शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

कार्की सरकारले संघीय संसद्को अधिवेशन आह्वान नगर्ने

बिहीबार, १२ चैत २०८२, १० : ५७
बिहीबार, १२ चैत २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहले शुक्रबार प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय भएको छ।
  • नयाँ सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्ने सम्भावना रहेको छ, तर हालसम्म अधिवेशन आह्वान भएको छैन।
  • अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद् बैठकले निर्णय गरेर राष्ट्रपतिलाई सिफारिस गर्नुपर्ने हुन्छ।

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभामा सहज बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार १२ बजेर ३४ मिनेट जाँदा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरूले बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

तर, सरकारले नयाँ आएको प्रतिनिधिसभा र अविच्छिन्न रूपमा रहने राष्ट्रिय सभासहितको संघीय संसद्को अधिवेशन आह्वान गरेको छैन । संघीय संसद्को अधिवेशन आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने कानुनी प्रावधान छ । अहिलेसम्म सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को अधिवेशन आह्वान गरेको छैन ।

प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय नभएको जानकारी दिए । ‘मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छैन । अब आउने सरकारले नै गर्ला,’ रावलले रातोपाटीसँग भने ।

अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद् बैठकले निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्छ ।

यसअघि चैत १६ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वान गर्ने चर्चा चलेको थियो । कार्की नेतृत्वको सरकारले अधिवेशन आह्वान नगर्ने भएपछि चैत १६ गते संघीय संसदको अधिवेशन आह्वान हुने सम्भावना सकिएको छ ।

अधिवेशन आह्वान गर्दा एक साताको समय दिएर गर्नुपर्ने प्रावधान भएकाले चैत १६ गते अधिवेशन आह्वान हुने सम्भावना सकिएको हो ।

संसद् अधिवेशनका लागि सरकारले ‘बिजनेस’ दिनुपर्छ । वर्तमान अन्तरिम ‘आउट गोइङ’ सरकारले बिजनेस तय गर्ने कुरा नभएकाले नयाँ सरकार आएपछि बिजनेस तय गरेर बैठक बोलाउने प्रक्रिया सुरु गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप