२८ वर्षमा आमा बनिन् राप्तीकली
सारांश
- पर्सा राष्ट्रिय निकुञ्जको हात्तीसारमा २८ वर्षीया राप्तीकलीले रामचन्द्रगज नामक बच्चा जन्माएकी छिन्।
- हात्ती प्रजननका लागि योग्य भाले नहुँदा राप्तीकलीले २८ वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी हुन्।
- निकुञ्जमा हात्ती सफारीका लागि वार्षिक करिब १ हजार पर्यटक आउने गर्छन्, तर पर्यटनमैत्री लगानीको अभाव छ।
बारा । पर्सा राष्ट्रिय निकुञ्जको अम्लेखगञ्ज हात्तीसारमा २८ वर्षकी राप्तीकली आमा बनेकी छिन् । उनले चैत २ गते आफ्नो पहिलो सन्तानका रूपमा रामचन्द्रगजलाई जन्म दिएकी हुन् । हात्ती प्रजातिमा भाले जन्मिए नामको पछाडि 'गज' र पोथी जन्मिए 'कली' राख्ने चलन छ ।
चैत १३ गते रामनवमीको दिन पारेर निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाकै नामबाट छावाको नामकरण गरिएको छ ।
सामान्यतया १० वर्ष उमेर पुगेपछि हात्ती गर्भधारणका लागि योग्य मानिन्छ । तर, प्रजननका लागि निकुञ्जसँग योग्य भाले हात्ती नहुँदा राप्तीकलीले २८ वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी हुन् । राप्तीकली करिब २२ महिनाअघि यमगज नामक जंगली भाले हात्तीको संसर्गबाट गर्भवती भएकी थिइन् ।
दुई दशकदेखि अम्लेखगञ्ज हात्तीसारमा कार्यरत पछुवा पवन सिंहले निकुञ्जका पोथी हात्तीलाई गर्भधारणका लागि जंगली भाले हात्ती नै कुर्नुपर्ने बाध्यता रहेको बताएका छन् । ‘यदि भाले हात्ती उपलब्ध भयो भने त ८/९ वर्षदेखि नै हात्तीले बच्चा जन्माउन थाल्छ,’ सिंहले भने, ‘तर गर्भधारणका लागि बलवान् भाले हात्ती चाहिन्छ, जुन हामीसँग छैन । जंगली हात्ती कहिले आउँछ, ठेगानै हुँदैन ।’

हात्तीले ४५ देखि ५० वर्षसम्म बच्चा जन्माउन सक्छ । मानव जातिमा जस्तै हात्तीमा पनि बच्चा जन्मिएपछि सुत्केरी हात्ती र छावाको विशेष रेखदेख तथा स्याहारसुसार गरिन्छ ।
सुत्केरी हात्तीका लागि दानामा चना हालेर खुवाइन्छ भने चामल र सक्खर मिसाएर खिर तयार पारिन्छ । साथै आहारका लागि उखु र भिटामिनहरू पनि खुवाइने अम्लेखगञ्ज हात्तीसारका कमान्डर अजय चौधरी बताउँछन् । उनका अनुसार यस्तो पौष्टिक खाना २ वर्षसम्म लगातार खुवाइन्छ । छावाको हकमा भने आमाको दूधसँगै २०-२५ दिन पुगेपछि आमासँगै चरिचरनमा विस्तारै हिँड्न थाल्छ ।
‘छावाले आमाको दूधसँगै घाँस पनि खान्छ,’ चौधरीले भने, ‘तालिम सुरु नहुँदासम्म बच्चा आमासँगै बस्छ । छावालाई ३र४ वर्ष उमेर पुगेपछि तालिम दिन सुरु गरिन्छ ।’ पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत प्रतापुर, भाटा र अम्लेखगञ्जमा गरी कुल ८ वटा हात्ती छन् । जसमा २ वटा भाले र ६ वटा पोथी हात्ती छन् । ती ६ वटा पोथी हात्तीमध्ये ४ वटा वयस्क छन् ।
हात्तीले गर्भवती भएको २२ देखि २४ महिनामा बच्चा जन्माउँछ । पछुवा पवन सिंहका अनुसार सुत्केरी हुने महिना नजिकिँदै गएपछि गर्भवती हात्तीलाई एकछिन पनि एक्लै छोड्न मिल्दैन । ‘सुत्केरी हुने दिन नजिकिएपछि २४ सै घण्टा पालो लगाएर ड्युटी बस्नुपर्छ,’ सिंहले भने, ‘बच्चा बाहिर निस्किन खोज्दा वा सुत्नेबेला खुट्टा फस्न सक्ने भएकाले जन्मेको १ महिनासम्म छावालाई एक्लै छोड्न मिल्दैन ।’

निकुञ्जअन्तर्गतका हात्तीसारहरूमा पशु चिकित्सकसहित ३६ जना कर्मचारी कार्यरत छन् । निकुञ्जले हात्तीसारमा रहेका हात्तीहरूलाई पर्यटकका लागि जंगल सफारीमा प्रयोग गर्दै आएको छ । निकुञ्जमा वार्षिक करिब १ हजार पर्यटक हात्ती सफारीका लागि आउने गर्छन् । तै पनि पर्याप्त प्रचारप्रसार र पर्यटनमैत्री लगानीको अभावमा निकुञ्ज पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सकेको छैन ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले निकुञ्जका हात्तीसारहरू जंगली हात्तीको प्रजनन केन्द्रका रूपमा विकास हुँदै गएको बताएका छन् । उनले समूहबाट छुट्टिएका जंगली हात्तीहरू प्रजननका लागि यहाँ आउने गरेका बताए ।
‘हाम्रो हात्तीसार पर्यटकका लागि गन्तव्यका रूपमा विकास भइरहेको छ,’ खतिवडाले भने, ‘यहाँ पूर्वमा झापादेखि समेत जंगली हात्तीहरू आउँछन् । आगामी दिनमा यसलाई अझ व्यवस्थित रूपमा अगाडि बढाउने हाम्रो सोच छ ।’
पर्सा राष्ट्रिय निकुञ्ज जंगली हात्तीका लागि प्रख्यात मानिन्छ । यो मधेस प्रदेशकै एक मात्रै निकुञ्ज हो । पर्सा–चितवन कम्प्लेक्सअन्तर्गत यस भेगमा ६२ वटा जंगली हात्ती छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण