'अटेरी' अभियन्ता गनेसलाई संस्कृति, पर्यटन र नागरिक उड्डयनको जिम्मेवारी
सारांश
- युवा खड्ग पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएका छन्, जो पोखराका हुन्।
- पौडेलले पोखरामा पठन संस्कृतिको विकासका लागि 'र्यानडम रिडर्स सोसाइटी अफ नेपाल' खोलेका थिए।
- उनले स्वतन्त्र नागरिकको वकालत गर्दै राजनीतिमा प्रवेश गरेका थिए र अहिले मन्त्री बनेका छन्।
काठमाडौँ । पोखराका शान्त चियापसल र क्याफेहरूमा किताबका पानाहरू पल्टाउँदै, खित्का छोडेर हाँस्दै समाजलाई गहिरो प्रश्न सोध्ने एक युवाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । स्वतन्त्र नागरिकको वकालत गर्दा गर्दै राजनीतिमा ‘अटेरी’ अभियानको बिगुल फुक्ने खड्ग पौडेल (गनेस) बालेन्द्र शाह नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएका छन् ।
वि. सं. २०३६ सालमा पोखरा महानगरपालिका–१४, मझेरीपाटनमा जन्मिएका खड्ग (गनेस) पौडेलको पृष्ठभूमि राजनीतिक दलको झोला बोकेर हुर्किएको परम्परागत नेता होइन । उनले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) र त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक गरेका छन् । व्यवस्थापनको प्राविधिक ज्ञान र साहित्यको मानवीय संवेदनाको दुर्लभ सङ्गम उनको व्यक्तित्वमा सानैदेखि झल्किन्थ्यो ।
पोखरामा पठन संस्कृतिको विकास गर्नुपर्छ भन्ने हुटहुटीले उनलाई एउटा अभियानको परिकल्पनाकार बनायो । त्यसपछि जन्मियो– ‘र्यान्डम रिडर्स सोसाइटी अफ नेपाल’ । यो त्यस्तो संस्था बन्यो, जसले पोखरालाई केवल प्राकृतिक सुन्दरताको सहर मात्र नभई बौद्धिक विमर्शको केन्द्रका रूपमा उभ्यायो ।
गनेस पौडेल यही संस्थाको मञ्चबाट किताबहरूको गहिरो शल्यक्रिया गर्थे । खित्का छोडेर हाँस्दै उनले गर्ने गहिरो र तार्किक प्रश्नले लेखक र पाठक दुवैमा अमिट प्रभाव छोड्थ्यो । पोखरालाई विभिन्न आयामबाट विश्लेषण गर्दै उनले पत्रपत्रिकामा लेखेका वैचारिक लेखहरूले उनलाई एउटा स्पष्ट विचार भएको बौद्धिक युवाका रूपमा स्थापित गर्यो ।
साहित्यिक महोत्सवहरूको प्रवर्द्धन र किताबको विमर्श गर्दागर्दै उनी आफैँ पनि स्रष्टाका रूपमा उदाए । उनले ‘पैताला’ नामक उपन्यास नेपाली साहित्यलाई दिए । किताब, चलचित्र र समाजलाई परम्परागत कोणबाट भन्दा नितान्त भिन्न र आलोचनात्मक चेतबाट हेर्ने पात्रको रूपमा गनेसले आफ्नो परिचय बनाए ।
सामाजिक सरोकार र नागरिकका मुद्दा
पौडेल केवल सिद्धान्तमा रमाउने बौद्धिक विलासी मात्र थिएनन् । समाजका प्रत्यक्ष समस्याहरूमा उनी खरो रूपमा उत्रिन्थे । विकासका नाममा हुने विस्थापनको उनी कडा आलोचक थिए ।
जग्गा अधिग्रहण गर्दा स्थानीयको संस्कृति, परम्परा र मौलिकता मास्न पाइँदैन भनेर उनले राज्यलाई खबरदारी गर्ने गरेका थिए । हिजो जुन विमानस्थल निर्माणका क्रममा नागरिक उड्डयन प्राधिकरण र राज्यको नीतिको उनले आलोचना गरेका थिए । आज उनी त्यही नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हाल्न पुगेका छन् ।
राजनीतिक पाइला : ‘नयाँ शक्ति’देखि ‘अटेरी’सम्म
गनेसको राजनीतिक चेत सधैँ वैकल्पिक र प्रगतिशील धारतर्फ ढल्किएको थियो । नेपालमा नयाँ संविधान जारी भएपछि जब डा. बाबुराम भट्टराईले परम्परागत राजनीतिलाई चुनौती दिँदै वैकल्पिक राजनीतिको वकालतसहित ‘नयाँ शक्ति नेपाल’ खोले, गनेस छोटो समयका लागि त्यसमा सहभागी भए । तर त्यहाँ उनको यात्रा लामो समय टिकेन ।
उनको जीवनमा एकाएक नयाँ र आक्रामक राजनीतिक परिचय लिएर आयो– २०७९ वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनले । ‘राजनीतिक अकर्मण्यताका विरुद्ध अटेरी गरौँ’ भन्ने नारासहित उनी पोखरा महानगरपालिकाको मेयर पदमा ‘लौरो’ चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बने । तर उक्त निर्वाचनमा पोखराको मेयरमा धनराज आचार्यले जित हासिल गरे, तर गनेसले ५ हजार १२८ मत प्राप्त गरे । चुनाव हारे पनि उनले पोखरामा वैकल्पिक राजनीतिको एउटा बलियो जग भने बसालेरै छाडे ।
हारपछि फेरि साहित्यमै पुनरागमन
स्थानीय चुनावको पराजयले उनलाई निराश बनाएन । चुनाव हारेपछि उनी फेरि आफ्नो पुरानै कर्म, किताब लेखन र अनुवादमै फर्किए । उनले विश्वप्रसिद्ध अमेरिकी लेखक जोन स्टाइनबेकको प्रख्यात कृति ‘अफ माइस एन्ड मेन’ लाई नेपालीमा अनुवाद गरे– ‘मुसा मानुष’ । यसले उनको धैर्यता र बौद्धिक लगावलाई प्रमाणित गर्यो । राजनीतिमा लागेपछि मानिसले आफ्नो सिर्जनशीलता गुमाउँछ भन्ने भाष्यलाई उनले गलत साबित गरिदिए ।
स्वतन्त्र नागरिकको वकालत गरिरहेका गनेसको जीवनमा विश्वव्यापी रूपमा फैलिँदै गरेको जेनजी अर्थात् नयाँ पुस्ताको मनोविज्ञान र आन्दोलनले एकाएक ठुलो परिवर्तन ल्याइदियो । पुराना दलहरूप्रतिको चरम निराशा र नयाँ पुस्ताको विद्रोहको रापतापमा उनी रास्वपामा लागे ।
यही बदलिँदो मनोविज्ञान र नयाँ राजनीतिक लहरको साथ पाएर उनी स्वतन्त्र नागरिकको भूमिकाबाट रास्वपाको राजनीतिमा होमिए । बालेन शाहको वैचारिक प्रभाव र स्वतन्त्र उम्मेदवारहरूको कोटा (सञ्जाल) मार्फत उनी रास्वपाको केन्द्रीय सदस्य बन्न पुगे ।
त्यसपछिको आम निर्वाचनमा उनी कास्की क्षेत्र नम्बर १ बाट सङ्घीय संसद्को उम्मेदवार बने । आफ्नो बौद्धिक र वैचारिक छवि, युवा पुस्ताको साथ र पोखरामा बनाएको सामाजिक अनुभवको बलमा उनी सांसद निर्वाचित भए । संसद् छिरेसँगै नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।
शक्ति र चुनौतीको कसीमा
साहित्यकार, अभियन्ता हुँदै मन्त्रीसम्मको उनको यात्रा जति प्रेरणादायी छ, अब अगाडिको यात्रामा त्यति नै ठुला चुनौतीहरू पनि हुनेछन् । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा ल्याउने, नेपाल वायुसेवा निगमको सुधार गर्ने र नेपाललाई विश्व पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने चुनौती उनीसामु छ ।
हिजो विमानस्थल पीडितका पक्षमा बोलेका उनले अब उनीहरूलाई कसरी न्याय दिन्छन् भन्ने हेर्न बाँकी छ । किताबको पानामा समाजको आदर्श खोज्ने गनेसलाई अब सिंहदरबारको कुर्सीमा बसेर यथार्थको समाज निर्माण गर्ने अवसर जुरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण