बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बागलुङ मिडिया मेला : गिद्धे प्रेसदेखि एआईसम्मको चर्चा

आइतबार, २२ चैत २०८२, १० : ३६
आइतबार, २२ चैत २०८२

सारांश

  • नेपाल पत्रकार महासंघ बागलुङले आयोजना गरेको दुई दिने बागलुङ मिडिया मेला विविध विषयमा छलफल गर्दै शनिबार सम्पन्न भएको छ।
  • मेलामा पत्रकारिताको शैली, प्रेस स्वतन्त्रता, एआईको प्रयोग र चुनौतीका साथै पत्रकारिताका विभिन्न आयामबारे गहन बहस भएको छ।
  • मेलाले पत्रकारितामा गुणस्तरीयता र विश्वसनीयता कायम राख्दै प्रविधिको सही प्रयोग गर्ने १० बुँदे घोषणापत्र जारी गरेको छ।

बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङले आयोजना गरेको दुई दिने ‘बागलुङ मिडिया मेला’ शनिबार सकिएको छ । मेलामा गिद्धे प्रेसदेखि आधुनिक आर्टिफिसियल इन्टेलिजेन्ससम्मको पत्रकारिताकाबारे बहस गर्दै सकिएको हो । एक दर्जन विषयमा मन्थन गरिएको मेलामा पुराना तथा नयाँ पुस्ताका पत्रकारले पत्रकारिताका बारेमा चर्चा गरेका हुन् । 

मेलाको अन्तिम दिन ‘पत्रकारितामा शैलीः शिष्ट कि आक्रामक’का बारेमा बहस भएको थियो । बहसमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले आक्रामक शैलीले प्रश्न सोध्ने र पाहुनालाई जवाफ दिन बाध्य बनाउने धर्म पत्रकारको नभएको बताए । आक्रामक शैली पत्रकारिताको धर्मभित्र नपर्ने भन्दै त्यस्तो पत्रकारिता धेरै समय नटिक्नेसमेत उनको भनाइ थियो ।

कतिपय आक्रामक शैली अपनाएका पत्रकारले पलायन हुनु परेको भन्दै पाको पुस्ताको पत्रकारदेखि युवासम्मले कन्टेन्टमा मेहनत गरेर तिखो प्रस्तुति दिन सकिने उनले बताए । पत्रकारिता गर्दा न्यूनतम मूल्य र मान्यता पालना गर्न नसके त्यो हिरासतमा राखेको अभियुक्तजस्तो हुने समेत झाले बताए ।

उनले भने, ‘लोकतन्त्रको आधार नै प्रेस स्वतन्त्रता हो । स्वतन्त्र प्रेस चाहने पत्रकार आक्रामक बन्न सक्दैन । खोजी पत्रकारिता गरेर कमजोरी भने मज्जाले लेख्न सकिन्छ । शालीन ढंग र बौद्धिक रूपमा लेख्ने पत्रकार बन्नु पर्छ । आक्रामक रूपमा प्रस्तुत भएका धेरै साथीहरू छिट्टै पेसा छाडेर अन्यत्र गए ।’

पत्रकार युवराज कँडेलले आक्रामक रूपमा प्रस्तुत हुने पत्रकारको शैली भएको बताए । कुन विषय कसरी उठान गर्ने भन्ने विषय महत्त्वपूर्ण हुने भन्दै सामान्य समाचारले देशमा सुशासन ल्याउन नसकिने र भ्रष्टाचार मौलाउने टिप्पणी गरे ।

‘पत्रकारको प्रस्तुत हुने शैली फरक फरक हुन्छ, संवेदनशील विषयमा आक्रामक हुने, जहाँ भ्रष्टाचार भएको छ, अनियमितता भएको छ त्यस्तो ठाउँमा शालीन हुने हुँदैन’ उनले भने, ‘जवाफ पाउन केही कडा प्रश्न सोध्नपर्छ, सामान्य प्रश्न गर्दा हामीले खोजेको जवाफ पाउन सक्दैनौँ ।’

पत्रकार शुभशंकर कँडेलले भने आक्रामक र नरमभन्दा पनि पत्रकारले वास्तविकता खोज्नुपर्ने बताए । सत्य खोज्दा भेटिएको कुरा जुनसुकै शैलीमा प्रस्तुत गरे पनि हुने उनको भनाइ थियो । कँडेलले पत्रकारिताका सिद्धान्त भने बिर्सन नहुने बताए ।

राष्ट्रिय समाचार समिति (रासस)का पूर्व प्रधान सम्पादक एकराज पाठकले सूचना प्रविधिको विकाससँगै पत्रकारिताको शैली पनि बदलिँदै आएको बताए । उनले पछिल्लो समय सामाजिक सञ्जालमा आउने छोटो भिडियो क्लिप हेर्ने तर गहन स्टोरी समाचार पढ्न छोडेको बताए । 

पत्रकारले पत्रकारिता गर्न सिकाउनु पर्ने भन्दै एआईलाई सहयोगका रूपमा प्रयोग गर्न सकिने तर पूर्ण रूपमा भर पर्न नहुने उनको भनाइ छ । एआईसँग भावना र संवेदना नहुने नहुँदा भावनासँग जोडिएका समाचार लेख्न पत्रकारले मात्रै सक्ने पाठक बताए ।

लोकान्तर डटकमका सम्पादक विमल गौतमले पछिल्लो समय पत्रकारितामा एआईको प्रयोग बढ्दै गएको बताए । पत्रकार पूर्ण रूपमा एआईको भर पर्न नहुने भन्दै त्यसले दिएको सूचनालाई पुष्टि गरेर मात्रै प्रयोग गर्दा पत्रकारिता प्रभावकारी बन्न सक्ने उनले बताए । 

टेक पानाका सम्पादक गोपाल साउदले पत्रकारले प्रविधिको विकाससँगै आफूलाई पनि पोख्त बनाउनु पर्ने बताए । पत्रकारबाट पत्रकारिता खतरामा परेको चिन्ता व्यक्त गर्दै सामान्य नागरिक र पत्रकारले राख्ने कन्टेन्ट उस्तै भएको उनको भनाइ थियो । पत्रकार विश्वसनीयताको स्रोत बन्नु पर्ने भन्दै पत्रकारिता जोगाउन पत्रकार बढी जिम्मेवार हुनु पर्नेमा जोड दिए । 

मेलामा ‘प्रेस स्वतन्त्रता ः अधिकार कि जिम्मेवारी ?’का विषयमा पनि चर्चा भएको थियो । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले हतारको साहित्य भनिने पत्रकारितालाई अहिले सेकेन्डभरमै समाचार दिनुपर्ने चुनौती थपिएको बताए । उनले एआईको प्रयोगले प्राविधिक सहजता दिए पनि यसले वास्तविक पत्रकारिताबाट टाढा पु-याउन सक्ने खतरा औंल्याए । 

प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले आचारसंहिता पालना नगरेकै कारण पत्रकारिताले विश्वसनीयता गुमाएको बताए ।  पत्रकारले पत्रकारिताबाहेक काम गर्दा गरेका गल्तीमा अपराधमा प्रचलित कानुनअनुसार कारबाही हुनुपर्ने धारणा पनि उनको भनाइ थियो ।  पत्रकार र मिडिया हाउस पीडित भएका घटनाभन्दा बढी मिडिया पीडितहरूको संख्या बढेको हुनसक्ने विषयमा अनुसन्धान गरी तथ्य ल्याउनुपर्ने खाँचो लामिछाने बताए ।

मेलामा ‘बागलुङको विकासः कृषि उद्यम कि पर्यटन ?’, ‘न्यू मिडियाः नाम पनि दाम पनि’, ‘मोफसलका मिडियाः सवल कि संकटमा ?’ ‘जननी जन्मभूमिश्च’, ‘कहाँ छ स्थानीय सरकार ?’, ‘मिडियामा सीमान्त आवाज’ र ‘पत्रकार महासंघ अब कस्तो बनाउने ? लगायतका विषयमा मन्थन गरिएको थियो । 

मेलाका विभिन्न सत्रमा अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा, गायक वसन्त थापा, भ्लगर सिर्जना सिज्जु, चलचित्र पत्रकार वर्षा बस्नेत, योजनाविद् विजयराज पन्त, आइटी विज्ञ चिराग थापा, पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष मुकेश राजभण्डारी, रामबहादुर जिसी, अभियानकर्मी आरके अदिप्त गिरि, बागलुङ नगरपालिकाका प्रमुख वसन्त श्रेष्ठ, टेलिभिजनकर्मी शुभशंकर कँडेल, युवराज कँडेल, अभियन्ता जूनू पुनमगर लगायतले विभिन्न विषमा मन्थन गरेका थिए ।

मेलामा फोटो प्रदर्शनी, परम्परागत मिडिया सामग्री प्रदर्शनी, प्रत्यक्ष चित्रकला र भित्ते पत्रिका लेखन प्रतियोगिता लगायतका कार्यक्रम समावेश गरिएको महासंघका अध्यक्ष राम थापाले जानकारी दिए ।

मेलाबाट १० बुँदे घोषणा पत्र समेत जारी भएको छ । घोषणापत्रमा मिडियाका नयाँ आयामहरुलाई स्वीकार र आत्मसाथ गर्दै सञ्चार संस्था र पत्रकारहरूलाई गुणस्तरीय तथा विश्वसनीय समाचार सामग्री लेखन/उत्पादनमा जोड दिने उल्लेख गरिएको छ ।

यस्तै समय र प्रविधिको गति अनुसार पत्रकारिता, त्यसमा पनि डिजिटल मिडिया र सोसल मिडियाको यथोचित उपयोग, जसमार्फत आयआर्जन, जीवनस्तरमा समेत टेवा पुग्ने नीति तथा कार्यक्रमका लागि तीनै तहका सरकारसँग घोषणा पत्रमार्फत माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप