शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश अध्यक्षमा राउत निर्वाचित

सोमबार, २३ चैत २०८२, १३ : ०८
सोमबार, २३ चैत २०८२

सारांश

  • नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत भारी मतान्तरसहित दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
  • राउतले आफ्ना निकटतम प्रतिस्पर्धी नवीन रिजाललाई पराजित गर्दै आफ्नो प्यानलसहित पूर्ण वर्चस्व कायम गरेका छन्।
  • नयाँ कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्यहरू राउतको प्यानलबाटै निर्विरोध वा निर्वाचित भएका छन्।

विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको निर्वाचनबाट राजेन्द्र राउतको प्यानलले सानदार जित हासिल गर्दै नेतृत्वमा आफ्नो पूर्ण वर्चस्व कायम गरेको छ । विराटनगरमा सम्पन्न महासङ्घको आठौँ सभाबाट अध्यक्षमा राजेन्द्र राउत भारी मतान्तरका साथ राउत दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

राउतले आफ्ना निकटतम प्रतिस्पर्धी नवीन रिजालको समूहलाई निकै पछि पार्दै प्यानलैसहित विजय हासिल गरेका छन् । यो जितसँगै राउतले आठ वर्षअघि मोरङ व्यापार सङ्घको कार्यकारिणी सदस्यको निर्वाचनमा व्यहोरेको हारको बदला समेत लिएका छन्, जहाँ तत्कालीन समयमा उनको टिम पराजित भएको थियो ।

निर्वाचनको अन्तिम परिणाम अनुसार अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा राउतले कूल १४२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नवीन रिजालले ५८ मतमा चित्त बुझाउनु पर्‍यो । चुनावी अङ्कगणित अनुसार राउतले सबै विधामा रिजाललाई निकै ठुलो अन्तरले पराजित गरेका हुन् । 

जसमा राउतले एसोसिएट तर्फ १०७ मत ल्याउँदा रिजालले ३९ मत मात्र पाए भने जिल्ला नगर तर्फ राउतले २४ र रिजालले १३ मत प्राप्त गरे । 

त्यसैगरी वस्तुगत तर्फ राउतले ११ र रिजालले ६ मत मात्र जोड्न सकेका थिए । तीन वर्षअघि झापामा भएको निर्वाचनमा निर्विरोध निर्वाचित भएका राउतले यसपटक भने चुनावी मैदानमै उत्रिएर आफ्नो लोकप्रियता प्रमाणित गरेका छन् ।

निर्वाचनमा जिल्ला नगरतर्फको उपाध्यक्षमा झापाका ऋषीराज तिम्सिना, वस्तुगततर्फ विराटनगरका राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा विराटनगरकै रविन दाहाल निर्विरोध निर्वाचित भए । त्यसैगरी कोषाध्यक्षमा विराटनगरका श्रवणकुमार अग्रवाल निर्विरोध चयन हुँदा एसोसिएट सदस्यमा देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ पनि विना प्रतिस्पर्धा चुनिएका छन् । पदाधिकारी तहमा निर्विरोध चयन भएपछि सदस्य पदका लागि मात्रै मतदान भएको थियो ।

सदस्य पदमा समेत राउत प्यानलकै उम्मेदवारहरूको वर्चस्व रह्यो । खुल्ला सदस्यतर्फ जिल्ला नगरबाट कृष्णप्रसाद रिजाल, राजु ढुंगाना ‘राजीव’, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नविनकुमार चौधरी निर्वाचित भएका छन् । त्यस्तै, वस्तुगत तर्फको सदस्यमा सुवास आचार्य र दीपक पाण्डेले विजय हासिल गरेका छन् । 

यी सबै निर्वाचित सदस्यहरू राजेन्द्र राउतको समूहबाट चुनावी मैदानमा उत्रिएका थिए, जसले गर्दा कार्यसमितिमा राउतको पूर्ण प्यानल नै स्थापित भएको छ ।

महासङ्घ कोशी प्रदेशको यो नयाँ नेतृत्व चयनका लागि कूल २०५ मतदाता सहभागी भएका थिए । जसमा जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरूबाट ३८, वस्तुगत संघ संस्थाबाट १९ र एसोसिएट सदस्यहरूबाट १४८ जनाले मतदान गरेका थिए । 

यो ऐतिहासिक जितसँगै राजेन्द्र राउतले आगामी तीन वर्षका लागि कोशी प्रदेशको निजी क्षेत्रको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप