शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राजीनामा घोषणा गरेका राप्रपा नेता थापा भने – जनतासँग हामीले के मुख देखाउने ?

मङ्गलबार, २४ चैत २०८२, १९ : ०७
मङ्गलबार, २४ चैत २०८२

मकवानपुर । जेनजी आन्दोलनको क्रममा पार्टीले सामूहिक राजीनामाको घोषणा गरे पनि राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा मंगलबारको प्रदेशसभा बैठकमा उपस्थित भएर सरकारमाथि आक्रामक रूपमा प्रस्तुत भएका छन् ।

राप्रपाले सङ्घीय र प्रदेश दुवै तहबाट राजीनामा दिने निर्णय गरेको पृष्ठभूमिमा बैठकमा उपस्थित भएका थापाले आफूहरू पदभन्दा पनि विधिको शासन र जनताको अधिकारका लागि लडिरहेको बताए ।

पाँच महिनापछि सुरु भएको प्रदेशसभाको बैठकमा बोल्दै नेता थापाले सरकारले जनताको भावना बुझ्न नसकेको र कुशासनको बाटो रोजेको आरोप लगाए । 

नेता थापाले बढ्दो महँगी र आर्थिक सङ्कटबारे सरकारलाई मौन रहेको भन्दै आक्रोश व्यक्त गरे । उनले पद अस्थायी हुने र कानुन मात्र स्थायी हुने भन्दै सरकारलाई घमण्ड त्याग्न आग्रह गरे । प्रदेश सरकारले संसद्‌बाट पारित भएका १ हजार ६७१ वटा योजनाहरूमा ‘कैँची’ चलाएको भन्दै नेता थापाले असन्तुष्टि व्यक्त गरे ।

‘मैले यही रोष्टमबाट चुनौती दिएको थिएँ, सामाजिक सञ्जाल बन्द गरेर जनताको आवाज थुन्न सकिँदैन । सरकारले १९ गते बन्द गर्‍यो तर २३ गते खोल्न बाध्य भयो । जनता जनार्दन हुन् । उनीहरूलाई कहिल्यै नआँक्नुस् ।’ उनले भने, ‘७२ रुपैयाँको पेट्रोल २०२ पुग्यो, २१० को केरा २८० पुग्यो । सरकार के हेरेर बसेको छ ? मध्यपूर्वको लडाइँले नेपाली दाजुभाइ जोखिममा छन्, रेमिट्यान्स घटेको छ । यस्तो बेला सरकार जम्बो मन्त्रिमण्डल बनाएर रमाउन मिल्छ ? संसद्ले अपनत्व लिएका योजनाहरूलाई एउटा मन्त्रीले काट्न मिल्छ ? यदि योजना कार्यान्वयन गर्न सकिँदैन भने सदनमा आएर जवाफ दिनुपर्छ । हामीलाई पटक–पटक झुटो बोल्ने बनाइयो, जनतासँग हामीले के मुख देखाउने ?’

नयाँ पुस्ता (जेनजी) ले देशमा सुशासन र परिवर्तन खोजेकाले सरकारले आफ्नो कार्यशैली नसच्याए फेरि अर्को आन्दोलन हुने चेतावनी दिए । उनले विधिको शासन र संविधानको सर्वोच्चता कायम गर्न सरकारलाई गम्भीर हुन आग्रह गर्दै राप्रपा जनताको पक्षमा जुनसुकै त्याग गर्न तयार रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप