जनविश्वास प्राप्त सरकार निरंकुश बन्दै गएको सांसद राईको आरोप
सारांश
- सांसद जयन्तीदेवी राईले सरकार निरंकुश बन्दै गएको भन्दै गम्भीर आरोप लगाएकी छिन्।
- उनले निजी सञ्चारमाध्यमलाई विज्ञापन नदिने र विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय फिर्ता लिन माग गरेकी छिन्।
- सांसद राईले महिला तथा किशोरीमाथि हुने साइबर हिंसा नियन्त्रण गर्न सरकारसँग कडा कदम चाल्न आग्रह गरेकी छिन्।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी सांसद जयन्तीदेवी राईले सरकार निरंकुश बन्दै जान लागेको आरोप लगाएकी छिन्। राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले सरकारले निजी सञ्चारमाध्यमहरूमा सरकारी सूचना तथा विज्ञापन रोक लगाउने निरंकुश निर्णय गरेको बताइन्।
सरकारले छोटो समयमै धेरै विवादित निर्णयहरू गर्दै गएको उनको भनाइ छ। उनले निजी सञ्चारमाध्यमहरूलाई विज्ञापनमा रोक लगाउने र विद्यार्थी सङ्गठन खारेज गर्नेलगायतका अलोकतान्त्रिक निर्णय फिर्ता लिन माग गरिन्। ठूलो जनविश्वास प्राप्त गरेको सरकारका विरुद्ध बोल्न मन नभए पनि एकपछि अर्को विवादित काम गरेपछि नबोली बस्न नसकेको उनले उल्लेख गरिन्।
उनले भनिन्, ‘भर्खरै मन्त्रिपरिषद्को सचिवालयले सचिवस्तरीय निर्णय परिपत्र गरेको छ। त्यो परिपत्र आउँदा नआउँदै अत्यन्तै विवादको अवस्थामा आइपुगेको छ। उक्त परिपत्रमा सरकारी सूचना र विज्ञापनहरू सरकारी सञ्चारमाध्यमहरूले मात्रै गर्न पाउने र निजी सञ्चारमाध्यमहरूले गर्न नपाउने जुन निर्णय गरियो, त्यो अत्यन्तै गलत र अलोकतान्त्रिक छ। किन आज सरकार आफ्ना निर्णयहरू विवादित गर्दै गइरहेको छ, म सोध्न चाहन्छु। यो निर्णयले सबै निजी सञ्चारमाध्यमहरूलाई धरासायी बनाउने र प्रेस स्वतन्त्रताको हकलाई बिस्तारै–बिस्तारै खोस्ने खालको अलोकतान्त्रिक र निरंकुश काम सरकारले गरेको छ। त्यो निर्णय तुरुन्त सच्याउन म माग गर्दछु।’
उनले थपिन्, ‘यो अधिकार र व्यवस्था स्थापित गर्नका लागि आन्दोलनको नेतृत्व गरेर हामी अग्रपंक्तिमा थियौँ, हजारौँले रगत बगाएका छन्। सरकार कहिले विद्यार्थी सङ्गठनहरूलाई प्रतिबन्ध लगाउने निर्णय गर्छ, कहिले प्रेस सङ्गठनहरूलाई रोक्न खोज्छ। आज विद्यार्थीको सङ्गठित हुने र बोल्ने अधिकार खोसिँदै छ। हामीलाई जनविश्वास प्राप्त यो सरकारका बारेमा बोल्न पटक्कै मन छैन, तर आज चुपचाप बस्न पनि त सकिएन नि !’
उनले पछिल्लो समय महिला तथा किशोरीमाथि पनि साइबर हमला हुने गरेको बताइन्। महिलामाथि हुने साइबर हिंसालाई रोक्न कडा कदम चाल्न उनले सरकारसँग माग पनि गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण