सरकारको १०० बुँदे कार्ययोजनामा शिक्षा, रोजगारी र कृषि उपेक्षित : साह
सारांश
- राष्ट्रिय सभा सदस्य मदनकुमारी साहले सरकारको १०० दिने कार्ययोजनामा शिक्षा, रोजगारी र कृषि क्षेत्र उपेक्षित भएको भन्दै आपत्ति जनाएकी छन् ।
- उनले सरकारलाई बदलाको राजनीति त्यागेर विधिको शासन कायम गर्दै खाद्य सुरक्षा र महिला हिंसा जस्ता गम्भीर विषयमा ध्यान दिन आग्रह गरेकी छन् ।
- सुदूरपश्चिमको विकासका लागि स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन र ठुला जलविद्युत आयोजनाको निर्माण कार्यलाई तीव्रता दिन उनले माग गरेकी छन् ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी राष्ट्रिय सभा सदस्य मदनकुमारी साहले सरकारले हालै सार्वजनिक गरेको ‘१०० दिनका १०० काम’ सम्बन्धी कार्ययोजनामा मुलुकका आधारभूत र गम्भीर समस्याहरू नसमेटिएको भन्दै कडा आपत्ति जनाएकी छन् । राष्ट्रिय सभाको अधिवेशनलाई सम्बोधन गर्दै उनले शिक्षा, वैदेशिक रोजगारी र कृषि क्षेत्रका ज्वलन्त मुद्दाहरूमा सरकार मौन रहेको टिप्पणी गरेकी हुन् ।
सरकारलाई बदलाको राजनीति त्यागेर विधिको शासन र जनचाहना अनुरूप काम गर्न उनले आग्रह गरेकी छन् । नेतृ साहले सरकारको १०० दिने कार्ययोजनाको स्वागत गरे पनि यसले वास्तविक समस्यालाई छुन नसकेको तर्क गरिन् ।
विशेष गरी शिक्षा क्षेत्रमा व्याप्त बेथिति, वैदेशिक रोजगारीका चुनौती र युद्धका कारण विदेशमा जोखिममा परेका नेपाली युवाहरूको व्यवस्थापनबारे कुनै ठोस योजना नहुनु दुःखद भएको उनको भनाइ छ । कृषि क्षेत्रमा प्रयोग भइरहेका हानिकारक विषादी र पुनः उत्पादन नहुने बीउका कारण खाद्य सुरक्षामा गम्भीर खतरा बढिरहेको भन्दै उनले सरकारलाई समयमै सचेत हुन चेतावनी दिएकी छन् । सीमा समस्या र कूटनीतिक क्षेत्रमा देखिएका बेथिति सुधार्नु सरकारको प्राथमिकता हुनुपर्नेमा उनले जोड दिइन् ।
सम्बोधनका क्रममा साहले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको ठुलो बलिदानीबाट प्राप्त भएको स्मरण गराउँदै यसको रक्षा र सुदृढीकरण नै पहिलो प्राथमिकता हुनुपर्ने बताइन् । ‘वैदेशिक रोजगारबाट फर्कने युवाहरूको व्यवस्थापन, इन्धनको अभाव र चर्को महँगी नियन्त्रणबारे सरकारको १०० बुँदा किन मौन छ ?’ भन्दै उनले प्रश्न गरिन् ।
उनले लोकतन्त्रमा विधिको शासन हुनुपर्ने र कुनै पनि व्यक्ति वा समूहप्रति बदलाको भावना राखेर कार्य गर्न नहुनेमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।देशमा बढ्दो महिला हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै साहले इनिशा विकको बलात्कार र हत्या जस्ता जघन्य अपराधमा न्याय पाउन कहिलेसम्म माइतीघरमा धर्ना बस्नुपर्ने हो भनी सरकारलाई प्रश्न गरिन् ।
उनले सुदूरपश्चिमको विकासका लागि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई यसै आर्थिक वर्षदेखि पूर्ण रूपमा सञ्चालन गर्न माग गरेकी छन् । साथै, पश्चिम सेती र कर्णाली जस्ता ठुला जलविद्युत आयोजनाहरूको निर्माण कार्यलाई तीव्रता दिन समेत उनले सरकारसँग जोडदार माग गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण