शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विराट गोल्डकप चैत २८ गतेदेखि, आठ टिम सहभागी हुने

शुक्रबार, २० चैत २०८२, १८ : २२
शुक्रबार, २० चैत २०८२

सारांश

  • विराट गोल्डकप चैत २८ गतेदेखि वैशाख ५ गतेसम्म विराटनगरमा सञ्चालन हुने भएको छ।
  • प्रतियोगितामा भारतको अल झारखण्ड बिर्सा मुन्डा एकेडेमीसहित कूल आठ टोलीको सहभागिता रहनेछ।
  • विजेताले ट्रफीसहित ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

विराटनगर । चैत २८ गतेबाट सुरु हुने विराट गोल्डकपमा भारतको अल झारखण्ड बिर्सा मुन्डा एकेडेमीसहित आठ टोलीको सहभागिता हुने भएको छ । 

आयोजक विराट गोल्डकप ट्रष्टका सदस्य तथा प्रवक्ता धनकुमार लामाले वैशाख ५ सम्म प्रतियोगिता हुने बताए । गोल्डकपमा मोरङ जिल्लाको लिग विजेता टोली सम्राट स्पोर्टिङ क्लबले चौथो खेलका क्रममा नयाँ वर्षको पहिलो दिन वैशाख १ गते झारखण्डको टोलीको सामना गर्नेछ । 

विजेता भए ट्रफीसहित ११ लाख रुपैयाँ हात पार्ने गोल्डकपको उद्घाटन खेलमा पूर्वविजेता झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबिच हुनेछ । विराटनगरस्थित नोबेल मेडिकल कलेजले मुख्य प्रायोजन गरिरहेको गोल्डकपको दोस्रो खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको टोली एपीएफ एफसीले सहिद स्मारक ‘ए’ डिभिजन विजेता तथा साविक उपविजेता चर्च ब्वाइजसँग स्पर्धा गर्ने छ । 

साविक विजेता थ्रीस्टार क्लबको अनुपस्थिति रहने गोल्डकपको तेस्रो खेलमा नेपाल पुलिस क्लबले २०८० सालको विजेता मच्छिन्द्र फुटबल क्लबको सामना गर्ने प्रवक्ता लामाले जानकारी दिए । सहिद मैदानमा हुने दिवारात्री खेलका लागि मैदान तयारीको काम भइरहेको छ । गोल्डकपको प्रवर्द्धनमा कोशी प्रदेश सरकार, विराटनगर महानगर, राष्ट्रिय खेलकुद परिषद् रहेका छन् । 

२०१८ सालबाट सुरु भएको महेन्द्र गोल्डकप २०६७ र ०६८ सालपछि विराट गोल्डकपमा रूपान्तरण भएको हो । ट्रष्टले भने यस पटकबाट विराट गोल्डकपलाई पुरानै अवस्थाबाट अघि बढाउने गरी ३८ औँ संस्करणका रूपमा गणना गर्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप