवस्थित विकासका लागि प्राधिकरण गठन, वैज्ञानिक भूमिसुधारको तयारी, भू–उपयोग नीति, गरिबीको पहिचान र परिचयपत्र तथा राष्ट्रिय स्वयंसेवा अभियान जस्ता कार्यक्रमलाई पनि नयाँ सरकारले प्राथमिकतामा राख्न सक्ने संकेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप