मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासङ्घमा चुनावी सरगर्मी : अञ्जन श्रेष्ठको समर्थनमा घिमिरे प्यानलको उम्मेदवारी दर्ता

आइतबार, २२ चैत २०८२, १३ : १९
आइतबार, २२ चैत २०८२

सारांश

  • नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनका लागि अञ्जन श्रेष्ठको समर्थनमा शिवप्रसाद घिमिरे प्यानलले उम्मेदवारी दर्ता गराएको छ।
  • उपाध्यक्षका प्रत्याशी घिमिरेले निर्वाचित भएमा महासङ्घको सचिवालय सुधार र निजी क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
  • यता अध्यक्ष चन्द्र ढकालको समर्थन प्राप्त हेमराज ढकाल समूह पनि चुनावी मैदानमा सक्रिय रूपमा उत्रिएको छ।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नेतृत्वका लागि चुनावी सरगर्मी ह्वात्तै बढेको छ। चैत २९ र ३० गते हुने साधारण सभा तथा निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम तीव्र बनेसँगै महासङ्घभित्र दुई प्यानलबिचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ। 

आइतबार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थन प्राप्त शिवप्रसाद घिमिरेको समूहले ठुलो तामझामका साथ आफ्नो उम्मेदवारी दर्ता गराएको छ। घिमिरेले वस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका छन् भने उनको प्यानलबाट एसोसिएटतर्फ प्रबलजंग पाण्डे र जिल्ला/नगरतर्फ दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्षका प्रत्याशी घिमिरेले आफ्नो समूहको जित निश्चित भएको दाबी गरे। उनले निर्वाचित भएपछि महासङ्घको सचिवालय सुधार गर्ने र निजी क्षेत्रका गुनासो सुन्ने छुट्टै एकाइ स्थापना गर्ने प्रतिबद्धता जनाए। 

नेपालमा लगानीको वातावरण बन्न नसक्नुको मुख्य कारण जटिल कानुनहरू भएको उल्लेख गर्दै उनले अञ्जन श्रेष्ठको नेतृत्वमा ती समस्या समाधान गर्न तीव्रताका साथ काम गर्ने बताए। मुलुकले राजनीतिक निकास पाइसकेकाले अब महासङ्घले समृद्धिको दिशामा नेतृत्वदायी भूमिका खेल्नुपर्ने र त्यसका लागि जुझारु टोली आवश्यक रहेको उनको भनाइ छ।

यता, वर्तमान अध्यक्ष चन्द्र ढकालको समर्थन पाएका अर्का वरिष्ठ उपाध्यक्षका प्रत्याशी हेमराज ढकालको समूह पनि चुनावी मैदानमा निकै सक्रिय देखिएको छ। ढकाल समूहबाट एसोसिएट उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठसहितको टोलीले गत बिहीबार नै उम्मेदवारी दर्ता गराइसकेको छ। यो समूहमा अविनाश बोहरा, अम्बिका शर्मा लामिछाने, देशबन्धु बस्नेत लगायतका व्यवसायीहरू सदस्य पदका लागि चुनावी प्रतिस्पर्धामा छन्। 

दुवै प्यानलले आ-आफ्नो पक्षमा माहौल बनाउन देशव्यापी दौडाहा र लबिङलाई तीव्र पारेपछि महासङ्घको आगामी निर्वाचन उद्योगी व्यवसायी माझ निकै चर्चाको विषय बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप