शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कालिका कप: घले हार्भेस्टिङ फाइनलमा

शनिबार, १४ चैत २०८२, २३ : १३
शनिबार, १४ चैत २०८२

सारांश

  • घले हार्भेस्टिङ अस्ट्रेलिया कालिका कपको फाइनलमा प्रवेश गरेको छ, जसले गौंडाकोट युथ क्लबलाई हरायो।
  • महिला भलिबलतर्फ शान्ता मावि र इलाइट भलिबल एकेडेमी फाइनलमा पुगेका छन्।
  • प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ।

बागलुङ । घले हार्भेस्टिङ अस्ट्रेलिया कालिका कप खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ऐतिहासिक चैत्राष्टमी मेला २०८२ को मुख्य आकर्षण भएको पुरुष भलिबल अन्तर्गत शनिबार भएको सेमिफाइनल खेलमा गौंडाकोट युथ क्लबलाई सोझो सेटमा पराजित गर्दै घले हार्भेस्टिङ फाइनलमा पुगेको हो । राष्ट्रिय खेलाडी रेशम छन्त्यालको कप्तानीमा रहेको घले हार्भेस्टिङले ३-० को सोझो सेटमा जित निकाल्दै उपाधि होडमा एक कदम नजिक पुगेको हो ।

अधिकांश नेपाल पुलिस क्लबबाट व्यावसायिक खेल खेल्ने खेलाडीहरूले भरिएको घले हार्भेस्टिङले पहिलो सेट २५—११ दोस्रो सेट २५—१६ र तेस्रो सेट २५—१६ ले जित्दै फाइनलको यात्रा तय गरेको हो । आइतबार सिद्धार्थ चस्मा घर बागलुङ र आदित्य होल्डिङ तित्याङको बिच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग घले हार्भेस्टिको उपाधि भिडन्त हुनेछ । घले हार्भेस्टिङको टिममा कोसी प्रदेश टिमका क्याप्टेन विष्णु बस्नेत समेत सहभागी छन् ।

सिद्धार्थ चस्मा घरले गण्डकी प्रदेशको सेट टिम उतारेको छ भने आदित्य होल्डिङ तित्याङमा एपिएफका सुरेन्द्र केसी लगायतका खेलाडी सहभागी छन् । सेमिफाईनल जित्ने टिम उपाधिका लागि घले हार्भेस्टिङसंग प्रतिस्पर्धा गर्दा पराजित टिमले गौंडाकोट भलिबलसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । कालिका कप खुला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ३ लाख मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् । द्वितीय हुनेले नगद १ लाख ५० हजार नगद मेडल ट्रफी र प्रमाणपत्र र तृतीय हुनेले नगद ५० हजार मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजारले पुरस्कृत गरिनेछ ।

शान्ता मावि र इलाइट भलिबल फाइनलमा

चैत्राष्टमी मेलामा आयोजना गरिएको खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शान्ता मावि पोखरा र इलाइट भलिबल एकेडेमी पोखराबिच प्रतिस्पर्धा हुने भएको छ । शनिबार भएको सेमिफाइनल खेलमा दुबै टिमले आ—आफ्नो प्रतिस्पर्धीलाई पन्छाउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । महिला भलिबलको पहिलो सेमिफाईनल खेलमा शान्ता माविले सृष्टि फर्निचर धौलागिरि विरेन्द्र माविलाई ३—२ ले पन्छाउँदै फाइनल पुग्यो ।

 २-० सेटमा पछि परेको अवस्था उल्ट्याउँदै शान्ता फाइनल पुगेका हो । शान्ताले पहिलो सेट २५-१५ र दोस्रो सेट २६-२४ ले गुमाएको थियो । तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५-११ ले जित हात पारेको शान्ता चौथो सेटमा पनि २५-२२ ले अगाडि रह्यो । २-० को अवस्थाबाट २-२ बराबरी सेटको अवस्थामा खेल पुर्‍याएको शान्ताले निर्णायक पाँचौं सेट १५-१० ले जित्दै फाइनल पुगेको हो ।

महिला भलिबलको दोस्रो सेमिफाइनल खेलमा भने इलाइट भलिबल एकेडेमी पोखराले जैमिनी नगरपालिकालाई सोझो सेटमा पराजित गर्दै शान्ता माविसंग उपाधि भिडन्त पक्का गर्‍यो । इलाइट भलिबलले पहिलो सेट २५-१६ दोस्रो सेट २५-११ र तेस्रो सेट २५-२१ ले जित्न सफल भयो । सेमिफाइनलमा पराजित भएका जैमिनी नगरपालिका र सृष्टि फर्निचार धवि माविको बिचमा तेस्रो स्थानका लागि आइतबार प्रतिस्पर्धा हुनेछ ।

यस अघि लिग चरणमा भएको खेलमा इलाईट भलिबल शान्ता मावि र बडिगाड गाउँपालिकालाई पराजित गर्दै ग्रुप टप गरेर सेमिफाइनल पुग्दा शान्ता मावि ग्रुपमा दोस्रो हुँदै सेमिफाइनल पुगेको थियो। धवि माविले जैमिनी नगरपालिका र पञ्चमुल पिउने पानीलाई पराजित गरेर ग्रुप टप गर्दा जैमिनी दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको थियो । ग्रुप ए को सेमिफाइनलिस्ट उपाधिका भिडन्त गर्दा ग्रुप बी का सेमिफाइनलिस्ट भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख मेडल ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद ५० हजार मेडल ट्रफी र प्रमाणपत्र, तृतीय हुनेले नगद २५ हजार मेडल र प्रमाणपत्र पाउने भलिबल प्रतियोगिताका संयोजक अर्जुन खड्काले जानकारी दिए ।  महिला भलिबलमा पनि विद्यागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजारका दरले पुरस्कृत खेल संयोजक अर्जनु खड्काले बताए । 

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजनामा भइरहेको मेलामा भलिबल प्रतियोगिताको व्यवस्थापनका लागि जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला भलिबल संघ बागलुङले सहकार्य गरेको छ । शनिबार मेला सक्ने आयोजकको योजना रहे पनि भलिबल खेल बाँकी रहेको मेला एक दिन लम्बिएको मेला आयोजक मूल समिति संयोजक भुपेन्द्र खड्काले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप