बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

राष्ट्रपति पौडेलले राष्ट्रिय सभा सदस्य नियुक्तिमा भण्डारीको नजिर दोहोर्‍याए

बुधबार, ११ चैत २०८२, १५ : ४८
बुधबार, ११ चैत २०८२

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्य नियुक्तिको विषयमा विद्यादेवी भण्डारीको नजिर दोहोर्याएका छन्।
  • सुशीला कार्की नेतृत्वको सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि सिफारिस गरेको थियो, तर राष्ट्रपतिले निर्णय गरेनन्।
  • यसअघि, विद्यादेवी भण्डारीले पनि देउवा सरकारको सिफारिसलाई अनुमोदन नगरी नयाँ सरकार आएपछि नयाँ नाम सिफारिस गर्न दिएकी थिइन्।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभा सदस्य नियुक्तिमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको नजिर दोहर्‍याएका छन् । 

चैत १ गते बसेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद् बैठकले बहालवाला गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सिफारिस त्यसको केही दिनमै राष्ट्रपति कार्यालयमा पुगिसकेको राष्ट्रपति कार्यालयले जानकारी दियो । तर, त्यो सिफारिस अनुरुप राष्ट्रपति पौडेलले गृहमन्त्री अर्याललाई नियुक्त गरेका छैनन् ।

राष्ट्रपति पौडेलले यसअघि २०७४ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको निर्णयको नजिर दोहर्‍याएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।

२०७४ सालमा यस पटक जस्तै निर्वाचनबाट नयाँ सरकार आउने तरखरमा रहेका बेला राष्ट्रिय सभा सदस्यका तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ३ जनाको नाम सिफारिस गरेको थियो ।

नेपालको संविधानमा राष्ट्रिय सभामा सरकारको सिफारिसमा ३ जनालाई राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ । त्यही प्रावधान अनुसार देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्य नियुक्त गर्न कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम सिफारिस गरेको थियो । तर, तत्कालीन राष्ट्रपति भण्डारीले पौडेल, बस्नेत र जोशीको नाम अनुमोदन गरिनन् । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) गठबन्धन गरेर गए । उनीहरूले सहज बहुमत प्राप्त गरेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए । ओलीले आफू प्रधानमन्त्री भएपछि पुरानो सरकारको सिफारिस फिर्ता लिएर डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरे । 

डा. खतिवडा, बिडारी र पौडेल राईको नाम राष्ट्रपति भण्डारीले सदर गरेकी थिइन् । अहिले पनि निर्वाचन सम्पन्न भएर नयाँ जनादेश आइसकेको अवस्थामा कार्की नेतृत्वको सरकारले रिक्त एक सदस्यमा बहालवाला गृहमन्त्री अर्यालको नाम सिफारिस गरेपछि राष्ट्रपति पौडेलले निर्णय नगरी होल्डमा राखेका हुन् ।

पौडेलले निकटस्थहरूसँग नयाँ बन्ने प्रधानमन्त्रीको अनुमतिमा मात्रै राष्ट्रिय सभा सदस्य नियुक्त गर्ने बताउने गरेका छन् । नयाँ प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बन्ने निश्चित भइसकेको छ । उनले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम पनि तय भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप