देशभरका मालपोत तथा भूमि सुधार कार्यालयमा बिचौलियालाई 'नो इन्ट्री'
सारांश
- भूमि व्यवस्थापन विभागले मालपोत कार्यालयहरूमा अनाधिकृत व्यक्तिको प्रवेशमा रोक लगाएको छ।
- विभागले गोप्य कागजातमा बिचौलियाको पहुँच बढेको भन्दै कडाइ गरेको छ।
- अब कर्मचारी बाहेक अरू कसैले पनि फाइल ओसारपसार गर्न वा अभिलेख हेर्न पाउने छैनन्।
विराटनगर । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत तथा भूमि सुधार कार्यालयहरूमा अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गर्दै बाहिरी व्यक्तिलाई कार्यालयका कागजात र स्रेस्तामा पहुँच नदिन कडा निर्देशन जारी गरेको छ ।
विभागले बुधबार (आज) सबै मालपोत र भूमि सुधार कार्यालयलाई परिपत्र गर्दै कार्यालयका गोप्य र संवेदनशील कागजातहरूमा बिचौलिया तथा अनधिकृत व्यक्तिहरूको अनियन्त्रित पहुँच बढेको भन्दै यस्तो कदम चालेको हो । विभागद्वारा जारी पत्रमा अनधिकृत व्यक्ति प्रवेशमा रोक लगाउने सम्बन्धमा उल्लेख गर्दै कार्यालयका विभिन्न फाँटहरूमा हुने भिडभाड र कागजातको सुरक्षामा गम्भीर प्रश्न उठाइएको छ ।
विभागका शाखा अधिकृत कुल प्रसाद पराजुलीद्वारा हस्ताक्षरित पत्रमा भूमि प्रशासन निर्देशिका, २०८१ को दफा ६ मा मोठको सुरक्षा सम्बन्धी व्यवस्था र सोही निर्देशिकाको दफा ३२३ मा मिसिल तथा लिखत कागजातहरू बाहिरी व्यक्तिलाई दिन नहुने कानुनी प्रावधान रहेको स्मरण गराइएको छ ।
व्यवहारमा भने धेरै जसो कार्यालयहरूमा अनधिकृत/असम्बन्धित व्यक्ति र लेखापढी कानुन व्यवसायी तथा भूसेवा केन्द्र सञ्चालक तथा सहयोगीहरूले कार्यालयका गोप्य कक्षसम्म पहुँच पुर्याएको विभागको निष्कर्ष छ ।
अनुगमनका क्रममा भेटिएका दृश्यलाई उद्धृत गर्दै विभागले पत्रमा लेखेको छ, ‘अनधिकृत व्यक्तिहरू कार्यालयको फाँटफाँटमा प्रवेश गरी कार्यालयको मोठ स्रेस्ता, रोक्का अभिलेख, तामेली शाखामा रहेको अभिलेख लगायत विभिन्न शाखाहरुमा रहेका कागजात तथा विवरणहरु हेर्ने गरेको’ पाइएको छ ।
यति मात्र होइन, ती व्यक्तिहरूले एक शाखाबाट अर्को शाखामा कागजातहरू लैजाने गरेको जस्ता कार्य भइरहेको गुनासो प्राप्त भएको र विभागको निरीक्षणमा समेत त्यस्ता कार्य पुष्टि भएको पत्रमा उल्लेख छ ।
कार्यालयको सुरक्षा र गोपनीयतामा आँच पुगेको भन्दै विभागले अबदेखि कार्यालयभित्र अनधिकृत व्यक्तिको प्रवेशलाई रोक्न र कार्यालयको स्रेस्ता तथा अभिलेख अन्य व्यक्तिले हेर्ने, चलाउने, एक शाखाबाट अर्को शाखामा लैजाने जस्ता कार्य अविलम्ब रोकी त्यस्ता कार्य हुन नदिने व्यवस्था गर्न निर्देशन दिएको छ ।
विभागको यो निर्देशनसँगै अब मालपोत कार्यालयहरूमा कर्मचारीबाहेक अन्य व्यक्तिले फाइल ओसारपसार गर्ने वा ढड्डा पल्टाएर विवरण हेर्ने कार्यमा पूर्ण प्रतिबन्ध लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण