बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुगुमा द्रुत दूरसञ्चार सेवा विस्तारको माग, मन्त्रीद्वारा नोकिया मोबाइल उपहार अस्वीकार

मङ्गलबार, १७ चैत २०८२, १९ : ४१
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • मुगुका युवाले दुर्गम क्षेत्रमा इन्टरनेट र मोबाइल सेवाको समस्याबारे सरकारको ध्यानाकर्षण गराए।
  • युवा टोलीले मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै भौगोलिक समस्या र समाधानका उपाय सुझाए, सेवा विस्तारमा जोड दिए।
  • मन्त्रीले देशभर ४जी सेवा विस्तार भइरहेको र कर्णाली प्रदेशलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।

काठमाडौँ । मुगुका युवाले दुर्गम क्षेत्रमा अझै पनि प्रभावकारी इन्टरनेट र मोबाइल सेवा नपुगेको र सरकारको १०० वटा निति तथा कार्यक्रममा उक्त कुरा उल्लेख नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

आशीष देवकोटाको नेतृत्वमा गएको मुगाली युवा टोलीले सूचना तथा सञ्चार प्रविधि मन्त्री विक्रम तिमल्सिनासँग भेट गरी जिल्लाको वास्तविक अवस्था, भौगोलिक समस्या र समाधानका उपाय सहित सकरात्मक सुझाव प्रस्तुत गरेको थियो। 

प्रस्तुत तथ्यांकअनुसार मुगु जिल्लामा रहेका २४ टेलिकम टावरमध्ये केवल १२ वटामा मात्र सेवा सञ्चालनमा छ भने बाँकी स्थानमा अझै वा कमजोर नेटवर्कमै नागरिक निर्भर छन्। ४५ वडामध्ये करिब ३० वडामा मात्र सीमित कभरेज पुगेको छ र प्रभावकारी इन्टरनेट पहुँच ५ प्रतिशतभन्दा कम रहेको जुन दक्षिण अफ्रिकी राष्ट्र सोमालियाभन्दा कम रहेको उल्लेख गरिएको छ। ६४ हजारभन्दा बढी जनसंख्या रहेको जिल्लामा इन्टरनेट प्रयोगकर्ता अत्यन्त न्यून रहेको र धेरै नागरिक अझै डिजिटल सेवाबाट वञ्चित रहेको अवस्था छ।

यसै सन्दर्भमा युवाहरूले मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमा मुगुका करिब ९५ प्रतिशत नागरिक अझै भरपर्दो इन्टरनेट सेवाबाट वञ्चित रहेको, गाउँसम्म सरकारी सूचना नपुगेको तथा सेवा विस्तारमा कर्णालीलाई पर्याप्त प्राथमिकता नदिएको र जसका कारण मुगुको ६०५ नागरिक गाउँबाट शहरी क्षेत्रमा बसाइँसराई भएको र अझै पनि सरकारले केही उपाय अपनाएर जान नसके गाउँ खाली हुने गुनासो गरेका छन्। उनीहरूले कतिपय स्थानमा मोबाइल सिग्नल पाउन डाँडामा पुग्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै तत्काल सुधारको माग गरेका छन्।

भेटका क्रममा युवाहरूले प्रतीकात्मक रूपमा पुरानो नोकिया मोबाइल फोन मन्त्रीलाई उपहार दिएका थिए। तर मन्त्री तिमल्सिनाले उक्त उपहार अस्वीकार गरेका थिए। यस घटनाले दुर्गम क्षेत्रको डिजिटल विभेदप्रति युवाको असन्तुष्टि झल्काएको छ।

युवाहरूले मुगुको अवस्थालाई अन्तर्राष्ट्रिय सन्दर्भसँग तुलना गर्दै राज्यले कर्णालीलाई बारम्बार उपेक्षा गरेको आरोप लगाएका छन्। साथै, आगामी योजना तथा कार्यक्रमहरूमा मुगुलगायत दुर्गम जिल्लालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

जवाफमा मन्त्री तिमल्सिनाले हाल देशभर करिब १२०० वटा टावरमार्फत ४जी सेवा सञ्चालनमा रहेको र थप ३००० टावर निर्माण गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिने प्रतिबद्धता जनाए। उनीहरूले बाँकी स्थानमा शीघ्र सेवा विस्तार गर्न माग गरेका छन्। 

त्यस्तै, मन्त्रीसँगको भेटमा युवाहरूलाई भिडियो तथा फोटो खिच्न रोक लगाइएको विषयले समेत केही समय तनाव सिर्जना गरेको बताइएको छ।

युवाहरूले यसअघि पनि विभिन्न सरकारका मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाइसकेको र अब योजना मात्र नभई शीघ्र कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूले सबै वडामा द्धन् सेवा विस्तार, टावर स्तरोन्नति तथा दुर्गम क्षेत्रमा विशेष बजेट व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

मुगु जिल्लाका सोरु, मुगुम कार्मारोंग, खत्याड गाउँपालिका तथा छायाँनाथ–रारा नगरपालिकामा दूरसञ्चार सेवा अझै कमजोर रहेको भन्दै स्थानीयले छिटो सुधारको अपेक्षा गरेका छन्। जवाफमा मन्त्रीले ६ महिनामा देशभर गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप