बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पर्सा मालपोतका कर्मचारीविरुद्ध २ करोड ९३ लाख राजस्व हिनामिनाको आरोपमा मुद्दा दायर

बुधबार, १८ चैत २०८२, १७ : २५
बुधबार, १८ चैत २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्साका चार जना तत्कालीन मालपोत अधिकृत र एक जना नायब सुब्बा (स्वर्गीय) का हकदारसहित पाँच जना कर्मचारीविरुद्ध झण्डै २ करोड ९३ लाख बढी सरकारी राजस्व हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

यो घटना आर्थिक वर्ष २०७०/७१ मा मालपोत कार्यालय पर्साको रजिस्ट्रेसन फाँट 'ग' मा भएको आयोगले जनाएको छ । 

आयोगले चैत्र १८ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार फाँटमा एकै नम्बरका दोहोरो र तेहेरो रजिस्ट्रेसन नम्बर राखी एकभन्दा बढी लिखत पारित गरिएको पाइएको छ । कम राजस्व रकमका लिखतहरू मात्र बैंक दाखिला गरी बढी राजस्व कायम भएका लिखतहरूबाट प्राप्त रकम लेखा फाँटमा नबुझाई हिनामिना गरिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

कुल २ करोड ९३ लाख ६८ हजार ५ सय ६५ रुपैयाँ राजस्व हिनामिना भएको अख्तियारको दाबी छ । 

आरोपपत्रमा तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूप बहादुर बोगटी, पदम प्रसाद अर्याल र सुरेन्द्र प्रसाद राव कुर्मीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो कैद र दोब्बर जरिवाना माग गरिएको छ ।

यस्तै, स्वर्गीय नायब सुब्बा किरण प्रसाद उपाध्यायको हकमा उनका छोराहरू राज किशोर प्रसाद उपाध्याय, गौतम प्रसाद उपाध्याय, पशुपती प्रसाद उपाध्याय र मुरारी प्रसाद उपाध्यायबाट हिनामिना भएको कुल बिगो असुलउपर गर्न मागदाबी लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप