कार्यवाहकको भरमा १७ देशका नेपाली राजदूतावास
सारांश
- विश्वका ३१ देशमध्ये १७ वटा नेपाली राजदूतावासहरू हाल राजदूत नहुँदा कार्यवाहकको भरमा चलिरहेका छन् ।
- सरकार परिवर्तनसँगै विभिन्न चरणमा राजदूतहरूलाई फिर्ता बोलाइएकाले कूटनीतिक नियोगहरू नेतृत्वविहीन बनेका हुन् ।
- विशेषज्ञहरूले लामो समयसम्म दूतावासमा राजदूत रिक्त राख्दा देशको कूटनीतिक क्षेत्रमा नकारात्मक असर पर्ने भन्दै तत्काल नियुक्ति गर्न सुझाव दिएका छन् ।
काठमाडौँ । विश्वका ३१ देशमा नेपालका राजदूतावास छन् । तीमध्ये १७ वटामा नयाँ राजदूत नियुक्त हुन नसक्दा कार्यवाहकको भरमा चलिरहेका छन् । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभिन्न ११ देशमा रहेका राजदूतहरूलाई फिर्ता बोलाएको थियो । आम निर्वाचनपछि बनेको बालेन्द्र शाह नेतृत्वको सरकारले अरू ६ जनालाई फिर्ता बोलाउँदा १७ देशमा रहेका नेपाली दूतावासका कार्यवाहकको भरमा चलिरहेका हुन् ।
राजदूत नहुँदा कूटनीति क्षेत्रमा प्रभाव परिरहेको जानकारहरू बताउँछन् । पूर्वराजदूत जयराज आचार्य भन्छन्, ‘कार्यवाहकको भरमा दूतावास चलाउनु राम्रो होइन, तर त्यो विशेष परस्थितिमा हुन गएको हो । अब सरकारले खाली ठाउँमा तत्कालै सर्वाधिकार राजदूत पठाउनुपर्छ ।‘
गत असोजमा तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका लागि नेपाली राजदूतहरूलाई फिर्ता बोलाएको थियो ।
सरकार परिवर्तन भएपछि आफ्नो अनुकूल टिम बनाउने चलन भएकाले राजदूत फिर्ता बोलाउनु सामान्य नै भएपनि लामो समयसम्म पद रिक्त राख्नु राम्रो नहुने आचार्य बताउँछन् । ‘अमेरिकामा सरकार परिवर्तन भएपछि व्यापक हेरफेर हुन्छ । यसरी सरकार परिवर्तन भएसँगै राजदूत फिर्ता, राजनीतिक नियुक्ति पाएकाहरूलाई फिर्ता बोलाउनुलाई सामान्य ढंगबाट लिनुपर्छ,’ उनी भन्छन्, ‘तर ती पदहरु लामो समयसम्म खाली राख्न हुँदैन ।‘
नयाँ सरकार बनेपछि चैत २३ गते छवटा देशका राजदूतलाई फिर्ता बोलाइएको छ । भारत, डेनमार्क, दक्षिण अफ्रिका, अस्ट्रेलिया, दक्षिण कोरिया र श्रीलंकाका राजदूतहरूलाई सरकारले फिर्ता बोलाएको हो । फिर्ता बोलाइएकाहरूमा डा. शंकर शर्मा (भारत), सुम्निमा तुलाधार (डेनमार्क), चित्रलेखा यादव (अस्ट्रेलिया), शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका) र पूर्णबहादुर नेपाली (श्रीलंका) छन् । परराष्ट्र मन्त्रालयले उनीहरुलाई पत्र पठाएर एक महिनाभित्र नेपाल फर्किन निर्देशन दिइसकेको छ ।
_153pogJQQz.jpg)
उनीहरुलाई सरकारले फिर्ता बोलाइसकेपछि स्वतः त्यहाँका डीसीएम कार्यवाहक राजदूत हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री बताउँछन् । ‘फर्किनका लागि एक महिनाको समय यस कारणले दिइएको हुन्छ कि त्यसको तयारी गर्नुपर्ने भएकाले,’ उनी भन्छन्, ‘सम्बन्धित राष्ट्रसँग बिदाइ कार्यक्रम हुनुका साथै तयारीमा समय लाग्ने भएकाले एक महिनाको समय दिइएको हुन्छ ।‘
पूर्वराजदुत विजयकान्त कर्ण लामो समयसम्म कार्यवाहकको भरमा चल्दा राम्रो सन्देश नजाने बताउँछन् । ‘लामो समय कार्यवाहक राजदूत राख्नु राम्रो होइन, कार्यवाहक राजदूत र अधिकार सम्पन्न राजदूतलाई हेर्ने दृष्टिमा नै फरक हुन्छ, विभिन्न कार्यक्रम तथा भेटघाटमा जानुपर्ने हुन्छ । त्यस अवस्थामा कार्यवाहक राजदूतलाई त्यति महत्त्व दिएको हुँदैन,’ उनी भन्छन् ।
पूर्वराजदूत सूर्य मिश्रा पनि लामो समयसम्म दूतावासमा राजदूत खाली राख्नु राम्रो नभएको बताउँछन् । ‘त्यसले देशको कूटनीतिक क्षेत्रमा असर पर्छ । यसअघिको सरकार चुनावी सरकार थियो, अहिलेको सरकारले खाली भएको ठाउँमा तत्कालै राजदूत नियुक्त गरिहाल्नुपर्छ,’ उनी भन्छन्, ‘महत्त्वपूर्ण भेटघाटमा कार्यवाहकलाई मोरलले पनि साथ दिइरहेको हुँदैन ।‘
परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्री सरकारको निर्णय अनुसार राजदूत फिर्ता बोलाउने कार्यलाई अगाडि बढाइएको बताउँछन् । ‘रिक्त ठाउँमा राजदूत कहिले पठाउने सरकारको कुरा हो, तर कार्यवाहकले चलाइरहेका दूतावासमा काम सन्तोषजनक नै छ,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा बन्द, यात्रा नगर्न आग्रह
-
बागमतीमा सत्ता संघर्षः एमालेमा दल नेताको विवाद बढ्दै
-
रौतहट जिल्ला अदालतका एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सिमखोलाको बाढीमा स्कुटीसहित चालक बेपत्ता
-
‘सरकारले नै मिडिया हाउसअगाडि गाडी पार्किङ गरेर साङ्केतिक विरोध गर्यो’
-
अब न्यायालयमा पनि एआई र ई–कोर्ट प्रणाली लागु हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण