माओवादी जनयुद्धका सैन्य योजनाकारदेखि एमाले संसदीय दलको नेतासम्म
सारांश
- रामबहादुर थापा बादल नेकपा एमालेको संसदीय दलको नेतामा निर्वाचित भएका छन्, जसको निर्वाचन च्यासलमा भएको थियो।
- सुहाङ नेम्वाङले उम्मेदवारी फिर्ता लिएपछि बादल दलको नेता चयन भएका हुन्, र एमालेले जम्मा २५ सिट जितेको थियो।
- बादल पूर्वमाओवादी नेता हुन्, जो विभिन्न समयमा मन्त्री र पार्टी पदमा रहे, र अहिले पार्टीको तर्फबाट संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने चुनौती छ।
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्वाचित भएका छन् । बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा उनी दलको नेता चयन भएका हुन् ।
दलको नेतामा इलाम–२ बाट निर्वाचित युवा सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । सुहाङ नेम्वाङले उम्मेदवार फिर्ता लिएसँगै बादल दलको नेता चयन भएको निर्वाचन समितिका संयोजक नीरज आचार्यले जानकारी दिए । भर्खर सम्पन्न निर्वाचनमा एमालेले जम्मा २५ सिट जितेको थियो ।
मङ्सिरमा भएको एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका बादल पूर्वमाओवादी नेता हुन् । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अध्यक्ष केपी ओली सहित प्रत्यक्षतर्फ उठेका सबै पदाधिकारी पराजित भएपछि दलको नेता बन्ने अवसर उनले पाए । यो पटक बादल समानुपातिक बन्दसूचीमा रहेका थिए ।
- को हुन् बादल ?
वि.सं. २०१२ साल वैशाख १९ गते गुल्मीमा जन्मिएका उनी २०३१ सालदेखि वामपन्थी आन्दोलनमा सक्रिय सहभागी भएका थिए । चितवनको रामपुर कृषि क्याम्पसबाट बीएस्सी-एजी अध्ययनका क्रममा हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक रहेका पुष्पकमल दाहाल प्रचण्डसँग भेट भएपछि बादल माओवादी आन्दोलनलाई अगाडि बढाउन सक्रिय भए । २०५२ सालमा नेकपा माओवादीले सशस्त्र आन्दोलन गर्दा उनी सैन्य योजनाकार थिए । पुराना कम्युनिस्ट नेता अमिक शेरचनबाट बादलले कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।
२०३७ देखि २०६३ सालसम्म बादल भूमिगत भए । उनी २०४२ मा नेकपा(मशाल)को केन्द्रीय सदस्य बने । २०४४ सालमा उनी बागमती अञ्चलको इन्चार्ज बने । २०५२ सालमा नेकपा माओवादीले सशस्त्र विद्रोह गर्दा उनी मुख्य नेतामध्ये एक थिए । जनयुद्धकालदेखि शान्तिप्रक्रियामा सहभागी हुँदा समेत उनलाई प्रचण्डको सहपाठी र सहयोगीका रूपमा भूमिका निर्वाह गर्दै आएको इमानदार पात्रका रूपमा परिचित थिए ।
२०६२ सालमा तत्कालीन सरकार र विद्रोही माओवादीबिच १२ बुँदे सहमति भएपछि उनी शान्तिपूर्ण राजनीतिमा आए । २०६४ सालमा भएको निर्वाचनमा बादल चितवन–२ बाट निर्वाचित भए । २०६५ सालमा उनी प्रचण्ड नेतृत्वको सरकारमा रक्षा मन्त्री भए ।
२०६९ सालमा पार्टी विभाजन हुँदा मोहन वैद्य किरण नेतृत्वको पार्टीमा महासचिव बने । २०७० सालको निर्वाचन बहिस्कार गरेका उनी २०७४ सालको निर्वाचनअघि माओवादीमा फर्किएका थिए । २०७४ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए ।
केपी ओली नेतृत्वको सरकारमा माओवादीबाट सरकारको नेतृत्व गर्दै उनी गृहमन्त्री बने । २०७५ सालमा एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीमा उनी सचिवालय सदस्य बने । २०७७ सालमा नेकपा विभाजन हुँदा बादल एमालेमै बसे । त्यतिबेला सर्वोच्च अदालतले उनको राष्ट्रिय सभा सदस्य पद नै खारेज गरेको थियो ।
२०७८ सालमा चितवनको सौराहमा भएको १०औँ महाधिवेशनमा उनी उपाध्यक्ष बनेका थिए । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दुई तिहाइ नेतृत्वको सरकार बनाएको बेला पार्टीको तर्फबाट संसद्मा प्रभावकारी भूमिका निर्वाचन गर्नुपर्ने चुनौती बादललाई रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण