शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : श्रमिकको स्वास्थ्य परीक्षण सवाल

स्वास्थ्य परीक्षणको सिन्डिकेट खारेजी : श्रमिकलाई ‘राहत’ कि कार्यान्वयनमा ‘सास्ती’ ?

शुक्रबार, २० चैत २०८२, ११ : ५५
शुक्रबार, २० चैत २०८२

सारांश

  • सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि स्वास्थ्य परीक्षणको सिन्डिकेट खारेज गर्दै सरकारी तथा निजी जुनसुकै अस्पतालबाट परीक्षण गराउन पाउने निर्णय गरेको छ।
  • यो निर्णयले श्रमिकको आर्थिक बोझ घटाउने सरकारी दाबी रहे पनि व्यवसायीहरूले कार्यान्वयनमा जटिलता र अन्तर्राष्ट्रिय मापदण्डको चुनौती औंल्याएका छन्।

काठमाडौँ । अर्थतन्त्रको मेरुदण्ड मानिएको वैदेशिक रोजगारीको क्षेत्र दशकौँदेखि विभिन्न तहका सिन्डिकेट र विचौलियाको चङ्गुलमा छ । राहदानी बनाउनेदेखि म्यानपावरसम्म र श्रम स्वीकृतिदेखि स्वास्थ्य परीक्षणसम्म श्रमिकहरू पाइला–पाइलामा सिन्डिकेटको सिकार हुने गरेका छन् ।

नयाँ जनादेश सहित झन्डै दुई तिहाइ बहुमत ल्याएर रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारले श्रम क्षेत्रमा रहेका यस्ता सिण्डिकेट हटाउन सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी पाएकै दुई दिनमा दीपककुमार साहले यससँग सम्बन्धित निर्णय गरे ।

वर्षौंदेखि जकडिएको स्वास्थ्य परीक्षणको सिन्डिकेट खारेज गर्ने निर्णय भएसँगै यस क्षेत्रमा ठुलो हलचल भएको छ । यस्ता खालका निर्णय विगतमा पनि हुने तर कार्यान्वयनमा फितलो हुने गरेका थिए । त्यसैले अहिले पनि पुरानै नियति दोहोरिने हो कि सरकारको निर्णयले श्रमिक वर्गलाई लाभान्वित बनाउँछ भन्नेबारे चर्चा हुन थालेको छ ।

सरकारको यो निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई ठुलो आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ । तर, अन्तर्राष्ट्रिय अभ्यास र गन्तव्य मुलुकका आफ्नै शर्तहरूका बिच सरकारको यो निर्णयले श्रमिकलाई वास्तविक सहजीकरण गर्ला कि प्रक्रियागत सास्ती थप्ला भन्ने प्रश्न उठेको छ ।

सरकारले गरेको यो निर्णयलाई केहीले श्रमिकमैत्री र क्रान्तिकारी कदम भनेका छन् भने अर्कोतिर यस क्षेत्रका विज्ञ र व्यवसायीहरूले यसलाई अव्यावहारिक, अदुरदर्शी र सस्तो लोकप्रियताका लागि गरिएको टिप्पणी गरेका छन् ।

अब वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम मन्त्रालयमा सूचीकृत भएका सीमित निजी संस्थामा मात्र धाउनुपर्ने छैन । सरकारी वा मापदण्ड पुगेका जुनसुकै निजी अस्पतालबाट गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट मान्य हुने व्यवस्था गरेको छ । मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार यो निर्णय वैदेशिक रोजगार ऐन, २०६४ र नियमावलीको भावनाअनुसार नै गरिएको बताए ।

उनले स्वास्थ्य परीक्षण गर्ने संस्थाको सिन्डिकेटेड प्रणालीलाई खारेज भन्दा पनि सरकारी र निजी दुवैले गर्न मिल्ने गरी निर्णय दाबी गरे । मन्त्रालयले खुला, प्रतिस्पर्धी र विश्वसनीय प्रणाली लागु गर्न पुरानो व्यवस्थालाई परिमार्जन गरिएको उनको भनाइ छ ।

‘सरकारले गरेको निर्णयको उद्देश्य भनेको वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि रहेको आर्थिक बोझ घटाउनु हो । साथै स्वास्थ्य परीक्षण सेवामा उनीहरूको पहुँचलाई सहज र पारदर्शी बनाउने काम गर्छ । त्यसमा कुनै दुविधा छैन । सरकारको निर्णयबाट कोही पनि आत्तिनु पर्ने अवस्था छैन,’ उनले भने ।

उनका अनुसार नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले सम्बन्धित गन्तव्य मुलुकको नियम र नेपालको आफ्नै कानुन बमोजिम स्वास्थ्य परीक्षण गराउनुपर्ने प्रावधान छ । यसअन्तर्गत हालसम्म ३२ वटा विभिन्न स्वास्थ्य परीक्षणहरू अनिवार्य गरिएको छ ।

‘विगतमा यी परीक्षणहरू गराउनका लागि सीमित निजी स्वास्थ्य संस्थाहरूलाई मात्र अनुमति दिइएको थियो । जसलाई सिन्डिकेटको रूपमा हेरिन्थ्यो । यो निर्णयले सिन्डिकेटको अन्त्य गर्दै स्वास्थ्य परीक्षण प्रणालीलाई थप लोकतान्त्रिक र श्रमिकमुखी बनाउने लक्ष्य राखेको छ,’ प्रवक्ता घिमिरेले भने, ‘यस निर्णयले अब सरकारी वा निजी जुनसुकै अस्पतालबाट गरिएको स्वास्थ्य परीक्षणको प्रतिवेदनले मान्यता पाउनेछ । यसले श्रमिकमाथिको आर्थिक बोझ घटाउने र सेवाको पहुँच सहज एवं पारदर्शी बनाउने हाम्रो अपेक्षा छ ।’

हाल म्यानपावर व्यवसायी र स्वास्थ्य संस्थाको मिलेमतोमा ६ हजार ५ सयदेखि ९ हजार ५ सय रुपैयाँसम्म शुल्क असुल्दै आएको सिन्डिकेट तोडिएपछि श्रमिकले ३ हजार रुपैयाँ आसपासमै भरपर्दो स्वास्थ्य परीक्षण गराउन पाउने अपेक्षा गरिएको छ । यसले गर्दा वार्षिक लाखौँको संख्यामा बाहिरिने युवाहरूको अरबौँ रुपैयाँ बचत हुने सरकारी दाबी छ ।

व्यवसायीको प्रतिवाद

नेपाल मेडिकल व्यवसायी संघका महासचिव कृष्णप्रसाद बजगाईंले यस निर्णयलाई सरकारको भ्रम छर्ने काम मात्रै भएको दाबी गरे । उनका अनुसार वैदेशिक रोजगार ऐनमा सरकारी अस्पतालबाट परीक्षण गर्न पाउने व्यवस्था पहिलेदेखि नै थियो । यसमा कुनै नयाँ कुरा छैन ।

बजगाईंको तर्क छ, ‘नयाँ मन्त्री आएपछि केही नयाँ काम गरेर सफल भइन्छ भन्ने मानसिकताले अध्ययन र सरोकारवालासँग छलफल नगरी यो निर्णय गरिएको हो । यसले देश, जनता र व्यवसायी कसैको पनि भलो गर्दैन ।’

उनले विगतमा डा. दिपेन्द्र रमन सिंहको नेतृत्वमा भएको विज्ञ टोलीको अध्ययन प्रतिवेदनलाई अध्ययन गरेर कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गरे ।  

नेपाल मेडिकल व्यवसायी जय गुरुङले सरकारको यो निर्णय जनप्रियताका लागि मात्र भएको बताए । उनले यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए ।

साउदी अरेबियाका लागि गाम्का र मलेसियाका लागि बायोमेट्रिक जस्ता प्रणालीहरू सम्बन्धित देशले तोकेका अन्तर्राष्ट्रिय मापदण्ड र संस्थामा आधारित रहेको भन्दै उनले यी संस्थाहरूलाई ठुला माफियाले चलाएको उनको भनाइ छ । उनले भने, ‘सिन्डिकेट हटायो भन्ने हल्लामात्रै हो । कहाँ हट्नु ? त्यो हटाउनै सकिँदैन । यो त अन्तर्राष्ट्रिय माफियाहरूको खेलो हो ।’

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले मेडिकल सिन्डिकेट खारेज गरेर सरकारी अस्पतालबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउँदा श्रमिकलाई लाग्ने खर्च घट्ने, पहुँच सहज हुने र ठगी नियन्त्रण हुने विश्वास लिएको बताए । उनले वैदेशिक रोजगारीमा जाने प्रक्रियालाई थप पारदर्शी बनाउने सरकारको उद्देश्य रहेको बुझिएको भए पनि कार्यान्वयन चुनौती रहेको बताए ।

भण्डारीका अनुसार साउदी अरेबियामा १९ वटा र मलेसियामा ३६ वटा तोकिएका मेडिकल सेन्टरहरूले मात्र स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था छ । सरकारको यो कदमले श्रमिकहरूलाई सहजता पुग्ने अपेक्षा गरिए पनि यसको कार्यान्वयन पक्ष र अन्तर्राष्ट्रिय मापदण्डमाथि प्रश्न उठाएको उनले बताए ।

राज्य आफैँ सिन्डिकेटको मतियार

वैदेशिक रोजगारीमा जानुअघि श्रमिकहरूले आफू शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको प्रमाणित गर्न स्वास्थ्य परीक्षण गराउनुपर्ने कानुनी व्यवस्था छ । तर यो व्यवस्था श्रमिकको हितभन्दा पनि सीमित स्वास्थ्य व्यवसायी र म्यानपावर व्यवसायीको कमाउने माध्यम बन्दै आएको थियो ।

हालसम्म श्रम मन्त्रालयमा सूचीकृत करिब १७१ स्वास्थ्य संस्थाहरूले मात्र यस्तो परीक्षण गर्न पाउने एकाधिकार थियो । त्यसमा पनि साउदी अरब, मलेसिया, ओमन, बहराइन जस्ता देशका लागि छुट्टाछुट्टै सिन्डिकेट खडा गरिएको थियो ।

मलेसिया जाने श्रमिकका लागि मात्रै ३६–३७ वटा स्वास्थ्य संस्थाको सिन्डिकेट थियो भने साउदी जानेका लागि गाम्का (हाल वाफिद) अन्तर्गतका सीमित संस्थाहरूले मात्रै परीक्षण गर्दै आएका थिए ।

यो एकाधिकारका कारण ६ हजार ५ सयदेखि ९ हजार ५ सय रुपैयाँसम्म शुल्क असुल्ने गरिएको थियो । जबकि, सरकारी अस्पतालहरूमा त्यही स्तरको परीक्षण २ हजार ५ सयदेखि ३ हजार रुपैयाँमै सम्भव छ । यसरी प्रति श्रमिक ५ देखि ६ हजार रुपैयाँसम्म बढी असुलेर वार्षिक अरबौँ रुपैयाँ श्रमिकको खल्तीबाट लुटिने गरिएको थियो ।

निजी क्षेत्रका मेडिकल संस्थाहरू भने सरकारले निर्धारण गरेको शुल्कमात्रै लिने गरेको बताउँछन् । तर सरकारले भने आफैँ सिन्डिकेटलाई प्रोत्साहन दिने गरी मनलाग्दी रूपमा खाडी बाहेकका मुलुकमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि १० हजार रुपैयाँसम्म लिने गरेको उनीहरू बताउँछन् ।

संघका महासचिव बजगाईंले कोरिया, जापान लगायत अन्य देशमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गरेर १० हजारसम्म लिने गरेको बताए । उनले अहिले पनि सरकारी र निजी अस्पतालहरूमा १० हजार देखि अष्ट्रेलिया जानेहरूका लागि २५ हजारसम्म लिने गरेको बताए । ‘राज्य आफैँ सिन्डिकेटको मतियार हो, निजी क्षेत्रलाई गाली गरेर मात्र समाधान निस्किँदैन,’ उनले भने ।

लगानी र रोजगारीमा सङ्कट

हाल वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने करिब २०० वटा निजी संस्था छन् । एक स्वास्थ्य संस्था खोल्न २ देखि ३ अर्ब रुपैयाँसम्म लगानी भएको छ । करिब २ हजार ५ सय दक्ष प्राविधिक जनशक्तिले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । सरकारको यो निर्णयले निजी क्षेत्रको अर्बौँको लगानी जोखिममा पर्ने र दक्ष जनशक्ति पलायन हुने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन् ।

पूर्वअध्यक्ष भण्डारीले व्यवसायीहरूले वास्तविक रूपमा काम गरिरहेका साना तथा मझौला व्यवसायीहरूलाई असर पुर्‍याउने तर ठुला माफियाहरूलाई कुनै फरक नपार्ने बताए । ‘सामान्य काम गरेर खाने व्यवसायीहरूलाई दुःख दिनेमात्र हो यो अहिलेको सरकारले,’ उनले भने ।

उनले लगानीकर्तालाई स्थिरता चाहिएको भन्दै बारम्बार नीति परिवर्तनले व्यवसायमा नकारात्मक असर पर्ने बताए ।

सरकारी निर्णय र कानुनी आधार

मन्त्रालयले अब सरकारी वा निजी जुनसुकै अस्पताल (मापदण्ड पुगेका) बाट गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट मान्य हुने भनेको छ । यो निर्णय वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ को व्यवस्था कार्यान्वयन गर्ने प्रयास भएको जानकारी दिएको छ ।

ऐनको दफा ७२ (१) ले सरकारबाट स्वीकृति प्राप्त संस्थाबाट परीक्षण गराउनुपर्ने भनेको छ भने नियमावलीको नियम ४५ (क) को उपनियम ९ ले सरकारी अस्पतालबाट परीक्षण गराउन कुनै बाधा नपर्ने स्पष्ट पारेको छ ।

विगतमा कानुनमा यस्तो व्यवस्था भए पनि पहुँचवाला व्यवसायीहरूको दबाबमा सरकारी अस्पतालहरूलाई यो प्रक्रियामा छिर्न दिइएको थिएन । अहिलेको निर्णयले कानुनको त्यही छिद्रलाई बन्द गरिदिएको छ । श्रम मन्त्रालयका अनुसार त्यसका लागि अब सरकारी अस्पतालहरूले पनि आवदेन भने दिनुपर्ने छ ।

विगतमा भएका सरकारी अनुगमनहरूले स्वास्थ्य परीक्षणका नाममा संगठित ठगी भइरहेको तथ्य उजागर गरेका थिए । कतिपय स्वास्थ्य संस्थाले श्रमिकको रगत र एक्स–रे समेत नगरी फिट रिपोर्ट दिने गरेको भनिँदै आएको थियो ।

कार्यान्वयनका चुनौती

निर्णय जति सुन्दर छ, यसको कार्यान्वयन त्यति नै जटिल देखिन्छ । यदि सरकारले प्राविधिक र कूटनीतिक तयारी नगरेमा यो निर्णय श्रमिकका लागि प्रत्युत्पादक पनि हुन सक्ने जानकारहरूको भनाइ छ ।

मलेसिया र खाडी मुलुकहरूले आफ्नै अनलाइन पोर्टल (जस्तै मलेसियाको लागि बेस्टिनेट, खाडीका लागि वाफिद) मार्फत स्वास्थ्य परीक्षणको रिपोर्ट माग्छन् । देशका सरकार वा रोजगारदाताले नेपालका सरकारी अस्पतालको रिपोर्टलाई आफ्नो प्रणालीमा मान्यता दिएनन् भने श्रमिकहरू नो अब्जेक्सन वा भिसा प्रक्रियामा रोकिन सक्ने व्यवसायीहरूको भनाइ छ ।

सरकारी रिपोर्ट लिएर गएको श्रमिकलाई गन्तव्य देशले अनफिट मानेर फर्काइदियो भने त्यसको क्षतिपूर्ति कसले दिने ? सबैभन्दा ठुलो चुनौती बनेको छ ।

मन्त्रालयका प्रवक्ता घिमिरेले सरकारको निर्णयले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई बहुआयामिक लाभ पुग्ने अपेक्षा गरिएको बताए । उनले सरकारी र निजी अस्पतालहरूले स्वास्थ्य परीक्षण गर्न पाउँदा श्रमिकलाई आफूलाई पायक पर्ने स्थानमा सेवा लिन सहज हुने बताए ।

उनले परीक्षणका लागि लामो लाइनमा बस्नुपर्ने वा पालो कुर्नुपर्ने बाध्यता हट्न सक्ने बताए । उनले सरकारले सरकारी अस्पतालहरूको क्षमता र गुणस्तर तथा पूर्वाधारको विषयमा अध्ययन गरिने बताए । यता व्यवसायीहरूले भने सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण सेवा लिँदा समस्या हुने बताए ।

संघका महासचिव बजगाईले भने, ‘नेपालका सरकारी अस्पतालहरूमा पहिले नै बिरामीको चाप अत्यधिक छ । दैनिक २–३ हजार श्रमिकको स्वास्थ्य परीक्षण गर्न ती अस्पतालले छुट्टै युनिट वा फास्ट ट्रयाक सेवा सुरु नगरेसम्म श्रमिकले रिपोर्ट पाउन हप्तौँ कुर्नुपर्ने हुन सक्छ । समयमा रिपोर्ट नपाउँदा उडान छुट्ने वा भिसाको म्याद सकिने सास्ती श्रमिकले भोग्नुपर्ने हुन सक्छ ।’

सरकारी अस्पतालहरूको पूर्वाधार, प्राविधिक क्षमता र सेवाको गुणस्तरमाथि पनि समस्या रहेको उनले बताए । वैदेशिक रोजगारीका लागि जाने निरोगी श्रमिकलाई बिरामीको उपचार हुने अस्पतालमा पठाउँदा संक्रमणको जोखिम बढ्ने र तोकिएको मापदण्डअनुसारको परीक्षण हुन नसक्ने व्यवसायीहरूको भनाइ छ ।

श्रम मन्त्रालयको यो निर्णय श्रमिकको पक्षमा छ भन्नेमा दुई मत छैन । तर, यो निर्णयलाई सस्तो लोकप्रियतामा मात्र सीमित हुन दिनुहुँदैन । जसमा परराष्ट्र मन्त्रालयमार्फत मलेसिया र खाडी मुलुकका सरकारहरूसँग वार्ता गरी नेपालका सरकारी र सूचीकृत नयाँ अस्पतालहरूको रिपोर्टलाई उनीहरूको प्रणालीमा दर्ता गराउन पहल गर्नुपर्ने आवश्यकता छ ।

सरकारी अस्पतालहरूमा वैदेशिक रोजगारीमा जानेहरूका लागि छुट्टै डेस्क र अत्याधुनिक मेसिनहरूको व्यवस्था गरी श्रमिकले छिटो र भरपर्दो रिपोर्ट पाउने व्यवस्था गर्न आवश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप