सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

विश्वकप २०२६ : न्युजिल्याण्ड इरानसँग अमेरिकाबाहिर खेल्न तयार

बुधबार, ११ चैत २०८२, १२ : ३७
बुधबार, ११ चैत २०८२

सारांश

  • सन् २०२६ को फिफा विश्वकपमा न्युजिल्याण्ड र इरानबीचको खेल अमेरिका बाहिर हुने सम्भावना बढेको छ।
  • इरानले अमेरिकामा खेल्न अस्वीकार गरेपछि खेल अन्यत्र सार्ने तयारी भइरहेको छ, तर फिफाले आधिकारिक निर्णय दिएको छैन।
  • न्युजिल्याण्डका खेलाडीहरू मेक्सिको वा क्यानडामा खेल्न तयार छन्, किनकि उनीहरू विश्वकपमा खेल्न चाहन्छन्।

लस एन्जलस । सन् २०२६ को फिफा विश्वकपको उद्घाटन खेलमा न्युजिल्याण्डले इरानसँग अमेरिका बाहिरको तटस्थ भूमिमा खेल्न सक्ने संकेत दिएको छ। भू-राजनीतिक तनाव र सुरक्षा संवेदनशीलताका कारण खेल तालिकालाई लिएर अन्योल कायमै रहेका बेला न्युजिल्याण्डका खेलाडीहरूले यस्तो प्रतिक्रिया दिएका हुन्।

फेब्रुअरीको अन्त्यदेखि सुरु भएको अमेरिका-इजरायल र इरानबिचको द्वन्द्वका कारण इरानको विश्वकप सहभागितामा प्रश्न चिन्ह उठेको छ। इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्याण्डसँग खेल्ने तालिका छ, तर इरानी फुटबल महासंघले अमेरिकी भूमिमा खेल्न अस्वीकार गर्दै बहिष्कारको धम्की दिएको छ।

न्युजिल्याण्डका अनुभवी मिडफिल्डर रायन थोमसले इरानले छनोट चरण पार गरेर विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको भन्दै उनीहरू खेल्न योग्य रहेको बताएका छन्। उनले रोयटर्ससँग कुरा गर्दै भनेका छन्, ‘यदि हामीले मेक्सिको वा क्यानडामा खेल्नुपर्छ भने पनि हामी तयार छौँ, यो हाम्रा लागि ठूलो विषय होइन।’ न्युजिल्याण्डको टोली हाल क्यालिफोर्नियाको सान डिएगोमा छ, जुन मेक्सिकोको सीमाबाट निकै नजिक पर्छ।

यसअघि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले आफ्नो देश इरानको खेलहरू आयोजना गर्न खुला रहेको बताएकी थिइन्। यद्यपि, खेल स्थल परिवर्तन गर्ने अन्तिम अधिकार फिफासँग मात्र सुरक्षित छ। फिफाले हालसम्म यस विषयमा कुनै आधिकारिक टिप्पणी गरेको छैन र वर्तमान तालिकामै खेल हुनेमा जोड दिएको छ।

न्युजिल्याण्डका ३६ वर्षीय विङ्गर कोस्टा बारबारोसेसले सुरक्षाका विषयमा केही चिन्ता रहे पनि अधिकारीहरूले खेलाडी र उनीहरूका परिवारको सुरक्षा सुनिश्चित गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्। सन् २०१० पछि पहिलोपटक विश्वकप खेल्न लागेको न्युजिल्याण्डका लागि यो खेल निकै महत्त्वपूर्ण छ।

इरानले समूह चरणमा बेल्जियमसँग लस एन्जलसमा र इजिप्टसँग सियाटलमा खेल्ने तालिका पनि रहेको छ। खेल स्थल सरे पनि आफ्नो तयारीमा कुनै असर नपर्ने खेलाडीहरूको भनाइ छ। अहिले विश्वभरका फुटबल प्रेमीहरूको नजर फिफाको आगामी निर्णयमा टिकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप